कलैया, २ असोज (रासस) । बारा जिल्लामा साँझ ५ बजेसम्म ७५ प्रतिशत मतदान भएको छ ।
मुख्य निर्वाचन अधिकृत जितेन्द्र थापाका अनुसार बाराका १६ वटा स्थानीय तहको ३०३ मतदानस्थल र ४५८ मतदान केन्द्रबाट आज बिहान ७ देखि बेलुका ५ बजेसम्म जारी मतदानमा ७५ प्रतिशत मतदान भएको छ ।
दुई उपमहानगरपालिका, पाँच नगरपालिका र नौ गाउँपालिका रहेको बारामा तीन लाख ३४ हजार ७४६ मतदाताले आ–आफ्नो मतदान केन्द्रबाट शान्तिपूर्ण तरिकाले लाइनबद्ध भई मतदान गरेको जनाएको छ ।
स्थानीय प्रशासनले शान्तिसुरक्षाको राम्रो व्यवस्था गरेको हुनाले मतदाताहरु निर्धक्क भई मतदान गरेको र मतदान केन्द्रमा कुनै प्रकारको घटनासमेत नभएको कुरा प्रमुख जिल्ला अधिकारी विजयनारायण मानन्धरले बताउनुभयो ।
मतपेटिकाहरु सम्बन्धित मतदानस्थलमा आइपुगेपछि आज रातीदेखि नै मतगणना शुरु गरिने मुख्य निर्वाचन अधिकृत थापाले जानकारी दिनुभयो ।