back
CTIZAN AD

विदेशमा दुःख भोगेका कटुवालको कुखुरापालनबाट करोडपति बन्ने लक्ष्य

वि.सं.२०७४ माघ २ मंगलवार

873 

shares

२ माघ, गाईघाट, उदयपुर  । अहिले धेरै नेपाली युवा विदेशमा पैसा कमाउन गए पनि सोचेजस्तो पैसा कमाइ नभएपछि धेरै दुःख पाएर विदेशको अनुभवले स्वदेशमा नै धन कमाउन विभिन्न पेशा गर्ने क्रम बढ्दो छ ।

यस्तै नेपाली युवामध्येका एक उदयपुरको कटारी नगरपालिका– २ गुँरासे बस्ने विष्णु कटुवाल पनि साढे तीन वर्षसम्म मलेसियामा बसेर पनि सोचे जस्तो कमाइ नभएपछि अहिले आफ्नै गाउँमा आएर कुखुरा फारम खोलेर करोडपति बन्ने लक्ष्यका साथ अगाडि बढिरहेका छन् ।

२०५५ सालमा आफ्ना बुबा मेखबहादुर कटुवाल तत्कालीन माओवादी जनयुद्धमा लागेको र २०५६ सालदेखि नै बुबा अहिलेसम्म पनि बेपत्ता भएको र घरको आर्थिक अवस्था कमजोर बनेका कारण आफू २०६६ सालमा १९ वर्षका उमेरमा नै मलेसिया गएको स्वयं विष्णु बताउँछन् ।

मलेसियामा ३३ महिना एक सुपरमार्केटमा सेल्समेनको काममा लागेको र दैनिक १८ घण्टा काम गर्दा पनि राम्रो तलब नपाएपछि आफू कम्पनी छाडेर अवैधानिक १३ महिना बसेको र सो समयमा धेरै दुःख पाउनु परेको कटुवाल बताउँछन् ।

बल्ल साहुको विदेश गएको रु डेढलाख ऋण तिरेर बाँकी रु ३० हजार लिएर स्वदेश फर्केपछि गाउँमा नै केही पेशा गरौँ भनेर २०७० सालदेखि रु एक लाख ऋणको लगानीबाट कुखुरापालन शुरु गरेका र अहिले रु १८ लाखभन्दा बढीको चारवटा कुखुरा फारम सञ्चालन गर्दै आएको कटुवाल बताउँछन् ।

अहिले आफ्ना चारवटा कुखुरा फारममा पाँच हजारसम्म कुखुरा रहेको र दैनिक आम्दानी रु १०÷१५ हजार हुँदै आएको कटुवालको दाबी छ ।

कटुवाल भन्छन्, “मलेसिया बस्दा धरानको एकजना साथीसँग त्यहाँको दैनिक दुःख सहनु परेपछि स्वदेशमा नै गएर दुःख गर्ने प्रण गरेर नै दुवै फर्केपछि अहिले धरानको साथीले समेत ठूलो कुखुरा फारम सञ्चालन गर्दै आएको र आफू पनि अबको चार वर्षभित्र उदयपुर जिल्लाकै एक नम्बर ठूलो कुखुरा फारम उद्यमी बन्ने लक्ष्य छ ।” अबको चार वर्षपछि वार्षिक करोडको कुखुरा बिक्री गर्ने लक्ष रहेकोसमेत कटुवाल बताउँछन् ।

अहिले आफू चारपाँच लाख ऋणमा रहेपनि रु २० लाख बराबरको पूँजीको विकास गरिसकेको दाबीसमेत कटुवालको रहेको छ । यही क्रममा आफ्नो दिनानुदिन व्यवसाय बढ्दै गए आफू सजिलै करोडपति बन्ने दाबीसमेत कटुवालले गरेका छन् ।

अहिले सञ्चालन हुँदै आएका आफ्ना चारवटा फारमबाहेक अब अन्य चारवटा नयाँ फारमसमेत थपेर सञ्चालन गर्ने तयारी भइरहेको कटुवाल बताउँछन् ।

नयाँ फारम सञ्चालन गर्न जग्गा पनि भाडामा करार सम्झौता भइसकेको र फारम निर्माण गर्न शुरु गरिसकेका कारण अब वैशाखदेखि पहिलोपटक नयाँ फारममा दुई हजार ५०० कुखुराको बच्चा हाल्ने योजना रहेको कटुवाल बताउँछन् ।

२०७८ सालसम्ममा आफूले एक दर्जनभन्दा बढी फारम सञ्चालन गर्ने र जिल्लाकै एक नम्बर कुखुरापालक उद्यमी बन्ने लक्ष्यका साथ अगाडि बढेका कटुवालले अहिले गाउँका दुईजना युवालाई समेत रोजगार दिन सफल भएका छन् ।

