
लेवनान नेपाल सरकारले यतिबेला खाडी मुलुकमा पुनः रोजगारीमा फर्कनका लागि महिलालाई बन्देज लगाएको छ ।
१० औं वर्ष खाडीमा काम गरेर गएका महिलाहरूलाई सरकारले पुनः जान नपाउन भनेर रोक लगाउनु हाम्रा लागि आपत्तिजनक छ । हामी खाडी मुलुकमा कार्यरत महिलालाई पीडा दिएको छ । यस सन्दर्भमा खाडी मुलुकमै रहने दिदीबहिनीहरूका लागि लेबनानबाट पनि हामीहरू आवाज उठाउँदै छौ । हामी सरकारलाई एकपल्ट फेरी झक्झकाउन चाहान्छौँ । महिला कामदारलाई उ कार्यरत देश तथा कार्यस्थलमा समस्या छ भने रोक्दा पनि ठिक हुन्छ । तर, बिदामा गएर फेरि फर्किन उ खुसी छ र लामो समय वैदेशिक रोजगारीमा छ भने त्यसलाई रोक्न उचित हुँदैन भन्ने हाम्रो भनाइ हो ।
हिजो मात्र होइन, आज पनि देशको स्थितिलाई नियालेर हेर्दा अझै पनि गाउँका सामान्य महिलाले साँझ बिहान मेहनत गरेर दुई छाक खानाको जोहो गर्नु बाहेक अरु केहीगर्न नसकेका धेरै उदाहरण छन् । जसले छोराछोरी पढाउनकै लागि चर्को ऋण लिएर घोटिइरहनु परेको छ । पीडैपीडामा त्यसरी घोटिनु भन्दा छोराछोरीको सुन्दर भविष्य बोकेर नै विदेश आएका हौँ । तर, हाल सरकारले जुन कानुन बनाएको छ खाडी मुलुकबाट घर बिदामा पुगेकालाई पुनः फर्किन नपाउने कानुन यो सरासर गलत हो । सरकारको यस्तो गलत निर्णयले खाडीमुलुकमा वर्षौदेखि काम गरेर आफ्नो घरको गर्जोटारेका, छोराछोरीलाई शिक्षा दिएका र आफ्नो रेमिट्यान्स विभिन्न व्यवसायमा लगाएका महिलाहरूलाई घर गएर पुनः फर्कन नपाउने गरि सरकारले ल्याएको नयाँ कानुनले सबैलार्ई समस्या बनाएको छ ।
कतिपय खाडीमा कार्यरत दिदीबहिनीहरूले आफूले चाहेका र प्राथमिकतामा राखेका कुराहरू घर फर्कंदा पूरा हुन नसक्ने भएपछि चाहेर पनि हाम्रो हालतले आफ्नो देश फर्किन नसक्ने बाध्यता छ । हामी चिन्तित अनि अन्योलमा परेका छौ । यो अवस्थाले हामीबीच संकट खडा गरिदिएको छ ।
सरकारले बैदेशिक रोजगारीमा रहेका महिलाको समस्या समाधानका उपायहरू खोज्नुपर्ने बेलामा झन नुनचुक थप्ने काम गरेको छ । हामी जस्तो बेरोजगारी महिलाहरूको लागि कि त देशमै रोजगार दिन सक्नु पर्यो, हैन भने बिदामा गएका दिदीबहिनीलाई पुनः फर्किनका लागि श्रम स्वीकृति तथा बैधानिक कागजातहरूको अध्ययन गरेर विना रोतकतोक पुनः फर्किने ब्यवस्था मिलाउन सरकारसमक्ष अनुरोध गर्दछौं ।
वास्तवमा भन्ने हो भने हामीलाई कुनै रहर छैन अरुको देशमा गुलामी भएर बाँच्न । आफ्नो रगत पसिना बगाउन । त्यति मात्र कहाँ हो र ? अझै सरकारले बुझ्न जरुरी छ की हामीले आफ्नो घरपरिवार र बालबच्चालाई बचाउन र आफू पनि बाँच्न आएको आएका हौँ । वास्तवमा हामीलाई नेपाली माटो, आफ्नो जन्मभूमिको माया नभएको हैन, माया हुँदाहुँदै पनि विदेशीनु पर्ने सबै नेपालीको एउटा बाध्यता हो ।
