२१ भदौ, काठमाडौँ । सुरक्षित, क्रमानुगत र नियमित आप्रवास (जिसिएम)को खाकाको सम्बन्धमा नेपालको अवधारणापत्र तयार गर्ने विषयमा केन्द्रित रही बहुपक्षीय सरोकारवाला निकायहरुबीच आज बृहत छलफल भएको छ ।
श्रम तथा रोजगार मन्त्रालयले आज यहाँ आयोजना गरेको ‘आप्रवासको सम्बन्धमा बहुपक्षीय सरोकारवाला निकायहरुको राष्ट्रिय छलफल’ आप्रवाससँग सम्बन्धी विकास कार्यक्रममा साझेदार संस्था, संयुक्त राष्ट्र संघका एजेन्सी, निजी क्षेत्रका प्रतिनिधि, विभिन्न संघ÷संस्था र सरकारी निकायका प्रतिनिधिको सहभागिता रहेको थियो ।
संयुक्त राष्ट्र संघको सन् २०१६ को साधारणसभाले आप्रवास र शरणार्थीको सम्बन्धमा अन्तर्राष्ट्रिय साझेदारीको खाका तयार गर्ने प्रतिबद्धता पारित गरेको थियो । राष्ट्रसंघको सन् २०१८ मा हुने ७३ औँ साधारणसभामामा अन्तर्राष्ट्रिय साझेदारीको सो खाकालाई पारित गर्ने लक्ष्य राखिएको छ ।
सोही अनुसार विश्वभरका मुलुकहरुले आ–आफ्नो अनुकूलताको अवधारणापत्र तयार पारी राष्ट्र संघमा छलफलका लागि पठाउँदैछन् । नेपालले पनि आप्रवाससम्बन्धी झेल्दै आएका समस्या र समाधानमा केन्द्रित रहेर छलफल गरिरहेको छ ।
आप्रवाससम्बन्धी अन्तर्राष्ट्रिय फोरम ‘कोलम्बो प्रोसेस’को नेपालले अध्यक्षता गरिरहेको छ भने अर्को संस्था ‘अवुधावी डाइलग’मा पनि नेपाल सक्रिय सहभागी छ ।
कार्यक्रममा श्रम तथा रोजगार मन्त्रालयका सचिव लक्ष्मणप्रसाद मैनालीले आफ्ना मुद्दालाई बलियो रुपमा अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्ने गरी अवधारणापत्र तयार पार्ने बताउनुभयो । वैदेशिक रोजगारीमा ठूलो संख्यामा जाने नेपालजस्तो मुलुकका लागि यो कार्यसूची ठूलो सरोकारको विषय भएको उहाँको भनाइ छ ।
परराष्ट्र मन्त्रालयका सहसचिव भरतराज पौडेलले वैदेशिक रोजगारको सकारात्मक र नकारात्मक पाटोबारे नेपाल राम्रो जानकार भएकाले यस विषयमा अन्तर्राष्ट्रिय मञ्चमा हुन लागेको छलफललाई सदुपयोग गर्न सक्दो प्रयास गरिने बताउनुभयो ।
अन्तर्राष्ट्रिय आप्रवास संगठन नेपालका प्रमुख पउल आई नोर्टनले आप्रवासीहरुको प्रतिष्ठा, सुरक्षा र फाइदालाई केन्द्रमा राखेर अवधारणापत्र बनाउन आजको छलफल उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।
वि.सं.२०७४ भदौ २२ बिहीवार ०१:१८ मा प्रकाशित