२० कात्तिक, बैतडी । आपूर्ति मन्त्री तथा राप्रपाका महामन्त्री राप्रपाका जयन्तबहादुर चन्दले लोकतान्त्रिक शक्ति एक हुनुको विकल्प नरहेको बताएका छन् ।
लोकतान्त्रिक गठबन्धनले बैतडीको शिवनाथ गाउँपालिकाको हिरापुरमा आइतबार आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्र्दै उनले लोकतन्त्रको रक्षाका लागि लोकतान्त्रिक शक्ति एक हुनुको विकल्प नभएको बताएका हुन् ।
मन्त्री चन्दले लोकतन्त्रको रक्षाका लागि काँग्रेस र राप्रापाको चुनावी तालमेल भएको धारणा व्यक्त गर्दै उनले लोकतन्त्र सुदृढ गर्न लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई जिताउन मतदाताहरूलाई आग्रह समेत गरे ।
यस्तै सोही कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै वाणिज्य राज्यमन्त्री एवं लोकतान्त्रिक गठबन्धनबाट बैतडीमा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार नरबहादुर चन्दले बैतडीको समग्र विकासका लागि आफूले पहल गर्ने बताए । नेपाली काँग्रेसको नेतृत्वमा संविधान निर्माण भएको र संविधान कार्यान्वयनका लागि पनि काँग्रेसकै नेतृत्व आवश्यक रहेको समेत दावी गरे ।
प्रदेश नं ७ को एक मात्र जिल्ला बैतडीमा मात्रै काँग्रेसले राप्रपासँग चुनावी तालमेल गरेको छ । बैतडीमा लोकतान्त्रिक गठबन्धनका तर्फबाट प्रतिनिधि सभा सदस्यका लागि काँग्रेस नेता तथा वाणिज्य राज्यमन्त्री नरबहादुर चन्द उम्मेदवार बनेका छन् भने प्रदेश सभाका लागि बैतडी ‘क’ मा नेपाली काँग्रेसका हरिमोहन भण्डारी र ‘ख’मा राप्रपाका गणेश चन्द चुनावी मैदानमा रहेका छन् ।
वि.सं.२०७४ कात्तिक २० सोमवार ०३:१८ मा प्रकाशित