back

१५ दिनमै १० नेपालीको उद्धार गरी घर फर्काइयो

वि.सं.२०७४ असार ३१ शनिवार

615 

shares

rescue-of-10-nepali-from-saudi-1
साउदी अरब र सुनौलो सपना बोकेर वैदेशिक रोजगारका लागि एक वर्ष अघि साउदी अरब पुगेका १० जना नेपालीहरु बल्लतल्ल ज्यान जोगाई स्वदेश फर्कन सफल भएका छन् । लक्की एचआर मेनपावर कम्पनीबाट गत सालको जुलाईमा साउदी अरबको सलमान हसन अल मार्थु कम्पनीमा पठाइएका ती युवाहरु यमराज जस्ता कपिल (मालिक)को पञ्जाबाट ज्यान जोगाइ असार २७ गते नेपाल फर्केका हुन । उनीहरुलाई नेपाली साझा मंच र साथी अभियानको सक्रियता र समन्वयमा नेपाली राजदुतावासका स्थानीय कर्मचारी हरि घिमिरेले आउटपास र एक्जिट भिसा दिलाएपछि र मेनपावर कम्पनीले टिकट उपलब्ध गराएपछि उनीहरु नेपाल फर्कन पाएका हुन् ।

७ महिनाको तलब माया मारेर फर्के
ती युवाहरुका अनुसार साउदी अरबको कतिफक्षेत्र अन्तर्गतको अवमियामा राखिएका थियो । उनीहरुलाई पुगेकै दिनदेखि दुई दिनमा एक छाक मात्रै खाना दिने र बोलेमा कुटपिट गर्ने र पेस्तोल देखाएर “तिमीहरु नेपालीलाई यही मारेर बालुवामा फ्याँकिदिन्छु” भनि कपिलले बारम्बार धम्की दिने गरेका थिए । तीन जना कपिल रहेको र उनीहरुको घरमा काम लगाउने साथै कुटपिट गरिरहने गर्दथे । त्यस्तो उत्पीडन सहन नसकेर उनीहरु आफूले पाउनु पर्ने ७ महिनाको तलब माया मारेर फर्केका हुन । गत विहिबार १ बजे राती कपिलले उनीहरुलाई राखेको अवमियाको मजरामा आई मेनपावरलाई किन खबर गरिस्, काम गर्न जान्छेस् कि जान्नस् भनि सोध्दा खाना र तलब नदिएसम्म जानौ भनेपछि कुटपिट गरेर “तेरो नेपाल जाने बाटो यही हो, जता जान्छेस् जा । फर्केर आईस् भनेर मारेर फालिदिन्छु” भनेर पेस्तोल देखाएर केहीलाई अज्ञात स्थलमा पुराई छाडेर अलपत्र पारिएको थियो । त्यसपश्चात् उनीहरु शुक्रबार विहान अन्य व्यक्तिको साहारा र मंचका साथीहरुको सल्लाहमा दम्मामको सिको गार्डेन पुगेका थिए । मंचका साउदी संयोजक कृष्ण पुरीले उनीहरुलाई खान बस्नका लागि मेनपावरका कापरीसंग समन्वय गरेर त्यहाँ व्यवस्था गरेका थिए ।

तलब माग्यो कि कुट्ने र मार्ने धम्की
एक वर्ष अघिदेखि चरम शोषण र उत्पीडन गरेर बँधुवा मजदुर बनाएका उनीहरुलाई कुटपिट गरेर लखेटेको त्यस कम्पनीले उल्टो कम्पनी छाडेर भागेको आरोप (हुरुप) लगाई भगौडा करार गरिदिएका कारण उनीहरुले पाउनु पर्ने पारिश्रमिकका लागि न्याय खोज्न पनि सकेनन् । स्थानीय कर्मचारी घिमिरेका अनुसार उनीहरुले पारिश्रमिक पाउन मुद्दा लड्नु पर्ने र सोको फैसला हुन ७–८ महिना लाग्ने गर्दछ ।

“हाम्रा नेपालीहरुले बेर्खची भएर त्यतिका समय पर्खन सक्दैनन् बरु रित्तो हात फर्किनु ठिक हुन्छ” घिमिरे भन्छन् ।“तलब माग्यो कि कुटेर ढुटो पारी हाल्थ्यो अनि मारेर फालिदिन्छु भन्थ्यो” उनीहरुले आँखाभरी आँशु पारे भने “घरमा भने काम नै छैन, कपिलले तलब दिएको छैन भनेर ढाँट्थ्यौ । हामीले हाम्रो अवस्था भन्दा घरमा चिन्ता होला भनेर पनि ढाँट्यौ ।” त्यहाँ पुराइएका उनीहरुले अन्य कम्पनीमा काम गर्न पाउदा मात्रै अघाउञ्जेल खाना खान र आरामले सुत्न पाउँथे तर तलब भने पाउदैनथे । एक वर्षसम्म मानसकि–शाररिक यातना र आर्थिक शोषण उत्पीडन झेलेर फर्केका पीडितहरु भन्छन् “नोभेम्वरसम्ममा त्योपनि सम्झौता विपरितको काम गराएर उसैले तोकेको कम तलब पनि बल्लतल्ल तीन महिनाको दियो ।

