
मोटरसाइकल दुर्घटनामा परि घाइते भएका पूर्वबक्सर खेलाडी अनिल गुरुङलाई आर्थिक सहयोग गरिएको छ ।
खेलकुद मन्त्री राजेन्द्र कुमार (राजन) केसी तथा एनआरएनए मकाउका पूर्वअध्यक्ष तथा एवंम चेम्बर अफ कमर्श मकाउका सुदर्शन थापामगरले संयुक्त रुपमा गुरुङलाई ८० हजार १ सय रुपैयाँ हस्तान्तरण गरेका हुन् । उक्त रकम थापाको पहलमा मकाउमा रहेका नेपालका पूर्व बक्सरबाट रकम संकलन गरिएको थापाले जानकारी दिएका छन् ।
दसौं साग विजेता गुरुङको उपचारका लागि यसअघि पनि मकाउमा रहेका पूर्वबक्सर खेलाडीहरुले १ लाख २ हजार २७५ रुपैयाँ आर्थिक सहयोग गरेका थिए । दोश्रो चरणमा पनि उनीहरुले ८० हजार १ सय रुपैयाँ आर्थिक सहयोग गरेका हुन् ।
उक्त सहयोग रकम हस्तान्तरणपछि चेम्बर अफ कर्मश मकाउका अध्यक्ष सुदर्शन थापाले देशको गौरव बढाएका तथा नेपाली गर्व गर्ने काम गरेका खेलाडीलाई सहयोग गर्ने सबैमा धन्यवाद तथा आभार व्यक्त गरेका थिए ।
उक्त रकम हस्तान्तरण कार्यक्रममा खेलकुद राज्यमन्त्री तेजुलाल चौधरी, तेक्वान्दो पूर्व खेलाडी राजीव मर्हजन, नेपाल आर्मीका मेजर सागर शम्सेर थापा र काठमाडौं जिल्ला तेक्वान्दो कार्यसमितिका कोषाध्यक्ष बब्लु सिवाकोटीलगायतको सहभागीता रहेको थियो ।
गुरुङले यस किसिमको सहयोगले पुन : बक्सिङमै जीवन बिताउन आफूलाई उत्साहित गरेको बताउँदै सहयोगी सबैमा धन्यवाद व्यक्त गरेका थिए ।