
अष्ट्रेलियाको मेलवर्नमा निर्माण हुन लागेको नेपाली सामुदायिक भवन निर्माणका लागि गैरआवासीय नेपाली संघका निबर्तमान अध्यक्ष अष्ट्रेलियाका सफल ब्यबसायी एवं परोपकारी ब्यक्तित्वहरु शेष घले र जमुना गुरुङले २ लाख ८८८ डलर प्रदान गर्ने प्रतिबद्धता जाहेर गरेका छन् ।
‘अष्ट्रेलियाको बहुसांस्कृतिक समाजमा नेपाली संस्कृति एवं पहिचानलाई स्थापित गर्न यो सामुदायिक भवनले निकै ठूलो महत्व राख्ने मैले विस्वास लिएको छु । यसले अष्ट्रेलियामा नेपाली समाजको एकता र सम्बृद्धिलाई समेत झल्काउने छ ।’
उक्त रकम घोषणा गर्ने क्रममा घलेले भने । सामुदायिक सम्पत्ति सिर्जना गर्ने काममा हरेक ब्यक्तिको सकृयता र अपनत्व हुनुपर्छ भन्नेमा आफुले सधै विस्वास राख्ने गरेको भन्दै घलेले गैरआवासीयनेपाली संघको नेतृत्व गर्दा पनि सोही मान्यतालाई स्थापित गरेको बताए ।
सामुदायिक भवन निर्माण गर्न आर्थिक सहयोग जुटाउने उदेश्यले मेलवर्नमा आयोजना गरिएको महापुराण कार्यक्रमको उदघाटनदेखि समापनसम्ममा तीन दिनसम्म गएर महापुराणस्थलमा पुराण श्रवणमा समय दिंदै समापनका दिन उनीहरुले सो रकम दान गर्ने घोषणा गरेका हुन् । नेपाली सामुदायिक भवन निर्माणका लागि यति ठूलो रकम दान दिइएको नेपाली डायस्पोरामा सम्भवतः यो पहिलोपटक हो ।
यसअघि सप्ताहको तेश्रो दिन भिक्टोरियाका लागि अवैतनिक महावाणिज्यदूत चन्द्र योञ्जन र लक्ष्मी बाट १ लाख डलरको प्रतिबद्धता जाहेर गरिएको थियो भने
त्यसभन्दा अघि सबैभन्दा ठूलो प्रतिबद्धता यस उद्धेस्य प्राप्तीका लागि स्थापितसंस्था अस्ट्रेलियन नेप्लिज मल्टिकल्चरल सेण्टरका अध्यक्ष डा चन्द्र दीपक
पोखरेल र श्रीमती पोखरेलले कार्यक्रमको दोश्रो दिन २६,५०० डलरको प्रतिबद्धता जाहेर गरेका थिए ।
झण्डै साढे दुई दशकदेखि मेलवर्नमा ब्यबसाय गरिरहेका घले दम्पत्तिले सफल उद्यमी एवं परोपकारी ब्यक्तित्वको रुपमा आफूलाई स्थापित गरेका छन । उनीहरुको पहलमा नेपालको स्वास्थ्य एवं शिक्षा क्षेत्रमा काम गर्नेगरी एक अर्ब रुपैयाँको एमआईटी फाउण्डेसनसमेत स्थापना भएको छ ।
पशुपतिनाथ र स्वयम्भुनाथको मन्दिरसमेत अटाउने गरी बनाउन लागिएको नेपाली सामुदायिक भवन निर्माणका लागि मेलवर्नमा रहेका नेपाली समुदायले सकृयतापूर्वक सहयोग प्रदान गरेका छन् ।
समापनका दिनसम्म महापुराणबाट झन्डै १.१ मिलियन डलरको प्रतिबद्धता जाहेर भएको छ र महापुराणभन्दा पहिलाको समेत गरी जम्मा रकम १.४ मिलियन डलर पुगेको जानकारी कार्यक्रमको समाप्तीका अबसरमा दिइयो । योसंगै अबनेपाली सामुदायिक भवन निर्माण प्रकृया तिब्र गतिमा अगाडि बढ्नेछ ।