डिसेम्बरदेखि भने एक हलाला दिएन, उल्टो कुटेर मारेर फ्याँकी दिने धम्कीले त्रसित भएर ज्यान बचाउने उपाय मात्रै सोच्यौ । कपिलको व्यवहार र तलब नपाएका सम्बन्धमा आएकै महिनादेखि मेनपावर कम्पनीका प्रकाश अधिकारी र ऋषी शर्मालाई पटकपटक जानकारी गराएका हौ । नेपाल प्रहरीको हटलाईनमा पनि पटक पटक उजुरी गरेका हौ । “हुन्छ, हुन्छ, गर्छौ गर्छौ” भन्दै हामीलाई त्यस नर्कमा बस्न बाध्य तुल्याइयो, हाम्रो उद्धार भएन । जब हामीलाई सप्लाई गरेर काम गर्न अर्को कम्पनीमा दुई महिना अघि पठाइएको थियो, त्यसबेला त्यहाँका साथीहरु मार्फत नेपाली साझा मंचमा हाम्रो सम्पर्क भयो, त्योपनि जुनको अन्तिम समयमा । हाम्रो कम्पनीसंगको सम्झौता समाप्त भएर हामीलाई जुन २७ मा हाम्रै कम्पनीमा फर्काइदै थियो । साझा मंचका दाइहरुले हाम्रो समस्याका सम्बन्धमा भिडियो बनाएर मिडियामा प्रशारण गर्नु भएपछि मात्रै हामीलाई मेनपावरले सोधी खोजी गरेर उद्धार गरेको हो ।” “हामी जाँदा लिएको ऋण पनि तिर्न सकेका छैनौ । हामीसंग ७०–८० हजार रुपैयाँ लिएर राम्रो कम्पनी भनेर पठायो तर कुकुरले नपाउने दुःख पायौ । हामीलाई फसाउनेलाई कारवाही र हामीले क्षतिपूर्ति पाउनु पर्छ” उनीहरुले एउटै स्वरमा माग गरेका छन् ।

rescue-of-10-nepali-from-saudi-2

सकुशल फर्काउनु नै ठूलो कुरो
साउदी अरबको द्वन्द्व र हिंसाग्रस्त क्षेत्रका रुपमा परिचत अवमियामा सरकारी कर्मचारी समेत जाँदैनन् । त्यहाँ दिउँशै बारुदको गन्ध आउनु अनि बम र बन्दुक पड्केको आवाज आउनु सामान्य मानिन्छ । पीडितहरुका अनुसार उनीहरुको कपिल समेत खुँखार सरदार भएको र पटकपटक दोहोरो भिडन्तमा परेर थुप्रै पटक घाईते भएका रहेछन् । त्यहाँका घरहरु सबै गोली र बमले प्वाल परेका र भत्केका छन् । त्यहाँ साउदी सरकारले सैनिकहरुको घेरामा मात्रै आफ्नो परियोजनाहरु संचालन गरिरहेको छ । त्यहाँ कार्यरत परियोजनाका कामदारहरुलाई उद्धार गर्न पनि सैन्य भिड़न्त हुने गरेका सामाचारहरुमा उल्लेख छ । कामदारहरुको उद्धार गर्ने क्रममै गत मेमा भएको सैन्य कारवाहीमा एक पाकिस्तानी सहित २ जनाको मृत्यु र १० जनाबढी घाईते भएका थिए ।

त्यस्तो क्षेत्र र कपिलको पञ्जाबाट मुक्त भएर आउनु अनि त्यहाँको मजराबाट ती पीडित नेपालीहरुलाई सकुशल फर्काउनु सक्नु नै ठूलो कुरो भएको छ । त्यहाँ फसेका अन्य नेपालीहरुको समेत खोजी गरेर उद्धार गर्नुपर्ने आवश्यकता रहेको मंचका अध्यक्ष महेश श्रेष्ठ बताउछन् । श्रेष्ठले मंचको साथी अभियान अन्तर्गत पीडितहरुको सकुशल उद्धार हुनुमा वैदेशिक रोजगार विभाग, नेपाली राजदुतावास, मेनपावर, पीडित परिवार र संचारकर्मिहरुको सहयोग समन्वयले मात्रै सम्भव भएको भन्दै सबैलाई धन्यवाद ज्ञापन गरेका छन् ।

