१८ मंसिर, खोटाङ । चार महिनादेखि कतारमा अलपत्र पर्नुभएकी खोटाङ बास्पानीकी एक युवतीलाई स्वदेश फर्काइएको छ ।
कतारको दोहास्थित सफिर क्लिनर कम्पनीमा कार्यरत केपिलासगढी गाउँपालिका–३ बास्पानीकी मनराखी राईलार्ई खोटाङ सेवा समाज कतारको सहयोगमा स्वदेश फर्काइएको हो ।
कम्पनीले निरन्तर काम लगाए पनि कम्पनी मालिकले चार महिनादेखि तलब नदिएपछि उहाँलाई कतारदेखि नेपालसम्मको एकतर्फी हवाई टिकट उपलब्ध गराएर स्वदेश फकाईएको समाजका द्धितीय उपाध्यक्ष रुद्र शर्मा आचार्यले बताउनुभयो । पाउनुपर्ने बाँकी तलब उपलब्ध गराउन पटकपटक माग गर्दा पनि कम्पनी मालिकले वास्ता नगरेपछि मनराखीले श्रम अदालतमा उजुरी दिनुभएको थियो ।
अदालतमा उजुरी परेपछि कम्पनी मालिक सम्पर्कविहीन बनेपछि मन राखी विचल्लीमा पर्नुभएको थियो । कम्पनीबाट लामो समयसम्म तलब नपाउँदा समस्यामा परेपछि उहाँले सहयोगका लागि खोटाङ सेवा समाजसमक्ष सहयोग माग्नुभएको थियो ।
पैसा कमाउने सपना बोकेर २७ महिना अघि कतार पुग्नुभएकी मनराखी खाली हात नेपाल फर्कनुभएको छ । ऋण काँढेर कतार पुग्नुभएकी उहाँ उल्टै अलपत्र बनेपछि परिवारको सपना भताभुंग भएको छ ।
वि.सं.२०७४ मंसिर १८ सोमवार १०:१७ मा प्रकाशित