back
CTIZAN AD

पर्यटक आगमनमा चौँतिस प्रतिशतले वृद्धि

वि.सं.२०७४ माघ ९ मंगलवार

921 

shares

९ माघ, मुस्ताङ । हिमाली पर्यटकीय जिल्ला मुस्ताङको भ्रमणमा आउने पर्यटकको संख्या ३४.४९ प्रतिशतले बढेको छ ।

सन् २०१६ को तुलनामा सन् २०१७ मा पर्यटक आगमन बढेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को जोमसोमस्थित इलाका कार्यालयले जनाएको छ ।

सन् २०१७ मा ५२ हजार ४७५ पर्यटकले मुस्ताङको भ्रमण गरेका कार्यालयका प्रमुख तुलसी दाहालले जानकारी दिनुभयो । उपल्लो मुस्ताङको भ्रमणमा जाने पर्यटकको संख्या चार हजार ११५ जना रहेको छ ।

सन् २०१६ मा ३९ हजार १७ तथा सन् २०१५ मा २५ हजार २७२ पर्यटकले जिल्लाको भ्रमण गरेका थिए । शान्ति सुरक्षाको अवस्था राम्रो, राजनीतिक स्थिरता, यातायातको सहज पहुँच तथा प्रचारप्रसारका कारण भ्रमणमा आउने आन्तरिक र बाह्य पर्यटक वर्षेनी बढ्दै गएको दाहालले बताए ।

भारत, चीन, अमेरिका, बेलायत, फ्रान्स, नेदरल्याण्ड, दक्षिण कोरिया, क्यानडा, न्यूजिल्याण्ड, इजरायललगायत देशका पर्यटक जिल्लाको भ्रमणमा आउने गरेका छन् । अन्नपूर्ण चक्रिय पदमार्गअन्तर्गत पर्ने जिल्लामा प्राकृतिक सुन्दरता, पृथक् भूवनोट, हिमाली जीवन शैली, मुक्तिनाथ मन्दिर, दामोदर कुण्ड, माटोको शहरका रूपमा परिचित लोमान्थाङ, पूर्वमुस्ताङी राजदरबार, मुक्तिनाथ, थोराङ्ला झञ्ज्याङ, मार्फा, ठिनी, कागबेनीलगायत थुप्रै पर्यटकीयस्थल रहेका छन् ।

मरुभूमि जस्तै भूगोलको पृष्ठभूमिमा देखिने हिमाल, साहसिक पदयात्रा, थकाली, गुरुङ, लोवा (विष्ट) जातिको जीवनशैली, गुम्बा र गुफाहरू यहाँको पर्यटकीय आकर्षण हुन् । पर्यटकको आवागमन बढेसँगै जिल्लाका होटल तथा पर्यटन व्यवसायी उत्साहित बनेका छन् ।

एक्यापले जिल्ला भित्रिने बाह्य पर्यटकको जोमसोम र कागबेनीमा तथ्याङ्क संकलन गर्दै आएको छ । म्याग्दी, मुस्ताङ, कास्की, लमजुङ र मनाङलाई समेटिएको अन्नपूर्ण संरक्षण क्षेत्रको भ्रमण गर्न सार्क राष्ट्रका नागरिकले प्रतिव्यक्ति रु २०० र अन्य मुलुककाले प्रतिव्यक्ति रु दुई हजारका दरले शुल्क तिर्नुपर्छ ।

उपल्लो मुस्ताङको भ्रमणका लागि विदेशी नागरिकले अध्यागमन विभागबाट अनुमति लिनुपर्छ । बढीमा १० दिनका लागि प्रतिदिन ५०० डलरका दरले राजश्व बुझाएपछि विभागले भ्रमणका लागि अनुमति दिने गर्छ । मुस्ताङलाई लोन्ली प्लानेटले सन् २०१७ मा विश्वका घुम्नै पर्ने १० स्थानमा सूचीकृत गरेको थियो । म्याग्दी, पोखरा, काठमाडौँ, भैरहवालगायत ठाउँबाट मुस्ताङका लागि यातायात सेवा सञ्चालनमा छ ।

वि.सं.२०७४ माघ ९ मंगलवार १२:०१ मा प्रकाशित

रैथाने खानाको प्रवर्द्धनमा सेफ गजुरेललाई पाककला गौरव सम्मान

रैथाने खानाको प्रवर्द्धनमा सेफ गजुरेललाई पाककला गौरव सम्मान

नुवाकोट ।  नेपाली पाककला क्षेत्रका अग्रणी व्यक्तित्व सेफ मोहन बहादुर...

रैथाने खाना जोगाउने अभियान: स्वाद, स्वास्थ्य र पर्यटन जोड्न साझा पहल

रैथाने खाना जोगाउने अभियान: स्वाद, स्वास्थ्य र पर्यटन जोड्न साझा पहल

काठमाडौं । रैथाने खानाको प्रवर्द्धन गर्ने उद्देश्यसहित “रैथाने खाना प्रवर्द्धन...

कालीगण्डकीमा ‘र्‍याफ्टिङ’ सञ्चालन

कालीगण्डकीमा ‘र्‍याफ्टिङ’ सञ्चालन

म्याग्दी । पोखराका पर्यटन व्यवसायीहरूले आन्तरिक पर्यटकलाई लक्षित गरी कालीगण्डकी नदीमा...

नेपाल ऊनी फेल्ट उत्पादक तथा निर्यातक संघको १७औँ साधारण सभा सम्पन्न

नेपाल ऊनी फेल्ट उत्पादक तथा निर्यातक संघको १७औँ साधारण सभा सम्पन्न

काठमाडाैँ । नेपाल ऊनी फेल्ट उत्पादक तथा निर्यातक संघ (एनडब्लुएफपीईए)...