Logo
१४ मंसिर २०७८, मंगलवार
     Tue Nov 30 2021
E-paper
  English Edition
   Unicode
Logo

चक्रीय धौलागिरिको फन्को मार्दै बाह्य पर्यटक



dhaulagiri

२१ कात्तिक, बेनी, म्याग्दी । विश्व प्रसिद्ध पदमार्ग चक्रीय धौलागिरिमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढ्न थालेको छ ।

धौलागिरि गाउँपालिकाको मुदीमा अवस्थित हिमालको आरोहण तथा अवलोकन भ्रमणमा दैनिक तीनदेखि पाँचवटा समूहमा पर्यटक भ्रमणमा आउने गरेका इलाका प्रहरी कार्यालय दरवाङका प्रहरी नायब निरीक्षक दयाराम पौडेलले जानकारी दिनुभयो ।

लामो पदयात्रा बाह्य पर्यटकको रोजाइमा पर्ने गरेको छ । असोजमा ११२ विदेशी पर्यटक धौलागिरि आधार क्षेत्रतर्फ गएका पौडेले बताउनुभयो ।
सदरमुकाम बेनीहँुदै सिँगा तातोपानी, बाबियाचौर, दरवाङ, ताकम, मुदी तथा दरवाङ, बिम, खिवाङ, बगरहँुदै धौलागिरि आधारशिविर जाने गरेका छन् ।

म्याग्दीहँुदै गएका अधिकांश बाह्य पर्यटक धौलागिरि पदयात्रा पूरा गरी मुस्ताङको मार्फा, टुकुचे, बागलुङको ढोरपाटन, डोल्पा जाने गरेका प्रहरी नायब निरीक्षक पौडेल बताउनुहुन्छ । इलाका प्रहरी कार्यालयले यात्रामा निस्किएका पर्यटकको नियमित जानकारी लिने र समस्यामा परेकाको उद्धारका लागि स्थानीय पर्यटन व्यवसायीसँग सहकार्य गर्ने गरेको छ ।

चक्रीय धवलागिरि जैविक, सांस्कृतिक विविधता, हिमशृृंखलाको अवलोकन, जनजातीको संस्कार र पदमार्गका साथै ग्रामीण जनजीवन, आदिवासी मगर, छन्त्याल जातीको रहनसहन, पक्षी, जंगली जनावर, तालतलैया, छहरा आदीको दृष्याअवलोकनका साथै धौलागिरि हिमाल आरोहण गर्न पाउनु पर्यटकका मुख्य आकर्षण हुन । पदयात्राको क्रममा विभिन्न बस्तीमा स्थानीयवासीको स्वागत तथा सहयोगले समेत पर्यटकलाई उत्साहित बनाउने गरेको छ ।

जोखिमपूर्ण मार्गमा स्थानीयवासीले यात्रामा सहयोग गर्ने गरेका छन् । धौलागिरि गाउँपालिकाले पदमार्गलाई व्यवस्थित बनाउने योजना थालेको गाउँपालिकाका उपप्रमुख रेशम छन्त्यालले बताउनुभयो । “पर्यटक आकर्षित गर्न पूर्वाधार चाहिन्छ,” उहाँले भन्नुभयो । पर्यटकका कारण स्थानीयवासीको आयआर्जनमा सहयोग पुगेको छ । हिमाल आरोहणमा बाह्य पर्यटकले स्थानीय मजदुरको प्रयोग गर्ने गरेका छन् ।

धौलागिरि आधार क्षेत्रमा आउने पर्यटकको यात्रा १७ देखि २२ दिनसम्मको हुन्छ । पदयात्रामा आउनेमा अधिकांश जर्मनी, फ्रान्स र क्यानडाका नागरिक रहेका छन् । शरद र वसन्त ऋतुमा धौलागिरि हिमालको आरोहण गर्ने गरिएको छ ।

