
रामेछाप डडुवा–५ का राङदान तामाङ, कृषिबाटै देशलाई धनी बनाउने अठोटका साथ उत्पादनमा लागेका छन् । २१ वर्षे लामो ड्राइभिङ अनुभव सँगालेका तामाङ आफूलाई किसानै भन्न रुचाउँछन् । डेढ वर्षे सहपरिचालकको कामपछि २०४९ बाट काठमाडांैमा ड्राइभिङको काम सुरु गरेका तामाङ हिमाल हाइड्रो हुँदै २०५७ सालदेखि हिमाल पावर लिमिटेडमा ‘हेभि भेइकल ड्राइभर’ को रुपमा कार्यरत छन् । नर्वेजियन प्रोजेक्ट खिम्ती जलविद्युत आयोजनामा काम गर्ने तामाङको कमाइ राम्रै छ । उनी सँगै काम गर्ने साथीहरुले काठमाडांैमा महल ठड्याईसकेका छन् ।
चाहेको भए उनी पनि राजधानी काठमाडौमा महल ठड्याउन सक्थे । तर उनको चाहना र इच्छा भौतिक सम्पत्ति जोड्ने नभई एक उत्पादक र असल कृषक बन्ने थियो । यहि इच्छाले उनलाई रामेछापको पखेरा डडुवा–५ मा लगानी खन्याउन रुचि जाग्यो । भाडाको १० रोपनीसहित ७० रोपनी जग्गामा ‘सैलुङ एग्रिकल्चर प्रोडक्सन प्रा.लि.’ दर्ता गरी उनले कृषि उत्पादन सुरु गरेका छन् । बाँझो जग्गामा पैसा नफसाउन सुझाव दिने उनका साथीहरुले उनलाई “पैसा भएको बुद्धि नभएको मुर्ख मान्छे” पनि भने । तर उनले यसलाई चुनौतीको रुपमा लिए लिँदै भनिदिए “आगामी ३ वर्षभित्र मैले गरेर देखाउँछु । ”
घरघडेरीमा लगानी गर्दा १ को दुई नाफा हुने साथीहरुको सल्लाहलाई नकार्दै गाउँका बाँझो जग्गाहरु खनजोत गरी कृषि उत्पादन थालेका उनले स्थानीयलाई समेत रोजगारी दिएका छन् । भन्छन् “आफूमात्र नभई राष्ट्रलाई पनि टेवा पूर्याउने मेरो लक्ष्य हो । ”
करिब ५० लाखको लगानीमा सुरु गरेको कृषि फर्ममार्फत करोडौं भन्दा बढि आम्दानी लिने उनको लक्ष्य छ । उनी भन्छन् “देशकै औंलामा गनिने कृषकहरुको सूचिमा पर्न चाहान्छु र अब म विश्वस्त पनि छु कि मेरो लगानी खेर जाँदैन ।” ।
रामेछापको दोरम्बा हत्याकाण्ड भएको सिमानासँगै पर्यटकीय क्षेत्र सैलुङको नजिकै उनको फर्म रहेको छ । उनको फर्मसम्मै बाटो गएको छ । निकै हराभरा र कामको सिजनमा ठूलो चहलपहल देखिने उनको फर्म निकै रमणीय पनि छ । उनको फर्ममा हाल ३० रोपनीमा किवी, ५ रोपनीमा चियाको नर्सरी, २५ सय बोट (झाङ) अलैंची, लोडसल्ला(क्यान्सरको उपचारमा प्रयोग हुने जडिबुटि), बङ्गुर फर्म(४०–५० वटा) छन् । ठूला बङ्गुर थपघट भइरहन्छन् । रामेछापकै फुलासी गाविस–४ मा पनि उनले सुन्तला, कागती, किवी, काउली लगायतको नर्सरी सुरु गरिसकेका छन् । त्यस्तै डडुवा–२ मा अर्को १० रोपनी भाडाको जग्गामा किवीको नर्सरी लगाएका छन् ।
सुगन्धवाल, पदमजाल, ठूलो ओखती लगायत सुत्केरी महिला र ज्यान दुखेका बेला खाने औषधी तथा जडिबुटिहरु, लेमन ग्रास(नेपाली चिया), लगायत पनि उनले लगाएका छन् ।
नेपालमा थोरै मेहनतबाट धेरै आम्दानी गर्न सकिने फल किवी पाइएकाले उनले फलफूलमा किवीलाई रोजेको बताए । जलस्रोतको दोस्रो धनी र जडिबुटिको तेस्रो धनी देश भनिने नेपालमा जडिबुटिमा पनि प्रशस्त सम्भावना भएकाले उनले फर्ममा जडिबुटि पनि थपेका हुन् ।
नेपालमा ३० वर्ष पहिला भित्र्याइएका हेवार्ड, ब्रुनु, एलिसा, रेट लगायतका चार किसिमका किवीहरु उनको फर्ममा पाउन सकिन्छ । सुरुमा २५ बोट किवीका विरुवा किनेर लगाएका उनले हाल आँफैले बीउ खरिद गरेर नर्सरीमा किवीको विरुवा उत्पादन गरेका छन् । साथै आफ्नै बारीमा फलेका पहिलो लटका किवीफलबाट पनि बीउ जमाई विरुवा तयार पारेका छन् । हाल उनको फर्ममा २५० वटा किवीका बोट छन् ।
