४ असार, भक्तपुर । राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बास्कोटाले सातवटै प्रदेशमा प्रादेशिक सूचना आयोग गठन गर्न सरकारसँग माग गर्नुभएको छ ।
शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिई) नेपालले आयोजना गरेको ‘सार्वजनिक शिक्षाको सुदृढीकरणका लागि शिक्षा पत्रकारको भूमिका’ विषयको दुईदिने कार्यशालामा प्रमुख आयुक्त बास्कोटाले संविधान बमोजिम हरेक प्रदेशमा आयोग गठन भएमा मात्र सूचनाको हकको प्रभावकारी कार्यान्वयन गर्न सकिने बताउनुभयो ।
उहाँले संविधानमा सूचना माग्ने र दिन पाउने अधिकारमात्र उल्लेख भएको र सम्पे्रषण गर्ने अधिकार स्पष्ट उल्लेख नहुँदा कतिपय निकायले समाचार लेख्ने कारण खुलाएर सूचना माग्दा नदिइने उदाहरण देखिएकाले संविधानमा आवश्यक संशोधन गर्नुपर्ने बताउनुभयो ।
लोकतन्त्रको प्राणवायुका रुपमा सूचनाको हकलाई लिइनुपर्ने र पत्रकार र आम नागरिकले यस अधिकारको प्रयोग गर्दा सूचना नपाएर आयोगमा पुनरावेदन गरे तत्काल सूचना दिन सम्बन्धित निकायलाई आदेश गरिने उहाँले स्पष्ट गर्नुभयो ।
शिक्षाविद् डा मन प्रसाद वाग्लेले संविधानले स्थानीय तहको अनुसूचीमा माध्यमिक तहसम्मको शिक्षाको सञ्चालनको जिम्मेवारी भए पनि स्पष्ट कानुन बनिनसकेकाले त्यसका लागि स्थानीय सरकारले अग्रसरता लिई कार्यारम्भ गर्नुपर्ने बताउनुभयो ।
कार्यशालामा वरिष्ठ पत्रकार राजेन्द्र दाहालले विधागत पत्रकारले सम्बन्धित विषयमा विशेष दख्खल राख्न सकेमा सार्वजनिक शिक्षाको सुधारमा बल पुग्ने विश्वास व्यक्त गर्नुभयो । रासस
वि.सं.२०७४ असार ४ आइतवार ०३:२३ मा प्रकाशित




























