Logo
७ चैत्र २०७९, मंगलवार
     Tue Mar 21 2023
E-paper
  English Edition
   Unicode
Logo

महानगरपालिकामा मनपरी



kathmandu-munipacility
देशकै राजधानी समेत रहेको काठमाडौं महानगरपालिका भ्रष्टाचारको केन्द्र बनेको छ । साढे एक दशक कर्मचारी नेतृत्वमा सञ्चालित हुँदा सामान्य मापदण्डमा समेत असफल महानगर अनियमिततामा भने अब्बल बनेको छ । जवाफदेहिताविहिन कर्मचारीतन्त्र आफ्नो दुनो सोझ्याउने भन्दा अन्य कार्यमा नलागेको यसबीचमा सर्वसाधारणले गुनासो गरिरहेका हुन्थे । तर, राजनीतिक नेतृत्व स्थापित भएपछि पनि अनियमितता घटेको देखिदैँन । बरु नोकरसाहीतन्त्रले कसरी राजनैतिक नेतृत्वलाई आफ्नो मोहपासमा बाँधेर स्वार्थ पूरा गर्नमै उद्धत छ । सँगसँगै करौडौं खर्च गरेर निर्वाचन जितेको राजनीतिक नेतृत्व कति इमान बन्ने हो अहिल्यै भन्न सकिने अवस्था छैन । तर, यो चाहि भन्न सकिन्छ की राजनैतिक नेतृत्व प्रभावी हुन सकेन भने कर्मचारीतन्त्र पूर्ण मितव्ययी बन्न सक्तनैन र यसको प्रत्यक्ष मार महानगरले बेर्होनुपर्ने हुन्छ ।

ऐक्यबद्धताले महानगरमा भइरहेको अत्यन्तै साना अनियमितता खोतल्ने प्रयास गरेको छ । विभिन्न स्थानमा पुगेर विभिन्न श्रोत परिचालन गरेर समाचार लेख्ने प्रयासमा ऐक्यबद्धताले केही उदाहरणीय अनियमितता भेटेको छ । बाहिरबाट हेर्दा अत्यन्तै साना तर दुरगामी प्रभाव पार्ने यस्ता अनियमितताले ‘बिहानीले दिउँसो दर्शाउँछ’ भनेजस्तै महानगरमा कति अनियमिता हुन्छ भन्ने सामान्य अनुमान गर्न सकिन्छ । यस अंकमा हामीले महानगरमा दिनदिनै हुने र देख्दा सामान्य लाग्ने तर नगरको करोडौं राजस्व गुमिरहेको अनियमितताका परिदृश्यलाई प्रस्तुत गरेका छौं ।

kun-sewa-ko-katiघटना नं. १ – सेवा केन्द्रमा तालाबन्दी
काठमाडौं महानगरपालिकाको स्वामित्वमा रहेको सहरी सेवा केन्द्र मध्ये रत्नपार्क दक्षिण पश्चिम कुनाको एक केन्द्रमा एक्कासी महानगरपालिकाले ताला लगाइदियो । उक्त केन्द्रमा महानगर प्रहरीका प्रहरीनायब उपरिक्षक विष्णु जोसीको नेतृत्वमा तालाबन्दी गरिएको केन्द्रका ठेकेदार ऋषिराम गड्तौलाले बताए ।
गड्तौलाले उक्त केन्द्र ५ वर्षका लागि ठेक्का पाएका छन् । यसअघि वार्षिक १ लाख भन्दा बढिमा ठेक्का नलागेको उक्त केन्द्र अहिले प्रतिवर्ष १३ लाख रुपैयाँमा ठेक्कामा लागेको काठमाडौं महानगरपालिकाको राजस्व विभागले जानकारी दिएको छ । महानगरले बकाइदा आह्वान गरेको बढि बढाउ टेन्डरमा पारेर गड्तौलाले उक्त केन्द्र सञ्चालनको ठेक्का पाएको विभागले बताएको छ । प्रतिवर्ष साढे २ प्रतिशतले भाडा बढ्ने गरी महानगर स्वयम्ले ठेक्का लगाएको सो केन्द्रमा यो समाचार तयार पार्दा सम्म महानगरकै ताला झुण्डिएको छ ।

