मनभरिको माया
आँखाभरिको सपना
मारेर तिमीले भन्यौ
माइली !
समय बदलिएको छ
उल्लास र आसाहरु बदलिएका छन्
सुनसान जहाँ बेमत्लवी हिसाब हुन्छ
हो यही बेला
मेरो देश दुःखेको छ
मेरो भेष दुःखेको छ
मेरो नाम दुःखेको छ
तिम्रो काम र दाम दुःखेका छन्
मेरो मेचीदेखि काली दुःखेको छ
तिम्रो चप्पलदेखि सारी दुःखेको छ
मेरो टिष्टा र काँगडा
सतलज् र ब्रह्मपुत्र दुःखेको छ
तिमीलाई तिम्री आमा र सन्तान दुःखेका छन्
हो माइली !
तिमी उही म उही
समय बदलिएको छ
मेरो घण्टाघर दुःखेको छ
मेरो धरहरा दुःखेको छ
मेरो धरातल
हिमाल,पहाड र तराई दुःखेका छन्
तिम्रो घर, थर, गाई, माई र दाइहरु दुःखेका छन्
अनि
आमा र सानीमाहरु दुःखेका छन्
यो बेला पनि
मिम्रो र मेरो दुःखाइ फरक छ
हो माइली !
तिमी उही म उही
समय बदलिएको छ
मेरो देशको सुगन्धित्
फूलको बासना हराउन सक्छ
बगैंचामा हत्याकाण्ड मच्चिएको छ
त्यसैले
तिम्रो र मेरो जिम्वेवारी फरक छ
झञ्झट बराबरी होलान्
आसा र अभिलासा फरक होलान्
त्यसैले गुनासो नगर
माइली !
तिमी उही म उही
समय बदलिएको छ
इति
वि.सं.२०७४ माघ १६ मंगलवार ०३:११ मा प्रकाशित





























