
२२ कात्तिक, काठमाडौँ । वार्सिलोनाका फरवार्ड लुईस सुआरेजले लिभरपुलका अट्याकिङ मिडफिल्डर फिलिपे कौतिन्होको वार्सिलोनाबाट व्यवसायिक फुटबल खेल्ने ठुलो सपना रहेको बताएका छन् । स्पेनिश न्युज पेपर मुन्डो डिर्पोटभोलाई अन्र्तवार्ता दिदैँ वार्सिलोनाका स्ट्राईकर सुआरेजले पटक पटक वार्सा आउन चाहना व्यक्त गरेको बताएका छन् ।
सुआरेज र कौतिन्होले सन् २०१४ १५ को सिजनमा लिभरपुलबाट खेलेका थिए । सन् २०१५ मा लिभरपुलबाट वार्सिलोना आएका सुआरेजको कौतिन्होसँग राम्रो सम्बन्ध रहेको छ ।
गत सिजनको गृष्मकालीन ट्रान्सफर विन्डोमा वार्सिलोनाले कौतिन्होलाई किन्न पटक पटक विड गरेको थियो । तर अन्तमा लिभरपुलले कौतिन्होलाई नबेच्ने बताएपछि उनी लिभरपुलमा रहेका थिए । कौतिन्होले समेत वार्सिलोनामा अनुबन्ध हुन आफ्नो क्लब लिभरपुललाई ट्रान्सफरको लागि अनुरोध समेत गरेका थिए । वार्सिलोनाले कौतिन्होलाई भेट्रान मिडिफिल्डर आन्द्रेस इनिएष्टाको दीर्घकालीन प्रतिस्थापक खेलाडीको रुपमा लिदैँ आएको छ ।