एकजनाको दुःखले एउटा सिङ्गो परिवार बाँचेको छ र बचाउन सकेको छौ भने किन पुरानो कामदारको लागि श्रम स्वीकृति बन्द गरियो ? नयाँ आउने कामदारको लागि हामी कुनै पहल गर्दैनौ, बरु यसमा हामी पनि खुशी छौँ, यस्तो कार्य रोकथाम गरेकोमा । वैदेशिक रोजगारीका लागि विदेशीने महिला श्रमिकको संख्या अहिलेको चरणमा घटेको देख्दा हामी खुशी छौ । यस कारण की जति हामीले पाएको दुःखहरू अब विदेशीने दिदीबहिनीले त्यो सास्ती भोग्नु नपरोस् भनेर । तर, हामी जस्तो एक दशक सम्म बस्दै आएका दिदीबहिनी माथी यो नीति गलत भएको हाम्रो ठहर छ । अन्याय भएको छ । हामीले पूर्णरूपमा न्याय पाउनु पर्छ, हैन भने यहाँ हामीले पाएको पारिश्रमिक जति नै तलब दिने हो व्यवस्था सरकारले गर्नुपर्दछ । हामीले यहाँ गरेको दुःख आफ्नै देशमा गरेर, खुन र पसिना बगाई मलजल गरी देश बनाउने छौँ । तर हाम्रो हातमुख जोड्ने काम खोस्न कस्ले भन्यो यो सरकारलाई ? लाग्छ देशले अब आफ्नो जिम्मेवारी भुलिरहेछ । जुन पाएको जिम्मेवारी निभाउन सक्दैन भने यो जिम्मेवारीको बाहनामा किन हाम्रो हातमुख जोड्न सक्ने ठाँउमा जान बञ्चित गराइँदै छ ?
हामीले आफ्नो देशमा खुन र पसिना पनि नबगाएका हैनौँ । तर, हामीले आफू बाँच्नसम्म पनि सकेनौँ भने यी आँखाले आफ्नो घरपरिवार र बालबच्चालाई भोको र नाङ्गो रहेको देख्न सकेनौँ । नङ्ग र मासु जति खियाए पनि हाम्रो देशमा राम्रो आम्दानी हासील गर्न नसक्नुको कारण, अभावै अभावको कारण, घरपरिवार चलाउन नसक्नुको कारण हामी लालाबाला छोडेर अरुको मुलुकमा प्रवेश गर्न पुगेका हौँ । देशमा पटक–पटक राजनीतिक परिवर्तन भए पनि त्यसले नेताहरूलाई मात्र फाइदा हुने र जनताको समस्या ज्यूँका त्यूँ हुनाले हामीले आँखा बन्द गरेर देश छोड्न बाध्य भएको हाँै ।
विदेशमा हाउसमेडका रूपमा काम गर्ने क्रममा घरमालिक र मालिक्नीहरूलाई बढी दोष दिइने गरिन्छ । तर हाम्रै दिदीबहिनीहरूको पनि कतिपय अवस्थामा गल्ति भएको हुन्छ । फेरि अर्काको देश हो । अर्कैको खटनमा बस्नु पर्छ । उनीहरूले मासिक तलब दिएर हामीलाई काम दिने भएकोले पक्कै पनि हाम्रो देशमा जस्तो आफ्नो मन लागि तरिकाले म यो काम गर्छु र यो काम गर्दिन भनेर यहाँ भन्न पाइन्न । उनीहरूले अह्राएको जुनै काम पनि गर्नुपर्ने हुन्छ ।
देशमै पनि कति दिदीबहिनीहरू असुरक्षित हुनुहुन्छ, बाटोमा हिड्दा वा कार्यस्थलमा कस्तो व्यवहार हुन्छ भन्ने कुरा हामीले भनिरहनु पर्दैन् । त्यहाँ अन्यायमा पनि न्याय पाउन सकिन्न । तर, यहाँको कानुनले कोही पनि कामदारले अन्यायमा पर्दा क्षतिपूर्तिसहित कानुनी उपचार पाएको उदाहरण हाम्रा सामु प्रशस्तै छन् । अर्कोकुरा यहाँ आउने र ल्याउनेमा कुनै सम्झौता हँुदैन । त्यसकारण यो घटना घट्नु भनेको त हाम्रो सरकारको कमिकमजोरीले हो । यसको जानकारी सरकारसँग हुँदाहुँदै पनि सरकारले यसमा तदारुकता देखाएको तथा आफ्ना नागरिकका लागि जिम्मेवार बनेको कहिल्यै देखिएन् । एउटा समस्या आउँदासाथ त्यसको समाधानको खोजि नगरी वैदेशिक रोजगारी बन्द गर्नुपर्छ भन्ने सरकारले दिदीबहिनीहरू भारत, श्रीलंका, थाइल्याण्ड हुँदै युवतीहरूलाई खाडी पु¥याउने दलाललाई किन रोक्न सक्तैन ?