राज्यले सहरदेखि दुरदराजका किसानसम्म सहज अनुदानको व्यवस्था गरेमा कृषिमार्फत अर्थतन्त्रमा ठूलो टेवा पुग्ने उनले बताए । कृषि कम्पनी र फर्महरु खोलिएका देशका विभिन्न कुना–कप्चामा कृषि सडक निर्माण र उत्पादनमा लागेका किसानलाई सम्मान तथा उत्पादनमा थप उत्साह र उत्प्रेरणा थपिदिने काम पनि राज्यले गर्नुपर्ने उनको ठम्याई छ । राज्यले कृषि नीति राम्रो बनाउनुपर्ने भन्दै अब बन्ने नयाँ संविधान कृषिमैत्री र कृषकमूखी हुनुपर्ने र किसानहरुको उत्पादन अभियानमा सबै दलहरुको ऐक्यबद्धता र हातेमालोको आवश्यक रहेको पनि बताए । कृषि व्यवसायीकरणको अभियानमा सक्रिय अष्ट ज जस्तो संस्थामा समाहित हुँदै कृषकका पक्षमा संघर्ष गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे ।
राङदानलाई ‘राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार’
किसानलाई कृषि व्यवसायमा प्रोत्साहन गर्ने उद्देश्यले कृषि विकास मन्त्रालयले २०७३ साल साउनमा पाँच किसानलाई “राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार”बाट सम्मानित गरेको थियो । त्यसमध्ये उत्कृष्ट कृषक पुरस्कार पाउनेमा रामेछापका राङदान तामाङ थिए । उनले मध्यमाञ्चलबाट सो पुरस्कार प्राप्त गरेका हुन् ।सर्वाेत्कृष्ट किसानको सम्मान पाउनेमा कास्कीका इमानबहादुर गुरुङले सर्वोत्कृष्ट कृषक पुरस्कार प्राप्त गरेका थिए भने झापाकी देवीकुमारी ओली (दाहाल), बर्दियाका शर्मा चौधरी र कैलालीका विनोदकुमार शाहले उत्कृष्ट कृषकको रुपमा सम्मानित भएका थिए । सर्वाेत्कृष्ट पुरस्कार प्राप्त गर्ने गुरुङलाई २ लाख नगद सहित प्रमाणपत्र दिइएको थियो भने राङदानसहित उत्कृष्ट कृषकलाई जनही १/१ एक लाख सहित प्रमाणपत्र प्रदान गरेको थियो ।
राङदानले डढुवा २, रामेछापका तामाङले एकीकृत व्यवसायिक कृषि/पुशपालनका साथै १ सय ५१ रोपनी क्षेत्रफलमा व्यवसायिक खेति गरेका छन् । उनले पशुपालनमा १० रोपनी, ७० रोपनीमा सिञ्चित अलैंची, २५ रोपनीमा चिया÷कफिका ४० हजार विरुवा उत्पादन, १० रोपनीमा किवी नर्सरी तथा ४० रोपनी क्षेत्रफलमा किवी फल उत्पादन र घाँस खेति गरेका छन् भने २५ वटा हेम्पसायर बंगुर तथा ३० वटा जमुनापारी बाख्रासमेत पालन गरेका छन् ।
राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार प्राप्त गरेका राङदान रामेछापलाई चियाको केन्द्र बनाउने प्रयास गर्ने प्रतिबद्धता व्यक्त गर्दछन् । कृषि मन्त्रालयबाट उत्कृष्ट कृषकको रूपमा सम्मानित हुन पाउँदा अत्यन्तै खुसी छु । नेपालमा व्यवसायिक किवि खेती गरी त्यसबाट नै पहिचान बनाउने मेरो उद्देश्य हो । १ सय ५० रोपनी जग्गामा व्यवसायिक कृषि गरेको छु । अहिले १५ सय बोटमा किवी फल्न लागेको छ । मलको लागि बाख्रा र बंगुर पालेको छु । त्यत्तिमात्र नभइ सिमसारमा अलैंची लगाउनुका साथै ४० हजार भन्दा बढी अलैंचीको विरुवा उमार्न लागेको छु । ६ लाख भन्दा बढी चियाको विरुवा लगाउने सोंच बनाएको छु । सरकारले साथ दिएको खण्डमा इलामको जस्तै चिया फ्याक्ट्री खोली रामेछापलाई पनि चियाको केन्द्रको रूपमा परिचित गराउने प्रयासमा छु ।
वि.सं.२०७४ मंसिर ८ शुक्रवार ०९:३३ मा प्रकाशित