१८ भदौ,धनगढी । वडादशैं तथा तिहार पर्वलाई लक्षित गरी साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड सेती अञ्चल कार्यालय, धनगढीले सुदूरपश्चिम ७ नम्बर प्रदेशका सात ठाउँमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ ।
कार्यालयले कैलालीको धनगढी र टीकापुर, डोटीको दीपायल, कञ्चनपुरको भीमदत्तनगर र बेलौरी, डडेलधुरा सदरमुकाम र बैतडीको पाटनमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याइएको कार्यालयका सहायक महाप्रबन्धक केशवप्रसाद पाण्डेले जानकारी दिनुभयो ।
सुपथ मूल्य पसलबाट चिनी प्रति किलो रु ७७।५० र नून प्रतिकिलो रु १८ मा बिक्री बितरण गर्न थालिएको पाण्डेले बताउनुभयो ।
पसलबाट प्रति व्यक्तिले बढीमा चिनी छ किलोसम्म र नून पनि छ किलोसम्म मात्र खरिद गर्न सक्ने बताइएको छ ।
चिनीको बजार मूल्य धनगढीमा प्रति किलो रु ८० देखि रु ८५ र पहाडी जिल्लामा रु ९० देखि रु ९५ रहेकोमा सुपथ मूल्य पसल सञ्चालनसंगै उपभोक्ताले थोरै भएपनि राहत पाउने बिश्वास गरिएको छ ।
तराईंका धनगढी, टीकापुर, बेलौरी र भीमदत्तनगर बजारको हकमा चिनीको बजार मूल्य र सुपथ मूल्य पसलमा तोकिएको मूल्यमा त्यति धेरै अन्तर नभए पनि चिनीको बजार मूल्यलाई भने नियन्त्रण गर्ने देखिएको छ ।
पहाडी जिल्लाका उपभोक्ताले भने बजार मूल्यको तुलनामा सुपथ मूल्य पसलबाट प्रति किलोमा १०÷१२ रुपैयाँसम्म सस्तो मूल्यमा चिनी पाउन थालेका छन् ।
चाडबाडको समयमा उपभोक्तालाई राहत दिन सरकारको नीतिबमोजिम आगामी कात्तिक ९ गतेसम्म सुपथ मूल्य पसल सञ्चालनमा ल्याइएको हो । रासस