११ भदौ, राजविराज । पन्ध्रबुँदे घोषणापत्र जारी गर्दै दोस्रो युवा सम्मेलन आज यहाँ सम्पन्न भएको छ । सप्तरीका युवाको समग्र विकासका लागि सप्तरी युथ नेपालले आयोजना गरेको दोस्रो युवा सम्मेलनमा युवाबाट आएका सुझावलाई एकीकृत गरी जारी गरिएको घोषणापत्रमा युवा लक्षित बजेट विनियोजनका लागि स्थानीय तहमा दबाब सिर्जना गर्ने तथा समाजको विकासमा युवाहरुको सहज पहुँच गराउने, भविष्यमा आउन सक्ने बाढी, पहिरोलगायत दैवीप्रकोपले क्षति हुन नदिन चेतनामूलक कार्यक्रमका लागि पहल गरिने आदि उल्लेख छ ।
त्यस्तै, घोषणापत्रमा बाढी आउन नदिन दीर्घकालीन कार्य गर्न पहल गरिने, रोजगारी प्रवद्र्धनका लागि गाउँगाउँमा सीपमूलक तालीम सञ्चालन गर्ने तथा उद्यमशीलता प्रवद्र्धन गर्ने कार्यक्रमलाई अगाडि बढाउन पहल गर्ने उल्लेख गरिएको छ ।
यसैगरी, वैदेशिक रोजगारीमा जाने युवालाई सीप सिकेर जान प्रोत्साहन गर्ने र रोजगारीका लागि मुलुक बाहिर जाने क्रमलाई विस्तारै घटाउँदै लैजाने, युवा लक्षित कार्यक्रमलाई प्रभावकारी रुपमा संचालन गर्न सरकारी तथा गैरसरकारी निकायसँग उचित सहकार्य गर्न युवाले नेतृत्व लिन पहल गर्ने पनि घोषणापत्रमा जनाइएको छ ।
साथै, युवा सूचना केन्द्र स्थापनाका लागि आवश्यक पहल गर्ने, समाजमा रहेका सबैखाले विभेद – जातिय विभेद, महिलामाथि हुने विभेद, अपांगता भएका तथा तेश्रोे लिंगी माथि हुने लगायत सबै किसिमका विभेद अन्त्यका लागि नेतृत्वदायी भूमिका खेल्ने र तेस्रो लिंगीमैत्री नीति अनुसरण गर्ने पनि बताइएको छ ।
सप्तरीको साबिक संरचनाअनुसार ९१ गाविसबाट दुई दुईजना महिला र पुरुष तथा पाँच नगरपालिकाबाट ४÷४ जना महिला, पुरुष तथा आवेदन गर्ने र स्वयंसेवक १०० गरी जम्मा ३०२ युवा सम्मेलनमा सहभागी भएको मुल समारोह समितिका संयोजक मिथिलेश यादवले जानकारी दिनुभयो ।
अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर सप्तरी युथ नेपालले साउन २८ र २९ गते सम्मेलनको आयोजना गर्ने भनिए पनि साउन २८ गते अविरल वर्षासँगै विभिन्न खोला र नदीमा आएको बाढीका कारण जिल्ला प्रभावित भएपछि राहत र उद्धारका लागि युवाहरु परिचालन गर्ने अभिप्रायका साथ सो सम्मेलन स्थगित गरिएको थियो ।
सम्मेलनको उद्घाटन शनिवार प्रमुख जिल्ला अधिकारी भगिरथ पाण्डेले गर्नु भएको थियो ।