कृष्णप्रसाद पौडेल ‘जस्ताघरे’
विसुर -४, बट्टार, नुवाकोट
कोही मानिस छन् नि मात्रकदका , हुन्छन् बिनासोचका ।
कोही छन् सुविचारका मननका, आदर्शका तर्कका ॥
साँच्चै तार्किक शक्तिका मगजका, छन् वृद्धवृद्धाजन ।
पाका सारद हुन् विचारपथका, चेलाहरू हो सुन ॥ -१
सेतो केश भएरमात्र नरको, को हुन्छ पाकोजन ?
मानौ मिष्ठ खुवा लिई उदरमा, होला र चोखो मन ??
भोगेका क्षण दीर्घकालतकका, हुन् ती सबै आर्जन ।
पाका सारद हुन् विचारपथका, चेलाहरू हो सुन ॥ -२
वृद्धावृद्ध उदार छन् सजग छन्, सन्तानका खातिर ।
देख्छन् दिव्य भविष्य उच्चपनको, जप्छन् सयौँ मन्तर ॥
बाआमा घरका हरेक नरका, हुन् माथका चन्दन ।
पाका सारद हुन् विचारपथका, चेलाहरू हो सुन ॥ -३
बाआमा गुरुकर्मका सगर हुन्, सत्धर्मका मूल हुन् ।
मानौँ शङ्कर पार्वती भगवती, जस्तै भला देव हुन् ॥
प्रौढा प्रौढ युवा हरेक वनिता, यस्तै गरून् मन्थन ।
पाका सारद हुन् विचारपथका, चेलाहरू हो सुन ॥ -४
बाँचुन्जेल विभिन्न कर्म नरका, हुन्छन् अनेकौँ व्यथा ।
मानौँ सर्जकदृष्टिका कलमले, कैयौँ रचेझैँ कथा ॥
पाकाका समभावका नजरले, हट्छन् दशा क्रन्दन ।
पाका सारद हुन् विचारपथका, चेलाहरू हो सुन ॥ – ५
पाकामा शुभसृष्टिका कदमका, निर्माणका युक्ति छन् ।
मानौँ मातृ धरा चराचर यहाँ, सम्पूर्ण आभार छन् ॥
धुन्छन् ज्ञान र शिल्पले मगजले, पाकाहरूले मन ।
पाका सारद हुन् विचारपथका, चेलाहरू हो सुन ॥ – ६
छन्द : शार्दूलविक्रीडित
गण : म – स – ज – स – त – त – गु
सङ्केत : SSS – IIS – ISI – IIS – SSI – SSI – S
विश्राम – ६ र १२ अक्षरमा
समस्यापूर्ति : पाका सारद हुन् विचारपथका चेलाहरू हो सुन ।
Anurag forwarded an imag
वि.सं.२०८२ चैत १४ शनिवार ०५:५६ मा प्रकाशित





























