जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको राजनीतिक परिस्थिति नयाँ मोडतर्फ उन्मुख रहेको संकेत गर्दै आगामी दिनमा नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना रहेको बताएका छन्। पछिल्लो समय वामपन्थी शक्तिबीच सहकार्यको वातावरण अनुकूल बन्दै गएको उल्लेख गर्दै उनले नेकपा र नेकपा (एमाले)बीच सहकार्यको प्रक्रिया औपचारिक रूपमा अघि बढिसकेको जानकारी दिएका छन्।
मधेस प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा सहभागी हुन जनकपुरधाम पुगेका संयोजक दाहालले मंगलबार साँझ जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै तीन दलबीचको राजनीतिक समझदारी अझै अन्तिम निष्कर्षमा नपुगेको स्पष्ट पारे। उनले सहकार्यको प्रक्रिया सकारात्मक ढंगले अघि बढिरहेको भए पनि विभिन्न विषयमा छलफल जारी रहेको बताए।
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा नेपाली कांग्रेससँग समेत संवाद भइरहेको उल्लेख गर्दै दाहालले वर्तमान राजनीतिक परिस्थितिमा विभिन्न दलबीच संवाद र सहकार्य अपरिहार्य बनेको धारणा व्यक्त गरे। उनले प्रदेश सरकारको स्थायित्व र प्रभावकारी सञ्चालनका लागि सबै पक्षसँग आवश्यक परामर्श भइरहेको बताए।
संयोजक दाहालले पार्टीभित्र संगठन विस्तार र कार्यकर्ता प्रशिक्षणलाई उच्च प्राथमिकतामा राखिएको पनि बताए। नेकपाले संगठनलाई थप सुदृढ बनाउँदै जनतामाझ पार्टीको आधार विस्तार गर्ने रणनीतिअनुसार प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको उनको भनाइ थियो।
जनकपुरधाममा आयोजना हुने मधेस प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा पार्टीका शीर्ष नेताहरूको सहभागिता रहनेछ। बुधबार हुने उक्त कार्यक्रममा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधवकुमार नेपाल तथा वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले प्रशिक्षणात्मक सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।
राजनीतिक वृत्तमा दाहालको पछिल्लो अभिव्यक्तिलाई आगामी सत्ता समीकरण र वामपन्थी शक्तिबीचको सहकार्यबारे महत्वपूर्ण संकेतका रूपमा हेरिएको छ। विशेषगरी एमालेसँग सहकार्यको प्रक्रिया औपचारिक रूपमा अघि बढेको उनको भनाइले आगामी दिनमा राष्ट्रिय राजनीतिमा नयाँ समीकरण बन्ने सम्भावनाबारे थप बहस सुरु भएको छ।
वि.सं.२०८३ साउन ५ मंगलवार २१:१६ मा प्रकाशित






























