फरक कथाको ‘भुईं मान्छे’ हलमा प्रदर्शन हुँदै
१ भाद्र, काठमाडौँ । फरक कथावस्तुमा बनेको भुईं मान्छे भोलि (शुक्रबार) बाट हलमा लाग्ने भएको छ । मंगलबार राजधानीमा ठूलो संख्याको दर्शकको उपस्थितिमा उक्त चलचित्रको प्रिमियर प्रदर्शन गरिएको थियो । प्रिमियर हेरेका अधिकाँसले फरक स्वाद महसुस गरेको र कथावस्तु राम्रो भएको प्रतिक्रिया दिएका छन् ।
पोस्टमार्टम गर्ने व्यक्तिको जीवनमा आधारित चलचित्र भुई मान्छेलाई दर्शकले रुचाउनु फरक कथावस्तुले हो । शव चिर्ने मान्छेलाई समाजले गर्ने ब्यबहार र उसले समाजबाट चाहने व्यवहार बीचको मनोविज्ञान नै भुइँ मान्छेको कथा हो । चलचित्रमा राजनीतिक पहुँच र पैसाका आधारमा कसरी नेपाली समाज कसरी बिकिरहेको छ भन्ने कुरा समेटिएको छ ।
फिल्म ‘भुई मान्छे’ मा महिला कलाकारमा राष्ट्रिय भलिवल खेलाडी सिपोरा गुरुङले अभिनय गरेकी छिन । उनको अभिनयले चलचित्रलाई जीवन्त बनाएको छ । मुख्य पुरुष कलाकारका रुपमा रमेश बुढाथोकीले अभिनय गरेका छन् ।
शैली थिएटरको प्रस्तुती रहेको भुई मान्छेको लेखन तथा निर्देशन नवराज बुढाथोकीले गरेका हुन् । उक्त चलचित्रमा सहिन प्रजापति, सशांक बोहरा, सम्राट सापकोटा, सानु ताम्राकार, प्रविण खतिवडा, तारा केसी, रोहिणी भट्टराई, आर्यन न्यौपाने, सौरभ ढकाल लगायतको अभिनय रहेको छ । फिल्ममा रोहिणी भट्टराई, हरि यादव र तीर्थ बोहराको लगानी रहेको छ ।