२ असोज, राजविराज (सप्तरी) । संस्कृति,पर्यटन तथा नागरिक उडड्यनमन्त्री जीतेन्द्रनारायण देवले आज बिहान राजविराज नगरपालिकाअन्तर्गत बोरियास्थित नरेन्द्र मेमोरियल मावि मतदान केन्द्रमा मतदान गर्नुभयो ।
सो मतदान केन्द्रमा ४३४ मतदाता रहेका छन् ।
त्यस्तै जनसंख्या तथा वातावरणमन्त्री मिथिला चौधरीले पनि राजविराजस्थित बजारमा रहेको पब्लिक विन्देश्वरी उच्च मावि मतदान केन्द्रमा मतदान गर्नुभएको छ । सो मतदान केन्द्रमा एक हजार ३६४ मतदाता रहेको र मतदाता लामबद्ध भई मतदान कार्यमा सहभागी भएका छन् ।
यसैबीच हनुमाननगर कंकालनी नगरपालिका– ९ स्थित मतदान केन्द्रमा दुई पक्षको झडपले त्यहाँको स्थिति तनावग्रस्त बनेको छ ।
राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका कार्यकर्ता र उम्मेदवारबीच मतदान गर्ने विषयमा विवाद हुँदा त्यहाँको अवस्था तनाव रहेको इलाका प्रहरी कार्यालय हनुमाननगरले जनाएको छ । हाल त्यहाँ सुरक्षाको व्यवस्था कडा गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
वि.सं.२०७४ असोज २ सोमवार ०५:२८ मा प्रकाशित