back

लोपोन्मुख ‘कृष्णचरित्र नचरी’ जोगाउँदै रामपुरका विश्वकर्मा

वि.सं.२०७४ भदौ २ शुक्रवार

129 

shares
RBB AD
NTC AD

२ भदौ, रामपुर (पाल्पा) । मगर, गुरुङ समुदायमा प्रचलित ‘कृष्ण चरित्र नचरी’ संस्कृतिको अस्तित्व जोगाइ राख्न रामपुरका विश्वकर्मा समुदाय लागिपरेका छन् ।

केही समय अगाडि मगर र गुरुङ समुदायमा निकै प्रचलित रहेको यस कृष्ण चरित्र नचरी पछिल्लो समय यस समुदायबाट विस्तारै लोप हुने क्रममा छ । तर रामपुर नगरपालिका वडा नं ६ र ७ का कठान, गैट्टारमा बसोबास गर्ने विश्वकर्मा समुदायले भने यसको परम्परा संस्कृतिलाई धान्दै आइरहेका छन् ।

कृष्णचरित्र नचरी खास गरी श्रीकृष्ण जन्माष्टमी, तीज, दशँै, पूर्णिमा, माघे संक्रान्ति, रामनवमी पर्व, वैशाखे पूर्णिमा, दशहरा पर्व, सत्यनारायण पूजा, फागुपूर्णिमाजस्ता पर्वमा र गाउँघरमा हुने मेला, महोत्सव, न्वारन, पास्नी, छैटीँमा देखाइने गरिन्छ ।

यसमा भगवान् श्रीकृष्णको चरित्र लीलालाई मुख्य विषयवस्तु बनाइएर नाच्ने गरिन्छ । एक पुर्सुङ्गे, दुई मारुनी, दुई मादले र एक ढँटुवारे पात्रले श्रीकृष्ण लीलासँग सम्बन्धित गीत गाएर अभिनयसहित नाचिने नाचलाई श्रीकृष्ण चरित्रमा आधारित मारुनी नाच भनिने गरिएको हो ।

श्रीकृष्ण लीलाका जन्मखण्ड, गोलेनीखण्ड, नागिनी आदि खण्डको अभिनय पूरा भएपछि बन्धन फुकाउने गीत गाउनु अनिवार्य हुने कृष्णचरित्र नचरीका रौरा अर्थात् गुरु चण्डीप्रसाद सुनार बताउनुहुन्छ । उहाँकै निर्देशनमा यहाँ कृष्णचरित्र नचरी देखाइने गरिन्छ । आफूले जाने बुझेदेखि नै महिलाको वेषभूषा लगाएर पुर्सुङ्गे, मारुनी र मादले पात्रका रुपमा अभिनय गर्दै आइरहेको र अहिले आएर रौरा भएर संस्कृतिलाई निरन्तरता दिन पाएकोमा खुशी लागेको ६२ वर्षीय सुनार बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ, “बाउ बाजेले पहिलेदेखि कृष्ण चरित्र नचरी देखाउँदै आएको हँुदा आफूले पनि परम्परा र संस्कृतिलाई जोगाउन निरन्तरता दिने प्रयास गरिरहेको छु” । फरक समुदायको भएपनि संस्कृति बचाउने अभियानमा लागिरहेको र नयाँ पुस्तालाई पनि संस्कृति हस्तान्तरण गरेर अस्तित्व बचाई राख्ने कसरतमा लाग्ने उहाँको भनाइ छ ।

पर्वअनुसार भगवान् श्रीकृष्णको जीवन लीलामा आधारित कृष्ण चरित्र नचरी तथा श्रीरामको जीवन गाथामा आधारित रामायणको नचरी देखाइन्छ । नचरीका अर्का पात्र रामबहादुर सुनारका अनुसार संंस्कारअनुरुप नचरीका गीत फरकफरक गाइन्छन् । छैँठीको अवसरमा कृष्णजन्म खण्डको गीत गाएर अभिनयसहित नृत्य गरिन्छ ।

छैँठीखण्डको गीत ः

रिटक ः श्रीकृष्ण जन्मनुभयो झ्यालभित्र मध्यरातमा,
चरण ः हा हा भदवै महिना अष्टमी तिथी वुधवार रोयणी नक्षत्र,
हा हा झ्याल ढोका खुले प्रहरी निदाए,
वासुदेवले कृष्णलाई गोकुलमा लगे ।
रिटक ः बच्चा भई खेली गोकुलैमा कृष्णले,
दही चोरी खाए ।
चरण ः हा हा दही चोरी खाए–२
हाँडी त्यहीँ फुटाए ।

यहाँको नचरी मारुनी शैलीमा नाचिने हँुदा यसको मारुनी नाचसँग नजिकको सम्वन्ध देखिन्छ । श्रीकृष्णको चरित्रमा आधारित भएर नृत्य अभिनय गर्दा पुण्य प्राप्ति हुनुका साथै मनोरञ्जन समेत हुने कारणले यस क्षेत्रमा नचरी देखाउने गरिएको हो । जेहोस् रंगमञ्च विनानै घर, आँगन, मन्दिर, खुला ठाउँमा प्रदर्शन गरिनु, स्थानीय बोलिचालीको भाषा, वेषभूषा र वाद्यवादनका सामग्रीको प्रयोगका कारण परम्परागत संस्कृतिलाई आजसम्म पनि जीवन्तता तुल्याइरहेको छ ।

मगर बस्तीको प्रभावका कारण शुरुमा बाउबाजेले यो संस्कृति अवलम्वन गरे, त्यसलाई निरन्तरता दिने उद्देश्यले यो नाच बेलाबेलामा गाउँ घरमा देखाइँदै आइरहेको पदमबहादुर विक बताउनुहुन्छ ।