नेपाली साझा मंच राष्ट्रिय समन्वय समिति साउदी अरबको सम्पर्कमा गत जुन २६ मा पुगेका उनीहरुको उद्धारका लागि मंचले नेपाली राजदुतावासमा लिखित अनुरोध गर्नुका साथै नेपालबाट राष्ट्रिय मानव अधिकार आयोग, वैदेशिक रोजगार विभाग र कन्सुलर सेवा विभागमा पनि अनुरोध गरेको थियो । मंचले साथी अभियान अन्तर्गत संयोजक शारदा भुषाल झाको नेतृत्वमा पीडितहरुको परिवारलाई काठमाडौं बोलाई वैदेशिक रोजगार विभागमा थप उजुरी समेत दर्ता गराइएको थियो । विभागले गत सोमबार मेनपावरका संचालक ऋषी शर्मा र पीडितका परिवारका बीचमा पीडितहरुलाई यथाशिघ्र उद्धार गरेर नेपाल ल्याउने लिखित सहमति गराएको थियो । यसैबीच मंचले वैदेशिक रोजगारमा रहेका नेपाली नागरिकहरुप्रति भइरहेको चरम शोषणका विषयमा मानव अधिकार कर्मि र आयोगको ध्यानाकर्षण गराउन प्रयास गरेको मंचका नेपाल महासचिव ङामुक हाङ बताउछन् । ती पीडितहरुप्रति अमानवीय व्यवहार भएका सम्बन्धमा मंचले मानव अधिकार आयोगको ध्यानाकर्षण गराउन खोजेको भएपनि आयोगले वैदेशिक रोजगारप्रति नै हालसम्म कुनै चासो व्यक्त गरेको छैन ।

साथी अभियानकी सदस्य निता कार्की भन्छिन “यो कुरा मिडियामा हामीले नल्याएको भए अझै उनीहरुको अवस्था थप दयनीय हुने थियो । हामीले ठूलो आँट गरेर उनीहरुको भिडियो सार्वजनिक गरेका थियौ । उनीहरुको यति चाडो उद्धार हुनुमा मिडिया र हाम्रो साथी अभियानकी संयोजक शारदा दिदीको महत्वपूर्ण योगदान छ । उहाँहरु सकुशल आउनु पाउनु भएकोमा हामीलाई धेरै खुसी लागेको छ, उहाँहरुको परिवारहरु पनि खुसी छन् ।”

पीडित हुनेहरूमा जनकबहादुर खत्री जाजरकोट, बमबहादुर बस्नेत दैलेख,मानसिंह कामी बाँके, मानबहादुर कामी दैलेख, लेखबहादुर विश्वकर्मा दाङ, गोविन्द ताम्राकार मोरङ, जितबहादुर जोगी तेह्रथुम, रुद्र माझी मोरङ, पूर्णबहादुर तामाङ संखुवासभा र नविन विष्ट रुकुम रहेका छन् । उनीहरु सकुशल नेपाल फर्कन पाएकोमा खुसी हुँदै सबैलाई धन्यवाद ज्ञापन गरेको नेपाली साझा मंच साउदी अरबका संयोजक कृष्ण पुरीले जानकारी दिए । उनीहरुलाई विमानस्थलमै विहानको चिया नास्ता मंचले गराएको थियो । उनीहरुलाई विदाई गर्न संयोजक पुरी, सदस्यहरु अकल प्रधान, ईन्ताज अन्सारी लगायतको टोली उनीहरुलाई विदाई गर्न दम्माम एयरपोर्ट पुगेको थियो ।

(समाचार स्रोत: महेश श्रेष्ठ, संयोजक, साझा मञ्च केन्द्रीय कार्यसमिति नेपाल तथा संयोजक, अन्तराष्ट्रिय समन्वय समिति )

स्मरण रहोस् साझा मञ्च नेपालको पहलमा वैदेशिक रोजगारीमा समस्यामा परेका नेपालीको उद्धार तथा सहयोग गर्ने उद्देश्यले संघसंस्था तथा व्यक्तिहरुको सहभागितामा ‘साथी अभियान’ सुरु गरेको छ । यो अभियानमा जुट्न चाहने जो कोही पनि सहभागि हुन सक्ने जनाइएको छ ।

वि.सं.२०७४ असार ३१ शनिवार ०४:०० मा प्रकाशित

Himalayan Life AD
अन्तराष्ट्रिय सहिष्णुता दिवसका अवसरमा युएईमा नेपाल प्रवद्र्धन

अन्तराष्ट्रिय सहिष्णुता दिवसका अवसरमा युएईमा नेपाल प्रवद्र्धन

युएई । अन्तराष्ट्रिय सहिष्णुता दिवसका अवसरमा युनाइटेड अरव इमारातमा नेपालको...

युएईको भिषा सहजीकरणका लागि राजदूत क्षेत्रीको पहल

युएईको भिषा सहजीकरणका लागि राजदूत क्षेत्रीको पहल

युएई । नेपाली दूतावास युएईले पछिल्लो समय नेपालीका लागि बन्द...

रास्वपाको प्रवास नेपाली सम्पर्क विभाग नर्वेको अन्तरक्रिया सम्पन्न

रास्वपाको प्रवास नेपाली सम्पर्क विभाग नर्वेको अन्तरक्रिया सम्पन्न

प्रेम परियार, नर्वे । प्रवास नेपाली सम्पर्क विभाग (राष्ट्रिय स्वतन्त्र...