ताला लगाउँदा प्रनाउ जोसीले महानगरका नवनिर्वाचित प्रमुख विद्या सुन्दर शाक्यको निर्देशनमा आफूले ताला लगाएको ठेकेदार गड्तौलाले बताएका थिए । राजनीतिक रुपमा राम्रै पहँुच बनाएका गड्तौलाले नगर प्रमुख शाक्यलाई तुरुन्तै भेटेर केन्द्र बन्द गर्नुको कारण मागे । उनले मेयरलाई सोधे – ‘केन्द्र बन्द गर्ने निर्देशन किन दिनुभएको मेयर साब ?’ गडतौलाले यस्तो जिज्ञासा राख्दा मेयरले अनविज्ञता जनाएपछि उक्त केन्द्रमा गरिएको तालाबन्दीको पोल खुल्न थाल्यो ।

उच्च स्रोतबाट ऐक्यबद्धताले प्राप्त गरेको सुचना अनुसार –उक्त केन्द्रमा साउन ८ गत्ते ताला लगाउनु अगाडी केहि समय मेयरको सचिवालयका प्रमुख नमराज ढकाल र प्रनाउ जोसीले गड्तौलासँग मासिक रुपमा ‘भेटी’ उठाउने बारे छलफल भएको बताइएको छ । तर गड्तौला उक्त कार्यमा सहमत नभएपछि मेयरको ध्वाँस दिदै तालाबन्दी गरिएको बताइएको छ ।

अहिले सोहि तालावन्दी जोसीका लागि निल्नु न ओकल्नु भएको छ । मेयर शाक्यले जानकारी बिनै आफ्नो नाम दुरुपयोग गरेर लगाइएको ताला खोल्न प्रनाउ जोसीलाई निर्देशन दिएका छन् । तर, अहिले ठेकेदार गडतौला ताला खोल्न तयार छैनन् । जोसीले पटक–पटक ताला खोल्न आग्रह गरेपनि गडतौलाले पहिला ताला लगाउनुको कारण र ताला लगाएको समयको क्षतिपूर्ति नपाई आफूले ताला नखोल्ने बताउँदै आएका छन् । अन्य सामुदायिक केन्द्रका ठकेदारहरूको समेत साथ पाएका ठेकेदार गडतौला आवश्यक परे न्यायालय जाने मनस्थितिमा छन् भने प्रनाउ जोसी विभिन्न सुत्रहरूको प्रयोग गरेर गडतौलालाई मनाउने दौड धुपमा छन् । तुलनात्मक हिसाबले अत्यन्तै सरल र सोझा मानिने मेयर शाक्यले आफ्नै कर्मचारीहरूले आफ्नो दुरुपयोग गर्न थालेको जानकारी पाएपछि नगरका थुप्रै कर्मचारी माथी आन्तरिक अनुसन्धान समेत सुरु गरेको महानगरीय उच्च श्रोतले बताएको छ ।

तर महानगर प्रमुखले आदेश दिएपनि उक्त केन्द्र समाचार तयार पार्दा सम्म खुल्न सकेको छैन । पुरानो बसपार्क टुडिखेल, खुलामञ्चमा सारिएसँगै अत्यन्तै चहलपहल बढेको उक्त केन्द्रमा रहेका जुत्ता रेष्टुरेन्ट लगायतका सबै पसल बन्द छन् । तर सौचालय भने खुल्ला नै रहेको छ ।

घटना न. २– सव–वे– घोटालाको उत्कृष्ट नमुना
महानगरमा हुने विभिन्न घोटालामध्ये भोटाहिटी, रत्नपार्क भूमिगत मार्ग (सव–वे) को ठेक्का पनि अर्को हो । महानगरमा राजनैतिक नेतृत्व आएसँगै ठेक्का पट्टाको नविकरण र नयाँ ठेक्काको आह्वान भएपनि सव–वेको ठेक्कामा महानगर मौन रहेको छ । २० वर्ष अगाडी बार्षिक १ लाख ४० हजार भाडा तिर्ने सहमतिमा राजु श्रेष्ठले उक्त ठेक्का हात पारेका थिए ।

