२४ असोज, इलाम (रासस) : इलामको पुवाखोलामा निर्मित पुवाखोला–१ जलविद्युत् आयोजनाको निर्माण कार्य सम्पन्न भई विद्युत् उत्पादन शुरु भएको छ ।
इलाम नगरपालिका र देउमाई नगरपालिका बीचमा पर्ने पुवाखोलाबाट चार मेगावाट क्षमताको सो आयोजनाले निर्माण सम्पन्न गरेर २.८ मेगावाट विद्युत् उत्पादन थालेको हो । उक्त आयोजनाले असोज पहिलो सातादेखि परीक्षण उत्पादनसमेत शुरु गरिसकेको आयोजनाका प्लान्ट मेनेजर रमाकान्त देवले जानकारी दिनुभयो ।
उक्त आयोजना रु ७२ करोडको लगानीमा निर्माण सम्पन्न भएको आयोजनाका परियोजना प्रबन्धक उत्तम थापाले बताउनुभयो । पुवाखोलाको पानीलाई सदुपयोग गरी विद्युत् उत्पादनका लागि आयोजनाले शान्तिडाँडाबेंसीमा इन्टेक निर्माण गरी लामो पाइपलाइनबाट विद्युत् गृहसम्म पानी पु¥याएको छ । १०८ मिटर हेड रहेको पेनस्टक पाइपबाट विद्युत् गृहमा विद्युत् उत्पादन गरिएको हो ।
विद्युत् गृहदेखि उत्पादित विद्युत्लाई गोदकको सबस्टेसनसम्म ल्याएर राष्ट्रिय प्रसारणमा जोड्नका लागि ६.५ किलोमिटर प्रसारण लाइन निर्माण भइसकेको जनाइएको छ ।
पुवाखोला–१ हाइड्रोपावर कम्पनीको प्रवद्र्धनमा सम्पन्न आयोजनाका लागि सिद्धार्थ बैंक र सिटिजन बैंकले लगानी गरेका छन् । पुवाखोला–१ हाइड्रोपावर निर्माण भएसँगै इलाममा जलविद्युत् आयोजनाको सङ्ख्या आठ पुगेको छ । ती आयोजनाबाट हाल जिल्लामा ७५ मेगावाट विद्युत् उत्पादन भइरहेको छ । (रासस)
वि.सं.२०७४ असोज २४ मंगलवार १५:१६ मा प्रकाशित