विगत केही दिन देखि मुटु भन्दा प्यारो हाम्रो देशमा मधेश तथा पहाडी क्षेत्रमा आएको प्राकृत्तिक प्रकोप बाढी पहिरोले गरेको क्षति देख्दा र सुन्दा अति दुःखी भएको छु । धेरै जना नेपाली नागरिकले ज्यान गुमाइसक्नु भएको यो अवस्थामा सर्वप्रथम मृतकहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्न चाहान्छु । साथै अलपत्र तथा घरबारविहिन भएकाहरुलाई उद्वार गर्नको निम्ति ज्यानको वाजी राखेर सकेसम्मको प्रयास गरिरहेको देखिरहँदा सरकार र उद्वारकर्ताहरुलाई पनि हार्दिक धन्यावाद ज्ञापन गर्न चाहान्छु ।
अब म सम्माननीय गृहमन्त्रीज्युलाई छोटो विषय वस्तुतिर ध्यानाकर्षण गराउन चाहान्छु । मैले अस्ति तपाईको पत्रकार सम्मेलन पनि सुनें र हिजो संसदमा समय लिएर यथास्थितिबारे जानाकारी गराएको सुनिरहँदा विचमा राहत वितरण गर्नको लागि एकद्वार प्रणाली लागु गरेको शब्द सुन्दा मलाई २०७२ वैशाख १२ को याद आयो यसले गर्दा मनमा खड्किएको प्रश्न अनलाइन मार्फत हजुर समक्ष पुराउने कोशिश मात्र गरेको हुँ ।
त्यति बेला कतिपय आइएनजिओ,एनजिओ जस्ता थोरै मात्र संस्थाहरुले प्रत्यक्षरुपमा उद्वार तथा पुनर्निमाणमा खटिए पनि धेरै संस्था तथा व्यक्तिहरुले ठूलो संख्यामा अप्रत्यक्षरुपमा विभिन्न देशमा रहेका हाम्रा नियोगहरु मार्फत प्रधानमन्त्री राहतकोषमा आर्थिक सहयोग गरेको सर्वविदितै छ । अर्बौ रुपैयाँ प्रधानमन्त्री राहतकोषमा संकलन भए पनि विडम्वना मेरो देशमा स्थायित्वको सरकार नहुँदा अल्पसंख्यक भुकम्प पिडितहरुले अहिलेसम्म पनि राहत नपाएको कुरा कहिलेकाहिं अनलाइन र टिभी समाचारहरुबाट प्रशस्त सुनिरहेकाछौं ।
विनासकारी भुकम्प गएको दुई वर्षभन्दा बढि हुँदा पनि पिडितहरुलाई राहत प्रदान गर्न नसकेको सरकारले अहिले झन् एकद्वार प्रणाली लागु गरि राहत प्रदान गर्दा पिडितहरुले तत्काल नै राहत पाउँछन् भन्ने कुरामा सर्वसाधारणले कसरी विश्वास गर्ने ? एकद्धारा प्रणालीबाट पीडितले तत्काल राहत पाउँछन त गृहमन्त्रीज्यू ?
मैले व्यक्तिगतरुपबाट गृहमन्त्रीज्युलाई हेर्नुपर्दा एउटा सच्चा विकासप्रेमी र राष्ट्रप्रेमीकोरुपमा हेर्ने गरेको छु मलाई विश्वास छ हजुरले धेरै निर्णय गर्दा देश र जनताको हितमा गर्नुभएको छ,गर्नुहुनेछ ।
आधा नेपाल प्राकृत्तिक प्रकोपबाट पिडित भइरहेको बेला संसारभर छरिएर रहेका नेपाली संघसंस्था तथा दाजुभाई दिदीबैनीहरु तत्कालै सक्दो र सम्भव भएसम्म सहयोग गर्न आतुर रहेको देखिन्छ तर सरकारले जुन सहयोगको लागि एकद्वार भनेर घोषणा गरेपछि सन्तुष्ट भने देखिंदैनन् र म पनि छैन ।
म एकद्वार प्रणालीको विरोधी चाहिं होइन,यो प्रणाली आफैमा सकारात्मक पक्ष हो,जस्तै चीन,उत्तर कोरिया जस्ता मुलुकमा सफल पनि भएको छ । तर, हाम्रो मुलुकमा अहिलेको संरचना अनुसार अस्थिरता र कर्मचारीतन्त्रले गर्दा पिडितहरुले समयमै राहत पाउँछन् र प्रभावकारी हुन्छ भन्नु ‘आकाशको फल आँखा तरि मर’ भने जस्तै हुने कुरामा निश्चित छ ।
जबसम्म कर्मचारीतन्त्रमा भष्ट्राचारको अन्त्य हुँदैन तबसम्म यो प्रणाली प्रभावशाली बन्न सक्तैन भन्ने जानाकारी हुँदा हुँदै पनि निर्णयलाई पेलेर लैजानुले सरकार अवसरवादतिर गइरहेको छ भन्ने कुरा बुझाउँछ ।
वर्षायामको समय र लगत्तै आउँदै गरेको स्थानिय चुनावले गर्दा सरकारसँग श्रोत भए पनि पिडितहरुसामु साधन पुग्न र पुर्याउन सम्भव नहुने चिन्ताले सबैलाई पोलिरहेको छ,जसको कारण हो राहत वितरणको लागि एकद्वार प्रणाली यो कुनै पनि हालतमा प्रभावकारी हुने छैन । बरु पिडितहरुले राहत पाउनबाट वञ्चित हुँदैछन् भन्ने कुरा स्पष्ट बुझ्न सकिन्छ । तसर्थ सरकारले यस प्रणाली सम्बन्धी पुनर्विचार गर्दै सक्षम संघसंस्थाहरुलाई मुल्यांकन गरेर राहत वितरणको लागि ढोका खोलिदिनु पर्ने आश्यकता रहेको र प्रभावकारी पनि हुने देखिन्छ । जसले गर्दा पिडितहरु महामारी जस्ता विभिन्न रोगहरुको शिकार हुनु पर्ने छैन,गरिब र पिडित जनतालाई छिटो राहत पाउनबाट वञ्चित गराउनु हुने छैन भन्ने मेरो नितान्त व्यक्तिगत गुनासो गृहमन्त्रीज्युसमक्ष राख्दै मेरो आँशुको मसी बनाएर लेखिरहेका शब्दहरुलाई यहि टुङ्ग्याउन चाहान्छु ।
भुमिकास्थान ९– अर्घाखाँची,
हाल–कुवेतको खाडीबाट
वि.सं.२०७४ भदौ १ बिहीवार ०६:४७ मा प्रकाशित