३ पुस,सुरुङ्गा, झापा : झापाका छुट्टाछुट्टै स्थानमा आज भएको सवारी दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको बिर्तामोड सडकखण्डमा आज दिउँसो भएको सवारी दुर्घटनामा परी बिर्तामोड नगरपालिका–२ निवासी २६ वर्षीय वासुदेव अधिकारीको मृत्यु भएको हो ।
जिल्ला ट्राफिक कार्यालय झापाका अनुसार पूर्वबाट पश्चिम आउँदै गरेको मे ४ प २८१५ नंको मोटरसाइकलले पैदलयात्री भारत सीतामडीका १८ वर्षीय मोहमद नेबुलाई ठक्कर दिएको थियो ।
ठक्करपछि अनियन्त्रित भएको मोटरसाइकललाई विपरीत दिशाबाट जाँदै गरेको कारले किच्दा मोटरसाइकल चालक अधिकारीको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा संलग्न कार फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।
यता मोटरसाइकलको ठक्करबाट घाइते भएका नेबुको विर्तासिटी अस्पतालमा उपचार भइरहेको बताइएको छ ।
यसैबीच, झापाको मेचीनगरस्थित मेची पुलमा आज दिउँसो भारतीय मालवाहक ट्रकको ठक्करबाट अर्जुनधारा नगरपालिका–१ निवासी १८ वर्षीय मनोज भुजेलको मृत्यु भएको इलाका प्रहरी कार्यालय काकँडभिट्टाले जनाएको छ ।
भारतबाट नेपालतर्फ आउँदै गरेको एनएल ०५ बी ४०१३ नंको भारतीय मालवाहक ट्रकले सोही दिशातर्फ आइरहेको मे २ प १७८१ नंको मोटरसाइकलमा सवार भुजेललाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । यता प्रहरीले भारतीय ट्रक र चालकलाई नियन्त्रणमा लिएको छ ।