यो २० वर्षमा वागमतीमा कति पानी बगीसकेको होला ? सँगै रहेको रानीपोखरीको भरीभराउ पानी सुकेर पोखरी बुट्यानमा परीणत भएको छ । केही वर्ष अगाडीसम्म फुङ्ग उडेको रत्नपार्क हराभरा भएको छ । बेरोजगारहरूले घाम ताप्दै बदाम खाने पार्कले अहिले वार्षिक १ करोड १५ लाख आम्दानी महानगरलाई दिएको मात्रै छैन, थुप्रैको टहल्ने ठाँउ समेत बनेको छ । तर, सँगैको सव–वे भने २० वर्षदेखि एउटै ठेकेदारको मनोमानीमा चलेको छ । दोस्रो स्थानीय निर्वाचन पछिको निर्वाचित निकायले लगाएको ठेक्का, राजाले गराएको निर्वाचनबाट निर्वाचित देखि गणतन्त्रकालमा समेत नविकरण भएको छैन ।

महानगरको कानुन शाखाका अनुसार –‘‘२० औ वर्ष एउटैले चलाउने त सम्भव नै हुँदैन ।’ कानुन शाखाले जे भनेपनि सव–वे भने २० वर्ष देखि राजु श्रेष्ठले नै चलाएका छन् । प्रनाउ जोसी र प्रशासन प्रमुख ज्ञानेन्द्र कार्कीसँगको सम्बन्ध उपयोग गदै श्रेष्ठले २० वर्षदेखि सव–वे मा हालीमुहाली गदै आएका बताइएको छ । सव वे मा रहेको २० भन्दा बढी पसलबाट प्रतिपसल १० हजार देखि ५० हजार सम्म उठाउने श्रेष्ठले महानगरलाई भने वार्षिक १ लाख ४० हजार मात्रै उठाउँदै आएका छन् । त्यसमाथि श्रेष्ठले नियमनै मिचेर सव–वे को ढोकामा नै ३ वटा पसल समेत सञ्चालन गदै आएका छन् । करारमा समेत पसल खोल्न नपाइने भनिएको स्थानमा श्रेष्ठले जोसीकै सहयोगमा पसल सञ्चालन गरेर भाडा असुली रहेका छन् ।

घटना न. ३ – हरीत पेटी दलालकै भेटी
काठमाडौं उपत्यकाको साढे सत्ताइस कि.मी चक्रपथको धेरैजसो भाग काठमाडौं महानगरमा पर्दछ । ३० मिटर चौडाइको उक्त सडकमा हरीत पेटीको व्यवस्था गरीएको छ । तर, उपत्यकाको चक्रपथको हरीत पेटी भने अहिले मेटीने अवस्थामा पुगेको छ । खासगरी कामनपाको चक्रपथका मुख्य चोकहरू कोटेश्वर, चाबहिल, गौशाला र बालाजु क्षेत्रको हरीतपेटीका करीब करीब सकिने अवस्थामै पुगेको जो कसैले ठम्याउन सक्छ ।

बालाजु माछापोखरी र बसपार्कको छेउछाउमा हयिालीका लागि रोपिएका रुखको सट्टामा महानगरका केही कर्मचारीको खल्ती भर्नका लागि छाप्रे पसलहरू निर्माण गरिएको छ । यो क्षेत्रमा ३५ वटा साना–ठूला छाप्रा बनाएर स्थाई पसल सञ्चालन भएको स्थानीय बासीन्दा बताउँछन् । स्थानीयले भने जस्तै उक्त क्षेत्रमा थुप्रै छाप्रे पसलहरू रहेका छन् । तिनले हरीत पेटीका हरीयाली त मासेकै छन् नै अझ त्यसभन्दा बढि काठमाडौं महानगरको करोडौं राजस्व समेत मासेका छन् । पसलेहरूका अनुसार उनिहरूले कर त तिर्छन तर राज्यको आम्दानीमा भने राजस्व दाखीला हँुदैन । उक्त क्षेत्रका सबै पसलले एकमुष्ठ वार्षिक पाँच लाख नगरपालिकालाई तिरेको बताउँछन् । उक्त आम्दानी महानगरको राजस्वमा नगएर सुरक्षाकर्मीको हाकीमको खल्तीमा गएको देखिन्छ । नगर प्रहरीका तल्ला तहका जवानदेखि माथिसम्म उक्त आम्दानी बाँडिन्छ ।

