Logo
१४ मंसिर २०७८, मंगलवार
     Tue Nov 30 2021
E-paper
  English Edition
   Unicode
Logo

आलुखेतीबाट जीवनस्तरमा परिवर्तन



potato

चौतारा, २३ भदौ । डेढ दशकअघिसम्म अधिकांशलाई आफ्नो जमिनबाट उत्पादित खाद्यान्नबाट वर्षदिन खान नपुग्ने जेठल गाउँमा आलुखेती गर्न थालेपछि हाल त्यहाँका बासिन्दाको जीवनस्तरमा परिवर्तन भएको छ ।

मुढेको आलुबाट चर्चा कमाएको सो गाउँमा उत्पादित आलु बिक्रीबाट मात्र वार्षिक रु छ करोड भित्रिन थालेपछि स्थानीयवासीको जीवनस्तर मात्र नभई गाउँको पहिचान नै बदलिएको हो ।

सिन्धुपाल्चोकको लिशंखुपाखर गाउँपालिका–५ जेठल दोलखाको लाँकुरीडाँडासँग जोडिएको छ । पाखो बारी र उच्च भूभाग भएकाले पर्याप्त उब्जनी नभएपछि अधिकांशलाई तीन महिनादेखि बढीमा नौ महिनासम्म मात्र खान पुग्थ्यो ।

“पहिले आफ्नो जमिनबाट उत्पादित खाद्यान्नले वर्षदिन खान पुग्दैनथ्यो”, आलु खेतीका अगुवा मकरबहादुर तामाङले भन्नुभयो, “अहिले छोराछारीलाई राम्रो शिक्षा दिन र खान लाउन मनग्य पुगेको छ । शुरुमा आलुखेती गर्दा गाउँका कसैले पनि पत्याएका थिएनन् । यसबाट मेरोमात्र नभई गाउँलेको जीवनस्तर सुधारिएको छ ।”

पैंसो कमाउने उद्देश्यले भएको जग्गा जमिन साहुलाई धितो राखी खाडी मुलुक पुगेका तामाङ अहिले गाउँकै पहिचान बदल्ने व्यक्तिका रुपमा चिनिनु भएको छ । चार वर्ष विदेशमा बस्दा ऋण तिर्न समेत नसकेका तामाङ मरुभूमिमा अन्यत्रबाट ल्याएको माटोबाट तरकारी उत्पादन गरेको देखेपछि स्वदेश फर्केर आलुखेती गर्न थाल्नुभएको हो ।

हिउँदमा गाउँका सबै जग्गा बाँझै राख्ने परम्परालाई तोड्दै अन्य गाउँलेले तामाङकै अनुशरण गर्न थालेका छन् । आलुका अतिरिक्त गाविसभरि नै मौसमी र बेमौसमी तरकारीखेती गरी अहिले स्थानीयवासीले मनग्य आम्दानी गर्न थालेका छन् । स्थानीयवासीको आग्रहमा नै मुढेस्थित शिलढुंगामा १० हजार किलो क्षमताको शीतभण्डारसमेत निर्माण भइसकेको छ ।

अन्य आलुको तुलनामा केही महँगो भए पनि स्वादिष्ट र चाँडै पाक्ने विशेषताले गर्दा मुढेको आलु काठमाडौँ समेत लोकप्रिय छ । सोही कारण अरु ठाउँको कृषकले पनि फुस्रो माटो दलेर मुढेको आलु भन्दै बिक्री गर्न थालेको पाइएको छ । त्यसैले यहाँको आलु तीन वर्षदेखि ब्राण्डेड गरिएको शिवराम श्रेष्ठ बताउनुहुन्छ ।

“पाँचदेखि ५० किलो तौलसम्मको प्याकिङ गरेको ब्राण्डेड आलु छुट्टै बिक्री गर्ने गरिन्छ”, साना किसान कृषि सहकारी संस्था जेठल शिलढुंगाका कोषाध्यक्ष लीला पाण्डेले भन्नुभयो, “ट्रेड मार्कको आलु दैनिक ५० ट्रिपसम्म बिक्री हुन्छ ।” प्याकिङमात्र नभई खुल्लासमेत आलु बिक्री हुने गरेको छ । आलु बिक्रीबाट वार्षिक रु छ करोड रकम गाउँमा भित्रिने गरेको छ ।

