गैरआवासीय नेपाली संघ (एनआरएनए) साइप्रसको सातौ अधिबेशन साइप्रसको राजधानी निकोसियामा सम्पन्न भएको छ ।
सेप्टेम्बर १० का दिन सम्पन्न भएको संघको अधिबेशनले सुवास मल्ललाई पुन : अध्यक्षमा चयन गरेको छ । जसको उपाध्यक्षमा उत्सव घले, महासचिवमा अन्तेस राउत,सचिवमा तुलसा पाण्डे,सहसचिवमा कविता भण्डारी, कोषाध्यक्षमा सरिता चौधरी, महिला प्रतिनिधिमा शान्ति राई, युवा प्रतिनिधिमा बिकाश दुवाडी, महिला प्रबक्तामा नानू गोम्जा तामाङ रहेका छन् भने सदस्यहरुमा लक्ष्मी रेग्मी अधिकारी र चन्द्रा राइ सर्वसम्मतिले चयन भएका छन् ।
यसैगरी साइप्रसबाट संघको आइसीसी प्रतीनिधीमा रन्जीत कुमार महतो चयन भएका छन् ।
नेपाली राजदूतावास इजरायलका प्रथम सचिव हरिहर कान्त पौडेल प्रमुख अतिथि तथा होनोरी काउन्सुलर डा. रामजिबन पन्जियारको विशेष आतिथ्यता रहेको उक्त अधिबेशनमा निर्वाचन परिवेक्षक रन्जित कुमार महतो रहेका थिए ।
अधिबेशन कार्यक्रममा सहभागी साइप्रसमा रहेका विभिन्न संघसंगठनका प्रतिनिधिहरुले एनआरएनएको योगदानको प्रसंसा गरेका थिए ।
सोहि अवसरमा साइप्रसमा रहेका नेपाली विद्यार्थी र घरेलु कामदारको रूपमा रहेका नेपाली दिदीबहिनीको समस्याको बारेमा छलफल गरिएको थियो । नेपाली राजदूतावास इजरायलका प्रथम सचिव हरिहर कान्त पौडेलले सम्पूर्ण समस्या समाधानको लागि आफूले सक्दो पहल गर्ने बताएका थिए ।