घटना नं ४ आकाशे पुल : सुनको अण्डा दिने कुखुरी
काठमाडौं महानगरमा अहिले जमल, भोटाहीटी, सुन्धारा, रत्नपार्कमा आकाशे पुलहरू रहेका छन् । निजी सार्वजनिक साझेदारीमा बनेका यस्ता आकाशे पुलका सञ्चालन पनि सोहि विधिबाट सञ्चालन भइरहेको महानगरको सूचना अधिकारीको कार्यालयले जनाएको छ । महानगर र निजी क्षेत्रको साझेदारीमा बनेका यस्ता आकाशे पुलको भुईं खण्डलाई व्यापारीक प्रयोजनमा प्रयोग गरीएको छ । कुनै–कुनैको माथिल्लो खण्ड पनि व्यापार गर्न भाडामा लगाइएको छ । यतिसम्म जायज नै हुने महानगरको कानुन शाखाको भनाई छ ।

महानगरमा केही चल्तापुर्जाहरूको सहयोगमा जस्ताका छाना हालेर पनि सटर बनाएर भाडामा लगाइएको सबैले देख्न सक्छन् । जसको राजस्व महानगरमा जाँदैन । केही मान्छे मिलेर त्यस्ता सटरको भाडा उठाउँछन र बाडीचुँडी खान्छन् ।

नयाँ बसपार्कको आकाशे पुलमा पर्याप्त सटरहरू देख्न पाइन्छ । रत्नपार्कको आकाशे पुलपनि अपवाद छैन एकजना स्थानीय व्यापारीले बताए । ति व्यापारीका अनुसार यस्ता सटर ३० हजार मासीक भाडामा लगाइएको छ ।

नाम नबताउने सर्तमा एक प्रहरी हवल्दार भन्छन, ‘हेर्नुस् सर हामीले रातो मुख लगाएर पसलेहरूसँग पैसा उठाउँछौं, तर खाने त माथी नै छन् । हामीले त यसो चीया खर्च मात्रै पाउने हो ।’

स्थानीय व्यवसायीहरूका अनुसार – उनीहरूले प्रत्येक महिना १ हजार रुपैयाँ प्रति पसल नगर प्रहरीलाई बुझाउँछन् । राजस्व शाखामा बुझ्दा भने उक्त रकम राजस्वमा दाखील भएको रेर्कड फेला परेन । राजस्वका एक अधिकारीका अनुसार –‘महानगरले आधिकारीक रुपमा कोटेशन गरेर भाडामा लगाएको बाहेक अन्यत्रबाट त्यस्तो किसिमको राजस्व प्राप्त गदैन ।’ तर, नगर प्रहरी र नगरका अन्य कर्मचारीले भने यस्ता पसलबाट बार्षिक लाखौ आम्दानी गर्दैछन ।
यसैगरी गौशालाको हरित पेटीमा पनि नगर प्रहरीले रमाइलो नाटक गर्ने गरेको तथ्य समेत ऐक्यबद्धताले फेला पारेको छ । गौशालाका सडक व्यापारीहरूलाई देखाएर ‘सटर’ व्यापारीहरूलाई बार्गेनिङ गर्ने रोचक नाटक नगर प्रहरीले गर्ने गरेको स्थानीयहरू बताउँछन् ।

महिनामा केहि दिन सडक पसलेलाई खेदे जस्तो गरेर सटर पसलेहरूसँग हप्तावारी उठाउने र फेरि सडक पसले राखिदिएर उनीहरूबाट हप्ता उठाउने काममा नगर प्रहरी लागेको स्थानीय व्यापारीहरूले बताए । त्यहाँ करीब १ सय सडक व्यापारीबाट मासिक १ हजारका दरले नगरप्रहरीले उठाउने गरेको उनीहरूले ऐक्यबद्धतालाई बताए । यसको एकमुष्ठ योग १ लाख हुन्छ ।

घटना ५– सोडापानी : मासीक १ लाख ५० हजारको खानी
काठमाडौं महानगरमा ५० भन्दा बढी सडकमा सोडा पानी बेच्ने पसलेहरू छन् । ती सोडा पानी महानगरको करको दायरामा छैनन् । तर सबै सोडा पसलले मासिक प्रति पसल ३ हजार रुपैयाँ महानगरको प्रहरीलाई बुझाउँछन् । नाम नबताउने सर्तमा एक सोडा व्यापारी भन्छन, ‘नगर प्रहरीलाई मोफतमा सोडापानी सर्भ गर्नु त छँदैछ । मासिक ३ हजार नदिए पसलै बोकी लैजान्छन् ।’

