
२ माघ, काठमाडौ । मिथिला कलामा उदयीमान नारी कलाकार सुनैना ठाकुर मिथिला कला लिएर काठमाडौं आएकी छन् ।
बबरमहल स्थित आर्ट काउन्सीलमा सोमबारदेखि सुरु भएर शुक्रबार सम्म चल्ने उनको एकल कला प्रदर्शनी नेकपा माओवादी केन्द्रको वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले उद्घाटन गरेका हुन् ।
उद्घाटन कार्यक्रममा प्रमुख अतिथि रहेका श्रेष्ठले सुनैनाको कलामा प्रतिभाको राम्रो अभिव्यक्ति मात्र नभएर जीवनदृष्टि पनि अभिव्यक्त भएको बताएका थिए । उनले मिथिलाकला संस्कृतिलाई चित्रकला मार्फत बाहिर ल्याउने काम मात्र नभएर मिथिला कलाशैलीलाई चित्रमा प्रयोग गर्दै प्रेम, माया, स्नेह, सामाजिक राजनीतिक अधिकार, महिलामुखी, समान विकास, धर्मनिरपेक्षता लगायतलाई आफ्नो कलामा चित्रण गर्न सुनैना सफल भएको बताए ।
श्रेष्ठले सुनैनाको यस्तो कार्यलाई सम्बन्धीत संघ संस्था तथा राज्यले पनि कला प्रोत्साहनको विकासमा सहयोग गर्नुपर्ने समेत बताए ।
एकदशक देखि कलाकारिता क्षेत्रमा लाग्दै आएकी जनकपुर जलेश्वरकी सुनैनाले कलामार्फत मधेशको आवाजलाई केन्द्रसँग जोड्ने अभिलाषा बोकेर काठमाडौंमा कला प्रदर्शन गरिएको बताउँदै आफूमात्र नभएर समग्र महिलाको शसक्तिकरणका लागि कलामार्फत आफू लागिपरेको बताइन् ।
यसअघि ग्रुपएक्जिविसनमार्फत आफ्ना कला प्रदर्शन गरिसकेकी सुनैनाको यो प्रदर्शन काठमाडौंमा दोश्रो र एकल प्रदर्शनी पहिलो रहेको बताइन् । यसअघि उनले पोखरा, जलेश्वर, महोत्तरी, काठमाडौंको भृकुटी मण्डप, नयाँ दिल्ली, जनकपुर, दिल्लीको ललितकला एकाडेमीमा ग्रुप एक्जिविसन अफ मिथिला आर्टस २०१७ र २०१६ मा अमेरिकामा सोलो एक्जिविसन सम्पन्न गरेकी छन् । त्यहाँ उनले अर्वाड समेत प्राप्त गरेकी थिइन् ।
सुनैनाले मिथिला कलाले विश्वमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको बताउँदै अमेरिका, जापान, क्यानडा, श्रीलंका, भारत, अष्ट्रेलिया लगायतका युरोपियन देशमा यसको माग रहेको र मिथिला कलाको विस्तार र विकासका लागि प्रचार प्रसार आवश्यक रहेको समेत बताइन् ।
झण्डै ९० जनाको हाराहारीमा आफूजस्तै महिला दिदीबहिनीलाई चित्रकलाको तालिम दिइसकेकी सुनैनाले कला कोरिसकेपछि मधेशमा त्यसको व्यवसायिक बजार निर्माण गर्न नसकेको बताइन् ।
विशेष गरेर समानताका कुरा झल्किने उनको चित्रमा महिला पुरुषमा समानता रहेमात्र दुवैको लक्ष्य पूरा हुने सुनैनाले बताइन् । उनले लोप भइसकेको मिथिलाका ग्रामिण कला संस्कृतिलाई उजागर गर्ने अभियानमा आफू लागेको भएपनि कहिकतैबाट सहयोग नपाएको बताइन् ।
गाउँका महिलाहरुलाई अगाडि बढाउन नसकेको भन्दै दुःख मनाउ गरेकी सुनैनाले सरकार तथा सम्बन्धीत संघसंस्थाले महिला सशक्तिकरणका लागि विशेष भूमिका निर्वाह गर्नुपर्ने समेत बताइन् ।