गैरआवासीय नेपाली संघको केन्द्रीय कोषाध्यक्षमा मुछेत्र गुरुङले उम्मदवारी दिने घोषणा गरेका छन् ।
आगामी अक्टोबर १४ देखि १७ सम्म काठमाडौंको हयात रिजेन्सीमा हुन लागेको एनआरएनएको आठौं सम्मेलनका लागि गुरुङले कोषाध्यक्षमा उम्मदेवारी दिने घोषणा गरेका हुन् ।
गुरुङले कोषाध्यक्षमा आफ्नो उम्मेदवारी संघभित्र ‘आर्थिक पारदर्शिता’का लागि भएको बताएका छन् ।
एनआरएनए युकेका पूर्वअध्यक्ष समेत रहेका गुरुङले संस्था सञ्चालनमा कोष व्यवस्थापन ‘मेरुदण्ड’ हुने बताउँदै आर्थिक पारदर्शितामा आफू केन्द्रित रहने बताएका छन् ।
केही साता अघिमात्र एनआरएनए यूके अध्यक्षको जिम्मेवारी योगकुमार फगामीलाई सुम्पिएका उनको कार्यकाललाई केन्द्रिय अध्यक्ष घलेले उदाहरणीय र सफल भन्दै मुक्तकण्ठले प्रशंसा गरेका थिए । गुरुङको कार्यकालमा बेलायत शाखाले केन्द्रको निर्देशन अनुरुप आर्थिक सहयोग पठाउने देखि प्राकृतिक विपत्तिमा परेका पीडितहरुलाई सहयोग र लाप्राकमा स्वयंसेवक खटाउने कार्य प्रभावकारी रुपमा गरेको थियो ।
सामाजिक अभियन्ता समेत रहेका गुरुङ अति मिलनसार र इमान्दार मानिन्छन् । उनलाई आफ्नो कार्यकालमा धमिलिएको एनआरएनए यूके साख स्वच्छ बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको ‘क्रेडिट’ दिइन्छ । गुरुङले बेलायतमा ‘नेपाल हाउस’ को महत्वकांक्षी प्रोजेक्ट ल्याएका थिए ।
तमुधिं यूकेको कोषाध्यक्ष, उपाध्यक्ष हुँदै अध्यक्ष भएर झण्डै ९ वर्ष काम गरिसकेका गुरुङ ब्रिटिश आर्मीमा १८ वर्ष सेवा गरिसकेका छन् । १९९० यता बेलायतमा स्थायी बसोवास गरिरहेका गुरुङले ट्राभल तथा प्रोपर्टी व्यवसाय संचालन गरेका छन् ।
वि.सं.२०७४ असोज १८ बुधवार १०:०१ मा प्रकाशित