आफू बेपत्ता परिवारको भएको र राज्यले समेत अहिलेसम्म बेवास्ता गरेको, विदेशमा पनि सोचेजस्तो कमाइ गर्न नसकिएका कारण अब आफूले केही गर्नुपर्छ र अरुलाई पनि रोजगारी तथा स्वरोजगार बनाउने बाटो देखाउनु पर्छ भनेर यो पेसामा लागेको धारणा कटुवालको छ ।

अब विदेशमा आफूहरु जस्तो साधारण लेखपढ गर्ने र कुनै प्राविधिक ज्ञान नजान्ने युवाको रोजगारी गर्ने दिन सकिएका कारण आफैँले स्वदेशमा रोजगार सिर्जना गर्नुपर्ने कटुवालको अन्य युवालाई समेत सल्लाह र सुझाव छ ।

कटुवाल भन्छन्, “सामान्य पढलेख र काम नजान्नेको विदेश जाने दिन सकिए, विदेशमा गएपनि १८ घण्टा काम लगाउँछ, काम नजान्ने भनेर हेप्छ र तलब थोरै दिन्छ ।”

बरु विदेशमा गएर हेपिनुभन्दा स्वदेशमा गर्वका साथ कुनै स्थायी पेशा अगाल्न सके नै आफूहरु जस्ता युवाको कल्याण हुने समेत कटुवालको धारणा छ । अहिले आफूले अँगालेको कुखुरापालन पेशा निकै कठिन भएको पनि कटुवाल बताउँछन् ।

कटुवाल भन्छन्, “कहिलेकाहीँ कुखुरा मर्ने गर्दछन्, घाटा ब्याहोर्नु पर्छ, कुखुरापालनका लागि राज्यले बीमाको व्यवस्था गरेको छैन, यसको लागि सहुलियतमा ऋण पनि राज्यले व्यवस्था नगर्दा यो पेशा निकै चुनौतीपूर्ण रहेको छ, तर पनि आफ्नै आँटले लागिपरेको छु ।”

कटुवालको कुखुरापालन पेशाबाट गाउँका धेरै अन्यसमेत प्रभावित भएको स्थानीय सन्तोष कार्कीको भनाइ छ । कार्की भन्छन्, “बेपत्ता परिवारको टुहुरो युवा भएर पनि विदेशको भुक्त भोगाइले कटुवालले गाउँमा आएर अहिले यस क्षेत्रकै प्रख्यात कुखुरापालक बन्न सफल भइसके ।”

कटुवालकै अर्का छिमेकी राजन राउत पनि कटुवालले अहिले कुखुरापालन पेशाबाट अन्य युवालाई पनि विदेशभन्दा स्वदेशमा नै केही गर्नुपर्छ भन्ने कुराको सन्देश दिएको बताउँछन् ।

आफ्नो फारमको कुखुरा स्थानीय बजारदेखि कटारी बजारसम्म बिक्री हुने गरेको र अबको तीन वर्षभित्र जिल्लाका ठूलाठूला सबै बजारमा आफ्नो फारमको पहँुच पु¥याएर एक नम्बर कुखुरापालक उद्यमी बन्दै करोडपति बन्ने स्वप्नका साथ कटुवाल अहिले कुखुरापालनमा आबद्ध रहँदै आएका छन् ।

गुराँसेवासी भन्छन्, “कटुवालले यही रफ्तारमा अगाडि बढे केही वर्षभित्र नै जिल्लाको ठूलै कुखुरा फारम सञ्चालनकर्ता हुने अवस्था छ, कटुवालको कमाइको भविष्य राम्रो छ ।”

स्वयं कटुवाल भने यसो भन्छन्, “आफू मात्र उद्यमी बन्ने हैन, अरुलाई पनि बन भन्ने सल्लाह र सुझाव दिने आफ्नो लक्ष्य छ, आफूले अबको दिनमा गाउँका दर्जनौँ आफूजस्ता युवालाई आफ्नो फारममा रोजगार दिनेसमेत लक्ष्य छ ।”

वि.सं.२०७४ माघ २ मंगलवार ०६:१३ मा प्रकाशित

हरित क्रान्तिदेखि दिगो कृषि रूपान्तरणसम्म : विश्व अनुभव र नेपालको सम्भावना

हरित क्रान्तिदेखि दिगो कृषि रूपान्तरणसम्म : विश्व अनुभव र नेपालको सम्भावना

विश्व इतिहासमा कृषि उत्पादन वृद्धिका दृष्टिले “हरित क्रान्ति” (Green Revolution)...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

नेपालमा कृषि प्रसार र स्थानीय तहमा यसको महत्त्व

नेपालमा कृषि प्रसार र स्थानीय तहमा यसको महत्त्व

नेपाल एक कृषि प्रधान देश हो। यहाँको जनसंख्याको ठूलो हिस्सा...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...