गुल्मी जिल्ला समाज युकेले गुल्मी धुर्कोटका प्रेम नेपालीलाई आर्थिक सहयोग गरेको छ । रुखबाट लडेर अपांग भएका नेपालीका लागि राहतस्वरुप १ लाख एकानब्बे हजार ६ सय रुपैयाँ जिल्ला प्रशासन कार्यालय गुल्मी तम्घासको सभाहलमा असार २८ गते एक कार्यक्रमको आयोजना गरी हस्तान्तरण गरेको हो ।
नेपालीको आर्थिक अवस्था दयनिय रहेको र तीनजना नाबालकहरु अलपत्र हुने स्थितिआएपछि धुर्कोट निवासी कुल प्रसाद भण्डारीले समाजलाई आर्थिक सहयोगको लागि अपिल सहितको जानकारी दिएका थिए । उक्त जानकारीपछि समाजका सहकोषाध्यक्ष राम प्रसाद सापकोटा र सदस्य बाबुराम भण्डारीले तत्काल १०÷१० हजार रुपैयाँ सहयोग गरेका थिए भने तत्कालै बसेको समाजको बैठकले केशवराज भण्डारीको संयोजनमा राहत संकलन गर्ने निर्णय गरेको थियो ।
उक्त हस्तान्तरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी, राष्ट्रिय अनुसन्धान प्रमुख, प्रहरी नायब उपरीक्षक शसस्त्र प्रहरी वल, गुल्मी उद्योग बाणिज्य संघका अध्यक्ष, नेपाल रेडक्रश सोसाइटी, आसा अपांग केन्द्रका प्रतिनिधि, निम बहादुर कुँवर, युवराज भण्डारी तथा पीडितका आमा तथा छोरीहरुको उपस्थिति रहेको थियो ।
आसा अपांग केन्द्रकी उपाध्यक्ष गंगा रायमाझीले संचालन रहेको उक्त हस्तान्तरण कार्यक्रमको नेपाल रेडक्रस गुल्मीका अध्यक्ष अनुप श्रेष्ठ तथा कृष्ण ढुंगानाले व्यवस्थापन गरेका थिए ।
समाजका कोषाध्यक्ष तारा नाथ भण्डारीले रकम हस्तान्तरण गर्दै रकमको सदुपयोग होस् र पीडितलाई लामो समससम्मका लागि जिउने आधार बनोस भन्ने कामना गरेका थिए ।
सोहि अबसरमा प्रमुख जिल्ला अधिकारीले एकवर्षको अबधिमा समाजले गुल्मीका विभिन्न क्षेत्रमा झण्डै ५६ लाख रुपैयाँ सहयोग गरेकोमा समाजको सह्राना गर्दै आफ्नो गाँस काटेर पनि गुल्मीको विकासमा आर्थिक तथा भौतिक रुपमा सहयोग पु¥याउने सम्पूर्णमा धन्यवाद ज्ञापन गरेका थिए ।
सोहि अवसरमा अपांग केन्द्रकी संचालिका रायमाझीले नेपालीलाई केन्द्रमा राखेर निशुल्क उपचार गर्ने बताएकी थिइन् भने समाजसेवी तथा व्यवसायी कुँवर र भण्डारीले नेपालीकी आमाको नाममा बैंकमा खाता खोलेर उक्त रकम जम्मा गरिदिने बताएका थिए ।
समाजले चन्द्रकोट गाउँपालिका वडा नं ७ रुपाकोटका अग्नि पीडित ४ घरलाई पनि ५० हजार र रुपाकोटोकै बिरामी भएर ज्यान गुमाएका भण्डारीको परिवारलाई २६ हजार ४ सय रुपैयाँ आर्थिक सहयोग गरेको छ । उक्त सहयोग रकम हस्तान्तरणमा सोहि गाँउपालिकाकी उपाध्यक्ष राधिका अर्याल, वडा अध्यक्ष लक्ष्मी प्रसाद भण्डारी लगायतको उपस्थितिमा समाजका कोषाध्यक्ष भण्डारीले असार २५ गते हस्तान्तरण गरेका थिए ।
वि.सं.२०७४ साउन १ आइतवार १२:३२ मा प्रकाशित

