हवाईमार्गबाट समेत आधार क्षेत्रमा पुगिन्छ । लामो यात्रा गर्न नसक्ने र छोटो समयका लागि आएका पर्यटकले हेलिकप्टर चार्टर गरेर समेत धौलागिरि पुग्ने गरेका छन् । चक्रीय धौलागिरिमा मंसिरदेखि फागुनसम्म अरु बेलाभन्दा चहलपहल कम हुन्छ । वर्षेनी करिब १० हजारको हाराहारीमा बाह्य पर्यटक धौलागिरि हिमालको फन्को मार्छन् ।

‘मायालु डाँडा’ पर्यटकीयस्थल बन्दै

‘मायालु डाँडा’ जिल्लाकै आकर्षक पर्यटकीयस्थल बन्दै गएको छ । सदरमुकाम बेनीबजारदेखि करिब आधा घण्टाको दुरीमा रहेको मायालु डाँडा (लब्लीहिल) मा हिजोआज आन्तरिक तथा बाह्य पर्यटकको भीड लाग्ने गरेको छ ।

बेनी नगरपालिका–२, खबरामा रहेको मायालु डाँडामा रेलिङ, गोलघर, खाजाघर लगायतका पूर्वाधार निर्माण गरिएपछि पर्यटकको आकर्षण बढेको हो । खबरा गाउँ नजिकै रहेको ‘खाराको डाँडो’ अहिले लभ्लीहिल बन्न पुगेको छ ।

बेनीबजार नजिकै रहेको मायालु डाँडामा दिनहुँजसो आन्तरिक पर्यटकको चहलपहल रहन्छ । मायालु डाँडाबाट बेनीबजार आकर्षक देखिन्छ । यहाँबाट चारैतिरको सुन्दर दृश्य अवलोकन गर्न सकिन्छ । पछिल्लो पटक यहाँ समूह बनाएर आउनेको संख्या अत्यधिक छ ।

“पुर्वाधारको विकास गर्न सके पर्यटकलाई आकर्षित गर्न सकिन्छ,” म्याग्दी बहुमुखी क्याम्पसका प्राध्यापक गोविन्द शर्माले भन्नुभयो ।

मायालु डाँडा खासगरी युवायुवतीकाबीच भेटघाट स्थलका रुपमा परिचित छ । यहाँ पुग्न पदमार्गको निर्माण गर्नुपर्ने बेनीका बासिन्दा रमेश गिरी बताउनुहुन्छ । मायालु डाँडाबाट बेनीबजार, गलेश्वर, पौलस्त्य आश्रम, पुलाचौर, भकिम्लीको स्वर्गाश्रम, पर्वत बेनी र मल्लाजलगायतका क्षेत्र देख्न सकिन्छ । यहाँबाट उत्तरी पर्वतको जलजला गाउँपालिकासहित धौलागिरि, अन्नपूर्ण हिमाल तथा सूर्योदय र सूर्यास्तकोसमेत मनमोहक दृश्य देख्न पाइन्छ । बेनी बजार आसपासका क्षेत्रबाट बग्ने म्याग्दी र कालीगण्डकी नदीको समेत अवलोकन गर्न सकिन्छ ।

मायालु डाँडालाई आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्नेगरी गन्तव्यस्थलका रुपमा विकास गरिनुपर्ने जिल्लाका पर्यटन व्यवसायीले भनाइ छ । गत आवमा रु १२ लाखको लागतमा गोलघर, रेलिङ र बस्नका लागि बेन्चलगायत पूर्वाधारको निर्माण गरिएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेपाली सेनाले अमल्दार कर्मचारी (खुला तथा समावेशी) पदका उम्मेदवारहरुको शारीरिक परीक्षाको नतिजा

काठमाडौं । तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र विवाद सिर्जना हुँदै गर्दा तेस्रो पंक्तिमा

काठमाडौं । गत साता निरन्तर उकालो लागेको सुनको भाउ यो साता भने ओरालो लागेको

काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले परीक्षा आवेदन भर्ने÷भराउने सम्बन्धी सूचना जारी