
२५ कात्तिक, एजेन्सी । चारपटकको विश्वविजेता ईटली सन् २०१८ को विश्वकपमा छनोट हुने सम्भावना कमजोर बन्दै गएको छ । हिजो राति भएको विश्वकप छनोट प्ले अफ अन्तर्गतको पहिलो लेग अन्तर्गतको खेलमा स्वीडेनसँग १ ० गोल अन्तरले पराजित भएसँगै ईटलीको विश्वकप छनोटको सम्भावना कमजोर बन्दै गएको हो । स्वीडेनको जितमा सब्स्टीच्युट खेलाडी जाकोब जोन्सनले एक मात्र गोल गरे ।
विश्वकपमा छनोट हुनको लागि आगामी हप्ता हुने खेलमा ईटलीले कम्तीमा पनि २ गोल अन्तरले हराएको खण्डमा मात्र ईटलीले विश्वकपमा स्थान बनाउने छ ।
हारसँगै ईटलीका प्रशिक्षक जिआन पिएरो भेन्टुराको सर्वत्र आलोचना भएको छ । सुरुआती एघारमा प्रभावशाली खेलाडी नखेलाएको भन्दै भेन्टुराको आलोचना भएको हो ।
ईटली सन् १९७० पछि निरन्तर रुपमा विश्वकपमा छनोट हुदैँ आएको छ ।