महानगरका ५० वटै सोडा पसलबाट मासिक १ लाख ५० हजार रुपैयाँ महानगर प्रहरीले उठाए पनि उक्त उठ्ती नगरको राजस्वमा जाँदैन । श्रोतका अनुसार– प्रशासन प्रमुख, सचिवालय प्रमुख र सुरक्षा प्रमुखले उक्त बाँकी उठ्ती लिने गर्दछन् ।

घटना नं ६–महानगरमा पतन्जलीको दादागिरी
भारतीय धर्मगुरु रामदेवको पतन्जली उद्योगका उत्पादनको विज्ञापन काठमाडौंका चोक, चौराहा जता पनि छ्याप छ्याप्ती छन् । आफै कालो धनका विरोधि रामदेवको महानगरका चोक चौराहामा विज्ञापनका पोस्टर टासेपनि त्यसको राजस्व नतिरेको महानगरीय राजस्व विभागले बताएको छ ।

विज्ञापन निर्देशिका २०७० ले १ सय वर्गफिट भन्दा बढी यस्ता विज्ञापन सामग्री राख्न नपाइने भनेपनि पतन्जलीले यो नियमलाई कतै टेरेको छैन । सो कम्पनीले विज्ञापन शुल्क समेत तिरेको छैन । महानगरको राजस्व विभागले जनायो । महानगरीय प्रहरी नगर भित्र हुने अवान्छित गतिविधि रोक्नकै लागि निर्माण गरिए पनि राजस्व नै नतिर्ने पतन्जलीका यस्ता प्रचार सामाग्री कतै च्यात्ने/निकाल्ने गरेको देखिँदैन । नगर प्रहरी उपरिक्षक जोसीले यस्तो गतिविधि नियन्त्रण गर्ने दायित्व आफ्नो भएपनि जनशक्तिको अभावमा गर्न नसकिएको बताउँछन् ।

घटना नं ७ पन्ध्र सय साइकल वालाबाट ३० लाख मासिक
महानगरीय क्षेत्रमा दैनिक १६ हजार ५ सय साइकल र ठेलामा व्यापारीहरूले फलफूल व्यापार गर्छन् । सानो नाफाका लागि कठोर परिश्रम गर्ने यस्ता व्यापारीलाई समेत महानगरका सुरक्षाकर्मीले नछाडेको व्यापारीहरूले बताए । उनीहरूका अनुसार बागबजार, भोटाहिटी, असन, जमल, पुरानो बसपार्क लगायतका क्षेत्रमा फलफूल बेच्नेबाट दैनिक २ सय रुपैयाँ महानगर प्रहरीले उठाउने गरेको छ । यसैगरी नयाँ बसपार्कमा दैनिक ३ सय र अन्य स्थानमा रहेर व्यापार गर्नेबाट दैनिक १ सय ५० उठाउने गरेको व्यापारीहरूले बताए ।

घटना नं ८ : सडकनै १ लाखमा
महानगर प्रहरीको अर्को बेतिथि टुडिखेल– खुल्लामंच बिचको करिडोर हो । पुरानो बसपार्क, विर अस्पताल जोड्ने उक्त करिडोर सुरक्षा दृष्टिकोणले समेत संबेदनशिल मानिन्छ । तर पनि महानगर प्रहरीले त्यहाँ समेत खुल्ला पसल राख्न दिएर उठानी गर्न छाडेको छैन । उक्त करिडोरबाट समेत महानगर प्रहरीलाई बार्षिक १ लाख बुझाएर पसल थापेको खुल्ला व्यापारीहरू बताउँछन् ।

यी बाहेक हाल काम चलाउ सिटी बसपार्कमा समेत ७० वटा जति फलफूल र अन्य ठेला राख्न दिएर समेत महानगरीय प्रहरीले उठ्ती कायम राखेको छ । त्यहाँबाट मासिक ५ हजार रुपैयाँ प्रहरीलाई बुझाउने गरेको फुटकर व्यापारीहरू बताउँछन् । यहि हालत कोटेश्वरमा पनि रहेको छ ।
………………….
यी परीदृश्यले के देखाउँछ भने काठमाडौं महानगरपालिकामा सुशासनको कमि छ । कर्मचारीतन्त्र र राजनीतिक नेतृत्व एकले अर्कोमाथि हावी हुन खोजेको समेत महानगर श्रोतले बताएको छ ।

