२१ कात्तिक, काठमाडौं । ईटलियन फुटबल आईकन तथा अमेरिकी फुटबल क्लब न्युयोर्क एफसीका खेलाडी आन्द्रे पिर्लोले व्यवसायिक फुटबलबाट सन्यास लिने घोषणा गरेका छन् । ३८ वर्षिय ईटलियन मिडफिल्डरले यो सिजनको अन्त्यमा आफ्नो बुट थन्क्याउने घोषणा गरेका हुन् ।
ईटलियन क्लब ब्रसियाबाट व्यवसायिक खेल्न सुरु गरेका पिर्लोले ईटलियन शीर्ष क्लबहरु ईन्टर मिलान, एसी मिलान तथा युभेन्ट्स हुदै दुई सिजन पहिला एमएलएस क्लब न्युयोर्क सिटीमा अनुबन्धित भएका थिए ।
उनले आफ्नो व्यवसायिक खेल जीवन अन्त्य गर्ने समय आएको बताएका छन् । उनले ट्वीट गर्दै भनेका छन् ‘मलाई खेल्ने अवसर दिने सबै क्लवलाई धन्यबाल दिन चाहन्छु र हरेक टिममेट जोसँग मैले खेल्न पाएँ उनीहरुप्रति कृतज्ञ छु ।’
— Andrea Pirlo (@Pirlo_official) November 6, 2017
पिर्लोको उत्कृष्ट प्रर्दशनको मदतमा ईटलीले सन् २००६ मा विश्वकपको उपाधि जितेको थियो ।
पिर्लोले सन् २००३ देखि २०११ सम्म एसी मिलानलाई दुई पटक सिरिए, दुई पटक च्याम्पियन्स लिग र एक पटक क्लव विश्वकपको उपाधी दिलाउन महत्वपूर्ण भूमिका खेलेका थिए । त्यस्तै सन् २०११ देखि २०१५ सम्म चार वर्ष युभेन्टसले लगातार सिरी ए को उपाधि दिलाउँदा उनी टिमका प्रमुख खेलाडी थिए । सन् २०१५ मा युभेन्ट्सलाई च्याम्पियन्स लिगको फाईनलमा पु¥याउन समेत महत्वपुर्ण भुमिका खेलेका थिए ।
उनलाई विश्वकै उत्कृष्ट फ्रि किक टेकरको रुपमा समेत लिईने गर्दछ । फुटबलबाट सन्यास लिएपछि उनी ईङलिश क्लब चेल्सीको सहायक प्रशिक्षकको रुपमा चर्चा गर्न थालिएको छ । उनले युभेन्ट्सका पुर्व प्रशिक्षक तथा वर्तमान चेल्सीको प्रशिक्षक एन्टोनियो कोन्टेको सहायक प्रशिक्षकको रुपमा काम गर्न लागेको गोल डटकमले जनाएको छ ।
वि.सं.२०७४ कात्तिक २१ मंगलवार ०४:१६ मा प्रकाशित