खाडी मुलुकबाट हाउसमेडमा काम गर्ने दिदीबहिनीहरूले बिदामा घर गई फर्किन नपाउनु भनेको हाम्रो लागि जटिल बिषय बनेको छ । हामी यहाँ सदाका लागि पलायन हुन आएका होइनौँ भन्ने कुरा सरकारले बुझ्न जरुरी छ । हामी त केही बर्षका लागि पारिवारीक सुख खोज्न आएका हाँै । हामीले बिदामा घर गई आफन्त र आफ्नो मान्छे भेटेर आउन पाउनुपर्छ । हाम्रो यहाँ हरेक साल भिसा नविकरण हुन्छ । भिसा एक सालको लागि थप गर्नु अघि हामीलाई सोधेर गरिन्छ । यदि हामी राजीखुशी छौँ भने मात्र हाम्रो थप भिसा थपिन्छ । हामी जति पुरानो हँुदै जान्छौँ त्यति हामीलाई यहाँ बस्न सहज हुन्छ ।
त्यसैकारण हामीहरू हाँसीखुशी बिदामा घर फर्कन चाहान्छौ र आफन्तलाई भेटी पुनः हातमुख जोड्ने स्थानमा आउने हाम्रो चाहना खुसी र गर्बको कुरा पनि हो । किनकी, हाम्रो सुरुको कन्ट्रयाक्ट भनेको २ या ३ साल हुन्छ । त्यसभित्र हामीले कष्टपूर्ण जीवन भोगेर त्यहाँको भाषा, संस्कृति, नियम अनि कानुन बुझेर आफूलाई त्यहिको परिवेशमा ढाल्दै परिवारको लागि श्रम गर्न मानसिक रूपमै तयारी गरिरहेका हुन्छौँ । २ वर्ष उनीहरूकोमा काम गरेपछि उनीहरूलाई विश्वास दिलाएपछि बल्ल घरको मालिक मालिक्नीले हाम्रो विश्वास गर्न थालेको हुन्छ । घरको सदस्य जस्तै व्यवहार गर्न थालेको हुन्छ । त्यसैकारण पनि विदामा घर फर्केका हामी पुराना कामदार महिलाहरू खुसी भएर फेरी यही फर्कीन तयार हुन्छौँ । अर्कोकुरा बिदामा घर आउनेहरूको अनुहार प्रष्ट रूपमा खुशी नै देखिन्छ । हामी खुसीसाथ नै पुन : काम गर्न जानका लागि तयार भएर आएका छौँ भन्ने किन बुझ्दैन सम्बन्धित निकाय ?
यसरी हामीलाई पुनः काममा आउन पाउने बाटो रोक्नु भन्दा फर्केर जान लागेका कामदारको राय बुझेर, उनीहरू फर्केर जाँदा अप्ठ्यारोमा पर्छन की पर्दैनन् भन्ने जानेर बैदेशिक रोजगारमा पुनः फर्कने नेपाली महिला कामदारको अधिकार संरक्षण गर्नु सरकारको दायित्व पनि हो ।
सरकारको यस्तो कदमले हामी पुराना कामदारलाई सहज रूपमा रोजगारमा फर्किनका लागि मनोबल दिनुको सट्टा हामी बाँच्ने आधार खोसीदिने कदम गलत हो भन्ने हाम्रो ठहर छ । सरकारले जथाभावी गरेको निर्णयले हामीलाई निराश बनाएको छ । हामीलाई दुःख नहोस् हाम्रो गरिखाने रोजीरोटी नखोसीयोस यो अनुरोध छ हाम्रो सरकारलाई ।