सहरी सेवा केन्द्र बन्द गर्दा मेयर शाक्यको नाम प्रयोग हुनु र उनले त्यसमा आफ्नो संलग्नता त के जानकारी समेत नभएको बताउनुले महानगरका कर्मचारी राजनैतिक नेतृत्वको नाम लिएर आफ्नो खल्ती भर्न उद्दत छन् । ०५९ सालमा स्थानीय निकाय विघटन भएपछि १५ वर्ष एकछत्र राज गरेको कर्मचारीतन्त्र महानगरमा प्रभावशाली नै मानिन्छ । जन अनुमोदित भएर आएको राजनैतिक नेतृत्व पनि आफ्नो प्रभावबाट शक्ति फुस्किन नदिनमा केन्द्रीत रहनु स्वभाविक हो ।

यहि शक्ति नियन्त्रणको लिगलिगे दौडमा देशकै राजधानी रहेको महानगर असफल बन्यो भने त्यसको प्रभाव सिंगो राज्य संयन्त्रमा पर्ने पक्का छ । कर्मचारीतन्त्र भीत्र साना–साना शक्ति केन्द्र देखि स्थायी र ठूला शक्ति केन्द्र हावी छन् । त्यसको देखिने गरी छाँया सेवा ग्राही र जनस्तरसम्म प्रत्यक्ष भेटिन्छ ।
सँगै महानगरका दुई मुख्य नेतृत्व छुट्टाछुट्टै राजनैतिक पार्टी रहनुले पनि कर्मचारी तन्त्रले नेतृत्वको उपयोग गर्ने प्रयत्न गरिरहेका छन् । वर्तमान निर्वाचित मेयर शाक्य नेकपा एमालेका नेता हुन भने उपमेयर हरिप्रभा खड्गी नेपाली कांग्रेसकी नेता हुन् ।

यसैगरी महानगरमा पनि तलदेखि माथिसम्म कर्मचारीतन्त्र पार्टी पार्टीमा विभाजित छ । एकजना अधिकृत तहका कर्मचारी भन्छन् ‘महानगरमा पार्टीमा नलागेको कर्मचारी नै भेटिदैँन ।’

महानगरका प्रवक्ता ज्ञानेन्द्र कार्कीले नगरभित्र त्यस्तो राजनैतिक खिचातानी नभएको बताउँछन् । बरु बिगतमा भन्दा बढी तालमेलमा काम गरेको उनले बताएपनि नगर संयन्त्र प्रष्ट विभाजित भएको अन्य अधिकारीहरू बताउँछन् ।

नगरभित्र स्थायी गुटको नेतृत्व गर्ने भनेर चिनीएका कार्की, प्रशासन प्रमुख नमराज ढकाल र सुरक्षा प्रमुख जोशी नीति निर्माणमा हाबी हुँदा नगरका अन्य वरिष्ठ कर्मचारी समेत छायाँ परेको बताउँछन् ।

महानगरमा स्वार्थ केन्द्र र शक्ति केन्द्र हावी हुन खोज्दा अतियमितता बढ्नु स्वभाविकै नै रहेको एक अधिकारीले बताए । उनका अनुसार नीतिगत देखि कार्यगत सबै ठाउँमा साना ठूला भ्रष्टाचार मौलाउनुमा यस्तै शक्ति केन्द्र केन्द्रंीत स्वार्थ केन्द्रहरू मुख्य कारक छन् ।

पछिल्लो समय ढकालको नेतृत्वमा मेयर शाक्यको प्रयोग गर्ने कार्कीले उपमेयर खड्गीसँग साखुल्ले बन्ने र आफ्नो दुनो सोझ्याउने गरेको ती अधिकारीले आरोप लगाए । यो समूहले लेखाका कर्मचारीहरू, प्रशासन र प्रशासनको कर्मचारीलाई लेखामा समेत लैजान सफल भएको छ । प्रशासनका श्याम पाण्डेलाई यहि समूहले लेखामा पुर्याएको बुझिएको छ । उनी एमाले निकट पेशागत महासंघका केन्द्रिय कोषाध्यक्ष हुन ।

