२३ मंसिर, काठमाडौं । नेकपा माओवादी केन्द्र वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले नयाँशक्ति नेपालका संयोजक नेता डा.बाबुराम भट्टराईलाई बधाइ दिएका छन् ।
गोरखा २ बाट वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका श्रेष्ठले गोरखाका मतदाताको निर्णयलाई शिरोधार्य गरेको बताउँदै विजयीका निम्ति नेपाली कांग्रेससहितको लोकतान्त्रिक गठबन्धन र नयाँशक्ति नेपालबाट उम्मेदवार बनेका डा. बाबुराम भट्टराईलाई हार्दिक बधाई दिएका छन् ।
श्रेष्ठले फेसबुक लगायतका सामाजिक सञ्जालमा लेखेका छन् ‘गोर्खा २ का आदरणीय मतदाताको निर्णय लाई शिरोधार्य गर्दै बिजयका निम्ति डा.बाबुराम भट्टराई लाई हार्दिक बधाई । निर्बाचनमा मलाई समर्थन र सहयोग गर्नुहुने मतदाता, बामगठबन्धनका नेता–कार्यकर्ताहरु,आफन्तजन,शुभेच्छुकहरु सबैलाई आभार तथा धन्यवाद ।’

अत्यन्तै चासोको रुपमा हेरिएको गोरखाको निर्वाचन क्षेत्र नं २ को मत परिणाममा झण्डै ५ हजार मतले नयाँशक्तिका संयोजक डा. बाबुराम भट्टराईले अग्रता कायम गरेका छन् ।
जम्मा ६० हजार मत खसेको गोरखाको क्षेत्र नं २ को मत गणना जारी छ । डा भट्टराई विजयोन्मुख रहेका छन् । मतगणनाका क्रममा भट्टराईले २७ हजार २ सय बढी भोट ल्याउँदा श्रेष्ठले २२ हजार ३२३ मत प्राप्त गरेका छन् । अब बाँकी झण्डै ९, हजार ५ सय हजार मत गणना गर्न बाँकी रहँदा श्रेष्ठले चुनावी प्रतिश्प्रधी तथा पूर्व सहकर्मी डा. भट्टराईलाई बधाइ दिएका छन् ।
वि.सं.२०७४ मंसिर २३ शनिवार ११:०९ मा प्रकाशित






























