
२५ असोज, पर्वत । गैरआवासीय नेपाली संघ (एनआरएन) राष्ट्रिय समन्वय परिषद रुसले पर्वतको एक गाउँलाई एम्बेुलेन्स प्रदान गरेको छ ।
एनआरएनए रुसले पर्वतको पश्चिममा रहेको बिहादी गाउँपालिका वडा नं ३ स्थित रानीपानी स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण गरेको हो । बिरामी बोक्ने एम्बुलेनस नहुँदा विरामीहरुको अकालमै मृत्यु हुने समस्यालाई मध्यनजर गर्दै एनआरएनए रुसले एम्बुलेन्स प्रदान गरेको हो ।
अस्पताल नै नपुगी अकालमा ज्यान गुमाउनुपर्ने विकट गाउँको बाध्यता अन्त्यका लागि अध्ययन, व्यापार र बैदेशिक रोजगारको सिलसिलामा प्रवासमा रहेका नेपालीहरुले रकम जुटाएर स्वास्थ्य संस्थालाई एम्बुलेन्स प्रदान गरिएको एनआरएन रुसका अध्यक्ष रामेश्वर गौतमले जानकारी दिनुभयो । एम्बुलेन्स गउँपालिकाले व्यवस्थापन गरी मानवीय सेवाअन्तर्गत सञ्चालनमा ल्याईने जनाईएको छ ।
आइतबार एक कार्यक्रमबीच पर्वत क्षेत्र नं २ का सांसद विकास लम्साल, एनआरएनका संस्थापक अध्यक्ष उपेन्द्र महतो,एनआरएन रुसका अध्यक्ष रामेश्वर गौतमलगायतको टोलीले रानीपानी स्वस्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण गरेका थिए ।
एम्बुलेन्स प्राप्त भएपश्चात स्थानीयहरुको धेरै वर्षदेखिको माग र आवश्यकता पुरा भएको तथा आकस्मिक विरामीहरुका लागि समयमा नै अस्पताल पु¥याउन सहज हुने रानिपानी स्वास्थ्य चौकीका अध्यक्ष सुर्य बहादुर थापाले बताउनुभयो ।
एम्बुलेन्स सेवा संचालन सँगै दक्षिण पर्वतको विहादि गाउँपालिका अन्तर्गत रानीपानी, बर्राचौर, वहाकी, उरामपोखरा तथा पैंयु गाउँपालिकाका बासिन्दा लाभान्वित हुने भएका छन् । उक्त क्षेत्रका बासिन्दाहरु सामान्य उपचारका लागि पनि स्याङ्जा, पाल्पा तथा पोखरा पुग्नु पर्ने बाध्यता रहेको छ ।
एम्बुलेन्स खरिदका लागि एनआरएन आइसीसी सदस्य गोविन्द प्रसाद गौतमको संयोजकत्वमा समिति बनेको थियो । गाउँमा विरामीहरु अस्पताल पुग्न नपाएकै कारण अकालमा ज्यान गुमाउन बाध्य भएपछि गौतमले एनआरएन रुसको बैठकमा एम्बलेन्स खरिदका लागि प्रस्ताव राखेका थिए । उनको प्रस्तावलाई अनुमोदन गर्दै बैठकले एम्बुलेन्स हस्तान्तरण निर्णय गरेको थियो ।
गैरआवासीय नेपाली संघ रुसले स्थापनाकालदेखि नै देशका विभिन्न गाउँमा विभिन्न समाजिक काम गर्दै आएको छ ।