nagar-palika-mutual-understanding

राजस्वले काट्यो चिठी
महानगरीय सुरक्षाका लागि गठित नगर सुरक्षाकर्मीले गरेको ज्यादति सडक आसपासमा ठेला, रिक्सा र साइकलमा व्यापार गर्नेहरूका लागि नौलो होइन् । बकाइदा वैधानिक प्रक्रियाबाट ठेक्का लिएर महानगरलाई राजस्व तिर्दै आएका व्यवसायी माथि पनि महानगरका सुरक्षाकर्मीले ज्याजति गर्न थालेको व्यवसायीहरू बताउँछन् । रत्नपार्कको एक सेवा केन्द्रमा समेत सुरक्षाकर्मीले कानुन विपरीत छापा मार्ने ताला लगाउने गरेको समेत व्यवसायीहरूको गुनासो छ ।
एक व्यापारीका अनुसार यहि ज्यादतिको उदाहरण हो गड्तौलाले ठेक्का लिएर सन्चालन गरेको सेवा केन्द्रमा सुरक्षाकर्मीले गरेको तालाबन्दी । हामीसँगको कुराकानीमा नगर प्रहरी नायव उपरीक्षक जोसीले गड्तौलाको व्यवसायमा राजस्वले छापा मारेर तालाबन्दी गरेका बताएका थिए । तर महानगरीय राजस्व विभागले भने आफूले छापा नमारेको बताएको छ । बरु उल्टै गड्तौलाले सुचारु गर्न दिएको निवेदन सदर गर्दै राजस्वले के कति कारणले बन्द गरेको हो तुरुन्त जवाफ दिनु भनि सुरक्षाकर्मीलाई निर्देशन दिएको छ ।

उक्त पत्रमा भनिएको छ ‘बकाइदा बैद्यानिक प्रक्रियाबाट सुरु गरेको व्यवसायमा किन ताला लगाइएको हो कारण बताउँदै उक्त व्यवसाय सुचारु गराइदिनु ।’ तर, प्रनानी जोसीले भने आफूले ताला नलगाएको बताउँछन् । उनी भन्छन्,‘हामीले त राजस्वको निर्देशनमा ताला लगाइदिएका हौं । अहिले किन हामीलाई बलीको बोको बनाइदैँछ थाहा भएन ।’

गड्तौलाले मागे क्षतिपूर्ति
व्यवसायी गड्तौलाले भने व्यवसाय गैरकानुनी रुपमा बन्द गरिएकाले क्षतिपूर्ति पाउनुपर्ने दावी गरेका छन् । उनले महानगरको राजस्व विभागलाई निवेदन दिदैँ भनेका छन, ‘मैले रितपूर्वक महानगरसँग पाँच बर्षै सम्झौता गरेर ब्यबसाय गरेकोले मेरो व्यवसायमा भएको क्षतिपूर्ति स्वरुप महानगरपालिकाको तर्फबाट दैनिक ३ हजार ५ सयका दरले राजस्व छुट पाउँ ।’


सम्झौताको व्यवस्था मान्नै पर्छ
gyanendra-karki

ज्ञानेन्द्र कार्की,प्रवक्ता, महानगर
नवनिर्वाचीत नेतृतत्वले काम थालेसँगै महानगरको विकासले गति लिइरहेको छ । संस्थागत रुपमा कामको थालनी भएको छ । सडक व्यापारीले सडक कब्जा गर्ने क्रम घटीरहेको छ । हामीले सडक र पेटी, सत्तल, पाटी, पौवालाई सकेसम्म सर्वसाधरण मैत्री बनाउने प्रयास गरेका छौ । काठमाडौंको सुन्दरता, यहाँको धार्मीक, सास्कृतिक वैभवलाई कायम राख्ने प्रयासमा महानगर रहेको छ । जहाँसम्म राजनीतिक खीचातानी बढिरहेको कर्मचारी विभाजित रहेको भन्ने छ, यस्तो पाटो मैले देखेको छैन । हामीहरू एकमना विचार सहित अगाडी बढेका छाँै । राजनैतिक नेतृत्व र कर्मचारीसबैको एकैमत छ । हामी सबैको एउटै मान्यता छ–काठमाडौंको व्यवस्थापन, सुन्दरता, सस्कृति, संरक्षण, सहरी सेवा केन्द्रमा निश्चित समयका लागि ठेक्का लगाइएको हुन्छ । निश्चित ‘टर्म एण्ड कन्डीसन’ को आधारमा सम्झौता हुन्छ । एक पक्षले उक्त सम्झौता पालना गरेन भने अर्को पक्षले त्यस्तो सम्झौता तोड्न सक्छ । जहाँसम्म विर अस्पताल अगाडीको शहरी सेवाकेन्द्रको विषय छ यो पनि सोही अनुसार भएको हुनुपर्छ । अन्यथा भएको मान्ने कुनै आधार छैन् ।
सम्झौता विपरित भएका कुनै पनि काम महानगरलाई मान्य हुँदैन ।


