१७ भदौं, बुटवल । नेकपा (एमाले)का उपमहासचिव विष्णु पौडेलले प्रदेश नम्बर ५ लाई विभाजन गर्ने प्रयास असफल बनाएजस्तै बुटवललाई प्रदेशको राजधानी हुन रोक्न खोज्ने प्रयासलाई पनि असफल बनाइने बताउनुभएको छ ।
बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०७४÷७५ को बजेट, नीति तथा कार्यक्रम सार्वजनिक कार्यक्रमलाई शुक्रबार यहाँ सम्बोधन गर्दै उहाँले बुटवल उपमहानगरको बजेट तथा कार्यक्रम नगरका जनताको भावनाअनुकूल आएको बताउनुभयो ।
उहाँले बुटवलका जनताको स्वस्थ्य, शिक्षा, खानेपानी विकासका पूर्वाधारलगायत बुटवलको सबैभन्दा समस्याको रुपमा रहेको अव्यवस्थित बसोबासको समस्या समाधानमा केन्द्रित भएको बताउँदै अब यसको पूर्णतया कार्यान्वयनमा जनप्रतिनिधिको ध्यान जानु जरुरी छ भन्नुभयो ।
गत साउन ३२ गतेबाट सुरु भइ भदौ ११ गते सम्पन्न नगरसभा बैठकले पारित गरेको बजेट, नीति तथा कार्यक्रम आज सार्वजनिक गरिएको हो । उप–महानगरपालिकाले आर्थिक वर्ष २०७४÷७५ का लागि रु एक अर्ब ६३ करोडको बजेट सार्वजनिक गरेको छ ।
नगरसभाले चालु आर्थिक वर्षका लागि आर्थिक एवं विनियोजन ऐनद्वारा नगर सञ्चित कोषमा व्ययभार हुने गरी रु एक अर्ब ६३ करोड ३५ लाख ७८ हजार ८ ५ रुपैंयाँको बजेट पारित गरि सार्वजनिक गरिएको हो ।
आर्थिक वर्ष ०७४÷०७५ को बजेट, नीति तथा कार्यक्रम नगर प्रमुख शिवराज सुवेदीले बजेट सार्वजनिक गर्दै नगरबासीको विकासको चाहनालाई साधन र स्रोतले भ्याएसम्म समेट्ने प्रयास गरिएको बताउनुभयो ।
बजेटमा पूर्वाधार विकास तथा सामाजिक विकास कार्यक्रमका लागि विनियोजन गरिएको कुल बजेटमध्ये क्रमागत केन्द्रीय तथा नगरस्तरीय योजना कार्यक्रमका लागि रु एक अर्ब २५ करोड ७२ लाख ९७ हजार ८०५ विनियोजन गरिएको छ । त्यस्तै सामाजिक विकास तथा अन्य लक्षित विकास कार्यक्रमका लागि कुल रु आठ करोड १२ लाख पाँच हजार विनियोजन गरिएको छ ।
सामाजिक विकास कार्यक्रमअन्तर्गत महिला विकास कार्यक्रमका लागि रु एक करोड ५ लाख रुपैंयाँ निर्धारण गरिएको छ । यसैगरी युवा तथा बालबालिका विकास कार्यक्रमका लागि सामाजिक विकासतर्फकै बजेटबाट कुल रु चार करोड ४६ लाख विनियोजन गरिएको छ ।
वि.सं.२०७४ भदौ १७ शनिवार ०३:२७ मा प्रकाशित