नागिनी खण्डको गीत ः

रिटक ः हामरो पूजालाई पर्दो कृष्ण,
विर हो तमु बालाई,
जामुनाको निरमा तिर,
उही होला कमलको फुल ।
चरण ः हा हा कमलको फुलमा टिपी,
ल्याऊ मेरा भानिज,
सोही र फुल ल्याऊ रे बाबालाई,
हामकै सेजा पुगेन ।

रामपुरको विश्वकर्मा समुदायले देखाउने कृष्णचरित्र नचरी पनि भगवान् श्रीकृष्णकै जीवन लीलामा आधारित कथावस्तुसँग सम्बन्धित नृत्य हो । यसमा एक पुर्सुङ्गे, दुई मारुनी र दुई मादले पात्रहरु प्रयोग हुन्छन् ।

यी पात्रमध्ये पुर्सुङ्गेले श्रीकृष्णको प्रतिनिधित्व गरेको हुन्छ । दुई मारुनीले कालीनाग र नागिनीको प्रतिनिधित्व गर्दछन् । दुई मादले गीत गाउँदै मादल बजाउँदै नाच्ने पात्रहरु हुन् । मारुनी गीतको भाव र मादलको तालमा घुमीघुमी नाच्छन् ।

मादलेहरुले सेतो फेटा, भोटो, कछाड, इष्टकोट लगाई काँधमा मादल बोकेका हुन्छन् । पुर्सुङ्गेले सेतो फेटा, भोटो, जामा, कालो इष्टकोट, कानमा कुण्डल र खुट्टामा खाँकर लगाएको हुन्छ । मारुनीहरुले चौवन्दी चोली, दुईपट्टि फुर्का भएको लामो घाँघर, नैनसुतको पटुका, निलो पछ्यौरा लगाई हातमा रुमाल लिएका हुन्छन् ।

गोलेनी खण्डको गीत ः

रिटक ः हा हा सोह्रसय गोलेनी माई,
दही बेच्न आएका,
दहियाको लाउँछ जागत ।
चरण ः हा हा दहियाको बेची बेची,
हामी वृद्ध भयौं,
केको लाग्छ जागत्,
तिम्रो पासमा दुृना, नरिवल होला,
सिहियाको हो लाउँछ जागत् ।

चौध वर्षका सुमन विक र मिलन विक महिलाले लगाउने भेषभुषाहरु साडी, चोली, पछ्यौरा, पटुका, कण्ठमाला, कण्ठी, चापलगायतका विभिन्न खालका पहिरन लगाएर कृष्णचरित्र मारुनी गीतका भाका र वाद्यवादनको तालमा मज्जाले नाच्ने गर्छन् ।

उनीहरु अहिले कक्षा ६ मा पढ्दैछन् । मारुनी नाच नाच्न पाउँदा निकै रमाइलो र खुशी लागेको सुमन विक बताउनुहुन्छ । यसरी मारुनी बनेर नाच्ने गर्दा कलासंस्कृतिको बारेमा केही कुरा सिक्ने अवसर पाएको मिलन विकले बताउनुभयो । यस संस्कृतिप्रति पछिल्लो समयमा युवा पुस्ताले चासो नदिँदा मगर र गुरुङ समुदायभित्र भने क्रमशः हराउँदै गएको छ ।

वि.सं.२०७४ भदौ २ शुक्रवार ०६:४२ मा प्रकाशित

NLIC AD
NABIL bank AD
कर्णालीसहित तीन प्रदेशका केही स्थानमा वर्षाको सम्भावना !

कर्णालीसहित तीन प्रदेशका केही स्थानमा वर्षाको सम्भावना !

काठमाडौं । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक...

विद्यार्थीलाई पढाइसँगै सीप सिकाउँदै नगरपालिका

विद्यार्थीलाई पढाइसँगै सीप सिकाउँदै नगरपालिका

म्याग्दी । म्याग्दीको बेनी नगरपालिकाले विद्यार्थीहरुलाई पढाइसँगै सीप सिकाउन ‘हामी...

सुदूरपश्चिम प्रदेशसभाको हिउँदे अधिवेशन आजदेखि अन्त्य

सुदूरपश्चिम प्रदेशसभाको हिउँदे अधिवेशन आजदेखि अन्त्य

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशसभाको हिउँदे अधिवेशन (विधेयक अधिवेशन) कुनै पनि...

मुख्यमन्त्री कार्कीद्वारा मन्त्रिमण्डल विस्तारः पाँच मन्त्री एवं दुई राज्यमन्त्री थप

मुख्यमन्त्री कार्कीद्वारा मन्त्रिमण्डल विस्तारः पाँच मन्त्री एवं दुई राज्यमन्त्री थप

मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पाँच मन्त्री र...

अवैध सुन नदिने उद्देश्यले लुटिएको नाटक गर्ने एक जना पक्राउ 

अवैध सुन नदिने उद्देश्यले लुटिएको नाटक गर्ने एक जना पक्राउ 

काठमाडौँ । भन्सार छली गरेर ल्याइएको सुन सम्बन्धित व्यक्तिलाई नदिई...

चितवन राष्ट्रिय निकुञ्जमा घुम्ने विदेशी पर्यटक बढे

चितवन राष्ट्रिय निकुञ्जमा घुम्ने विदेशी पर्यटक बढे

चितवन । चितवन राष्ट्रिय निकुञ्ज घुम्ने विदेशी पर्यटकको सङ्ख्यामा वृद्धि...