१८ भदौ,काठमाडौँ । लगानीबोर्ड र होङ्सी शिवम् सिमेन्ट प्रालिबीच नेपालमा सिमेन्ट कारखाना स्थापना गर्नका लागि आज परियोजना लगानी सम्झौता भएको छ ।
अर्थमन्त्री तथा लगानीबोर्डका उपाध्यक्ष ज्ञानेन्द्रबहादुर कार्की तथा नेपालका लागि चिनीया राजदुत यू होङको उपस्थितिमा सम्पन्न उक्त सम्झौतामा नेपाल सरकारका तर्फबाट लगानीबोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी र कम्पनीका तर्फबाट कम्पनीका निर्देशक÷महाप्रबन्धक लाई वेईपेङ्ले हस्ताक्षर गर्नुभयो ।
सम्झौता हस्ताक्षर कार्यक्रममा अर्थमन्त्री कार्कीले लगानी सम्झौताबाट नेपालको व्यवसायीक वातावरणबारे सकारात्मक सन्देश सम्प्रेषण भएको बताउनुभयो । उहाँले परियोजनाको कार्यान्वयनको क्रममा नेपाल सरकारको तर्फबाट आवश्यक सहयोग समयमै उपलव्ध गराउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
“परियोजना कार्यान्वयनको लागि सरकारको तर्फबाट आवश्यक सहयोग र सहजीकरणको सुनिश्चितता दिलाउन चाहन्छुु,” उहाँले भन्नुभयो ।
परियोजना लगानी सम्झौता नेपाल सरकार र कम्पनीबीचको एक करार हो । सम्झौतामा दुबै पक्षका अधिकार र दायित्वलाई स्पष्ट पारिएको छ । सो करारअन्तगर्त नेपाल सरकारले लगानीको सुरक्षा प्रत्याभुती दिँदै कम्पनीको मनोवललाई बढाएको छ । यसले परियोजना कार्यान्वयनको लागि निश्चित समयतालिका निर्धारण गरी परियोजनाको सफलताको प्रत्याभूति गर्ने कम्पनीले जनाएको छ ।
सम्झौताअनुसार कम्पनीले नवलपरासीको सिमेन्ट कारखाना स्थापनाको लागि रु ३६ अर्ब ७५ करोड लगानी गर्नेछ । कारखानाको लागि आवश्यक खानी पाल्पाको ज्यामिरेमा रहेको छ । चीनको होङसी सिमेन्ट ग्रुपको सहायक कम्पनी हङकङ रेडलायन सिमेन्ट ३ लिमिटेडको लगानी रहेको यस परियोजनामा नेपालका विभिन्न व्यवसायीक समूह रहेको शिवम् होल्डिङ्को पनि लगानी रहेको छ । दैनिक ६ हजार टन सिमेन्ट उत्पादन गर्ने सो कम्पनीले जनाएको छ ।
सो कम्पनीले सन् २०१८ भित्र उत्पादन शुरु गर्ने बताइएको छ । रासस