११ मंसिर, दमौली, तनहुँ । यही मंसिर २१ गते प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि तनहुँमा गोलाप्रथाद्वारा मतदान अधिकृत छनोट गरिएको छ ।
जिल्लाको क्षेत्र नं १ र २ का सबै मतदान केन्द्रमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृत गोलाप्रथाद्वारा छनोट गरिएको सहायक निर्वाचन अधिकृत एवं तनहुँ जिल्ला अदालतका स्रेस्तेदार विश्वनाथ अर्यालले बताउनुभयो ।
तनहुँ क्षेत्र नं १ का लागि १३४ जना मतदान अधिकृत र त्यति नै सहायक मतदान अधिकृत तथा क्षेत्र नं २ का लागि १३१ जना मतदान अधिकृत र त्यत्ति नै सहायक मतदान अधिकृत छनोट गरिएको हो उहाँले भन्नुभयोे ।
मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी, जिल्ला निर्वाचन अधिकारीको रोहवरमा गोलाप्रथाद्वारा मतदान अधिकृत र सहायक मतदान अधिकृत तोक्ने काम भएको हो । निष्पक्षरूपमा कर्मचारी परिचालन गर्ने उद्देश्यले यसपटक गोलाप्रथाबाट मतदान र सहायक मतदान अधिकृतको टुंगो लगाइएको हो ।
तनहुँ जिल्लामा १३६ स्थानमा २६५ वटा मतदान केन्द्र रहेका छन् । जसमध्ये तनहुँ क्षेत्र नं १ मा १३४ र क्षेत्र नं २ मा १३१ वटा मतदान केन्द्र पर्छन् । ती मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई छिट्टै निर्वाचनसम्बन्धी अभिमुखीकरण तालीममा सहभागी गराइने जिल्ला निर्वाचनको कार्यालय तनहुँले जनाएको छ ।