जनशक्ति अभाव छ
bishnu-joshi

विष्णु जोशी,महनगर प्रहरी नायब उपरीक्षक
नगर क्षेत्रको सडक, बगैचा, पेटी र सफा र उपभोक्ता मैत्री बनाउने दायीत्व नगर प्रहरी कै हो । महानगरका बढी भीड भाड मात्र हुने क्षेत्रहरूमा नगर रक्षक २४ सै घन्टा रहन्छन् । सडक, पुल र पेटीमा हुने अतिक्रमण रोक्ने मुख्य दायित्वसहित सुरक्षाकर्मीहरूले काम गरीरहेका छन् ।

पछिल्लो समय सडक पेटी ढाकेर व्यापार गर्नेहरूलाई हामीले पूर्ण नियन्त्रण गर्न नसके पनि कम गरेका छौ । हामीसँग जनशक्तिको कमी छ । जम्मा १ सय २४ जना जनशक्तिबाट सिंगो महानगरको सु–व्यवस्था कायम गर्नु आफैमा चुनौतीपूर्ण छ । त्यसका बाबजुद् पनि विगतमा भन्दा अहिले सबैभन्दा वढी भीड भाड हुने सुन्धारा, असन, कमलाक्षी, बागवजार लगायतका क्षेत्रमा नगर सुरक्षाकर्मीले असाध्यै राम्रो काम गरेका छन् ।

काठमाण्डौमा जनताको सेवा र सुविधाका लागी नगर प्रहरी खटिएको छ । सहरी सेवाको सवालमा सम्झौता अनुरुप काम नहुदा विभिन्न समस्या आएका छन् । विर अस्पताल अगाडीको केन्द्रको विषयमा पनि सम्झौता अनुरुप काम नभएकोले राजस्वको निर्देशनमा हामीले ताला लगाएका हौ ।भित्र भएको सम्झौताका बुंदा पालन नगरीएकोले त्यहाँ ताला लागेको हो ।

पछिल्लो समय महानगरले ताला खोल्न भन्दा पनि व्यवसायी आफैले ताला लगाएका हुन । व्यवसायीले आफै ताला लगाएकोले महानगरको भन्नु केही छैन ।


व्यवसायीहरूलाई महानगरपालिका प्रहरीले निराश बनाएको छ

rishi-ram-gadtaula

ऋषिराम गड्तौला,सञ्चालक, शहरी सवारी केन्द्र
गतबर्ष नियमानुसार १३ लाख ६ हजारमा मैले ठेक्कामा पारेर चलाएको विर अस्पताल अगाडीको शहरी सेवा केन्द्रमा महानगर प्रहरीले ताला लगायो । बिना कुनै जानकारी कन ताला लगाएको भनेर नगरप्रहरी प्रमुख बिष्णु जोशिसँग सोध्दा कामनपाको मेयरले भनेर तालाबन्दि गरेको भन्ने जवाफ आयो । अनि मेयरको सचिबालयमा गएर सचिबालयका प्रमुख नमराज ढकालले पनि त्यसै भने । मेयरकोमा गएर बुझ्दा मेयरले नियमानुसार नचलेका पसलहरूलाई बन्द गर्ने तर अहिले कुनै पसललाई बिना कुनै जानकारी बन्द नगर्ने भने । राजश्वमा गएर बुझ्दा किन ताला लगाइएको हो थाहा नपाएको भन्छन् । २० दिन भन्दा बढी भैसक्यो किन ताला लगाएको हो । म जस्तो ब्यबसायीलाई नगरपालिकाका उच्च तहका कर्मचारी र महानगर प्रहरीले निराश बनाएको छ ।

(प्रस्तुत रिपोर्ट ऐक्यबद्धता मासिकको भाद्र अंकमा पनि पढ्न सकिन्छ । )


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले लोकसेवा आयोगबाट सञ्चालित लिखित परीक्षा तथा अन्तरवार्ताबाट कोशी

गलेश्वर । चैतको सुरुवातसँगै झन्डै छ महिनापछि माटो भिज्नेगरी वर्षा हुँदा खुसी भएका म्याग्दीका

काठमाडौं । निरन्तर बढ्दै आएको सुनको भाउ आजको बजारमा भने प्रतितोला ७ सय रुपैयाँले