तामाङले सो गाउँमा २०५७ सालमा स्विट्जरल्याण्डबाट ल्याइएको रोजिता जातको आलुखेती शुरु गर्नुभएको थियो । सिन्धुपाल्चोक, दोलखा, रामेछाप र ओखलढुंगालाई सेवा प्रदान गर्ने उद्देश्यले स्विट्जरल्याण्ड सरकारले सिन्धुपाल्चोकको डाँडापाखरमा सघन पहाडी क्षेत्र विकास आयोजना (आइएचडिपी) संस्था स्थापनामा सहयोग गरेको थियो ।

विसं २०१४ मा जिरीमा गाई फार्म तथा प्राविधिक शिक्षालय स्थापना गरिएको र त्यसैलाई केन्द्रविन्दु मानेर अरु कार्यक्रम विस्तार गरेको थियो । विशेषगरी कृषि, पशुसेवा, शिक्षा, स्वास्थ्य, वन, महिला विकास र सडकलगायतका क्षेत्रमा लगानी गरेको थियो । सोही क्रममा २०३६ सालमा लामोसाँघुदेखि जिरीसम्मको ११० किमी लामो कृषि सडकका रुपमा निर्माण गरिएको हो ।

रोजिता जातको आलु अन्य गाउँमा समेत लागाउन थालिएको छ । जिल्लाको तल्लो भेगका बासिन्दा ५० को दशकसम्म आलुका लागि अरुकै भर पर्ने गरेका थिए । लेकाली भेगमा एक बाली गहुँखेती भित्रयाउन नौ महिना पर्खनुपर्ने हुँदा आलुखेती लगाउँथे । हिउँद लागेपछि एक डेढ दिनको पैदल बाटो हिँडेर तामाङ र शेर्पाहरु अन्नसँग साट्न आलुको भारी बोकेर बेँसी झर्ने गर्थे ।

जिल्लाको उच्च पहाडी क्षेत्रमा माघ र फागुनमा आलुखेती गरी असार र साउनमा भित्रयाइन्छ । तल्लो भेगमा प्रायः सबै ठाउँमा खेती गरिने र बढ्दो मागलाई दृष्टिगत गरी मेलम्ची, जलवीरे र डाँडापाखर क्षेत्रलाई पकेट क्षेत्र घोषणा गरिएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

गत वर्ष सात हजार हेक्टरमा आलुखेती गरिएकामा ६५ हजार ७५० मेट्रिक टन आलु उत्पादन भएको कृषि प्रसार अधिकृत दुर्गादत्त पन्थीले जानकारी दिनुभयो । जिल्लामा एमएस ४२, कार्डिनल, डिजिरे, कुप्रीज्योति तथा स्थानीय जातका आलुखेती गरिन्छ ।

विसं २०३० मा जेठलकै निगाँलेमा न्युक्लियर्स बीउ आलु उत्पादन केन्द्र स्थापना भएको थियो । त्यहाँ आलुको बियाँ उत्पादन गरी बेर्ना तयार गरिने गरिन्छ । तयार गरेको बेर्नालाई पुनः ड्याङमा सार्नुपर्छ । त्यसरी उत्पादित आलु पहिलो वर्ष सानो तथा अर्को वर्षदेखि मात्र ठूलो फल्ने हुँदा किसानले त्यति नरुचाएको अधिकृत पन्थी बताउनुहुन्छ ।

आव २०७३÷७४ मा देशभरि एक लाख ९५ हजार ९७२ हेक्टर क्षेत्रमा आलुखेती गरिएकामा २८ लाख ८९ हजार ७४९ मेट्रिक टन उत्पादन भएको कृषि मन्त्रालयका वरिष्ठ तथ्यांक अधिकृत रामकृष्ण रेग्मीले जानकारी दिनुभयो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले सैन्य पदका उम्मेदवारको लिखित परीक्षाको

काठमाडौं । तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र विवाद सिर्जना हुँदै गर्दा तेस्रो पंक्तिमा

काठमाडौं । गत साता निरन्तर उकालो लागेको सुनको भाउ यो साता भने ओरालो लागेको

काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले परीक्षा आवेदन भर्ने÷भराउने सम्बन्धी सूचना जारी