१२ माघ,सल्लेरी, सोलुखुम्बु । बुङमा फैलिएको अज्ञात रोग इन्फ्लुन्जा ए भाइरस एचथ्री को संक्रमण भएको पुष्टि भएको छ ।
उपचार शुरु गरिएको दुई दिनसम्म बिरामीको सुधार नभएपछि गत शनिबार नमुना संकलन गरी महामारी रोग तथा नियन्त्रण महाशाखा काठमाडौँ लगिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा मिंमारछिरिङ शेर्पाले बताए ।
महाकुलुङ गाउँपालिका–२ बुङमा करिब ३०० बालबालिकासहित अभिभावक एकैसाथ बिरामी परेका थिए । गाउँले सबै बिरामी भएपछि शिविर नै खडा गरी उपचार गरिएको थियो ।
बुधबारसम्म ५५० बिरामीको उपचार गरिएको उपचारमा संलग्न डा सन्डु शेर्पाले जानकारी दिएका छन् । बिरामीमध्ये १० बालबालिका र छ अभिभावकको खकार संकलन गरी परीक्षणका लागि काठमाडौँ पठाइएको थियो ।
सो भाइरस विशेषगरी रोगी सुँगुर तथा कुखुराको ¥याल, सिंगान तथा मासुको सम्पर्क भएको खण्डमा मानिसमा सर्ने डा शेर्पाले बताए । भाइरलकै कारण ९० प्रतिशत बालबालिका बिरामी भएपछि पेल्माङ आधारभूत विद्यालय बन्द गरिएको थियो । भाइरल नियत्रणमा आएसँगै बुधबारदेखि नै विद्यालयको पठनपाठन सञ्चालनमा आएको विद्यालयका प्रअ टंकबहादुर दाहालले जानकारी दिए ।
वि.सं.२०७४ माघ १२ शुक्रवार १४:३० मा प्रकाशित






























