
ठूलो सानो भनी हुन्न क्षमता अर्थ राख्दछ
ज्यानले कमिला साना हात्ती तर्सेर भाग्दछ
जस्तो वर्षा सिद्धिएर आकाश हुन्छ कञ्चन
त्यस्तै ‘पीडामुक्त’ हुन्छ रोए मानिसको मन
बुझेको विज्ञ मान्छेले पर्गेली धारणा दिने
आधा गाग्री छचल्केझैँ स्वल्पज्ञानी हतारिने
सबै आफ्ना सबै प्यारा भएमा पासमा धन
चल्न छाडे हातगोडा बिरानो बन्छ आँगन
आत्मविश्वासले मान्छे ठडिन्छन् जगले घर
अल्प आहार जाती हो ‘अल्पविद्या’ भयङ्कर
बुहारी बन्दछिन् सासू छोरो बाबु पनि बन्यो
हो पक्कै फेरिने गर्छ भूमिका व्यक्ति पात्रको
शक्तिशाली हुँदा सासू गर्दथिन् जो बुहार्तन
पेल्न थाले बुहारीले एक्लिन्छन् थाल्दछन् रुन
‘जोड्नेहरू’ भने थोरै ‘भत्काउनेहरू’ बढी
फेरियो अहिले लाग्यो विद्वता जाँचिने कडी
भाँडा वा गहना बन्छन् धातु खाएर ठक्कर
छिनाको चोट खाए पो देवता बन्छ पत्थर
उफ्रिन्छन् गर्जिई आफैँ मान्दैनौ भन्दछन् डर
बिरालो देखिए भाग्छन् मुसाको जात कातर
देवता हुन् बुबाआमा,हो आफ्नै घर मन्दिर
बालबच्चा जहाँ हुन्छन् स्वर्ग पुग्ने उतैतिर
अज्ञानले सबै हाम्रा धारणा भिन्न गर्दछ
अँघ्यारोमा झट्ट हेर्दा डोरी नै सर्पतुल्य छ
धेरै खाए नजाती हुन् खाद्य यी गुलिया जति
उपदेश मिठा हुन्नन्, स्वादिलो हुन्न ओखती
अविवेकीहरू जोड्ने ‘ब्रह्मास्त्र’ बन्छ भाषण
बाघको खोल ओढेका स्यालको चल्छ शासन
छन्दः अनुष्टुप्