मगर संघ बेलायतले धुर्मुस सुन्तली फाउन्डेशनलाई आर्थिक सहयोग गरेको छ ।
जनवरी २८ का दिन मगर संघ बेलायतUHSB साखाले फान्ब्रोमा रहेको मगर संघको आफ्नै भवनमा आयोजना गरेको मगरहरुको राष्ट्रिय पर्व माघे संक्रान्तिको समिक्षा बैठकमा उक्त आर्थिक सहयोगको घोषणा गरिएको हो ।
साखाका अध्यक्ष लेख रानाको अध्यक्षतामा बसेको बैठक बिर बलालको सन्चालन, उपाध्यक्ष श्रीमती हेमा रानाको स्वागत मन्तव्य तथा कोषाध्यक्ष हिरा पुनद्धारा संघको आय\व्यय प्रस्तुत गरिएको उक्त बैठकमा कार्यसमिति सदस्यका साथै बिशिष्ठ सल्लाहकारको पनि उपस्थिति रहेको थियो ।
समिक्षा बैठकमा सबैबाट कार्यक्रम भब्य र सभ्य भएको मुल्यांकन गरिनुका साथै दशबर्ष देखी निरन्तर गरिदैं आएको पितृ पुजा निकै पृथक भएको र यसलाई निरन्तरता दिनुपर्ने सबैको जोड थियो ।
सोही बैठकले मगर संघ युकेले नेपालमा स्थापना गरेको एक करोड़ रूपैयाको मगर पिएचडि अक्षय कोषका निम्ती गतबर्षको पितृ पूजा दक्षिणाबाट रू १ लाख रूपैया तुरून्त निकासा गरी पठाउने तथा यसपटकको दक्षिणा राष्ट्रिय हास्य कलाकारद्धय धुर्मुस सुन्तली फाउन्डेशनले गरिरहेको रौतहट चन्द्रपुर–८ सन्तपुरका अत्यन्त दु:खी गरीवहरु माझी मुसहर र केही थारु समुदायका निम्ति सहयोग गरिने निर्णय समेत गरेको छ ।
धुर्मुस सुन्तली फाउण्डेशनमार्फत त्यहाँ बन्न लागेको नमुना बस्तीमा रकम अपुग भएका कारण बस्ति सम्पन्न गर्न कठिनाई भएको समाचार सहित विभिन्न संचारमाध्यममा सहयोगको अपिल आइरहेकोले यसबर्षको माघेसक्रान्ती तथा पितृ पूजामा संकलित दक्षिणाबाट उठेको रकम संस्थाका सल्लाहाकार तथा पूजा संयोजक ओम थापा काउचाले राखेको प्रस्ताव सर्वसहमतीबाट ५० हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो ।
स्मरण रहोस्, हरेक बर्ष बेलायतमा रहेका मगरहरुले माघे संक्रान्तिको अवसरमा पितृ पूजाको आयोजना गरेर अन्य पुण्य कार्यमा सहयोग गर्दै आएको छ ।
संघले केही वर्षअघि बेलायतबासी बुद्ध धर्मालम्बी मगरहरूले लुम्बिनीको बुद्धबिहारमा स्थापना गर्नका निम्ति भगवान बुद्धको मूर्ति खरिदका लागि दक्षिणामार्फत २५० पाउन्ड सहयोग गरेको थियो ।
त्यसैगरी नेपाली र मगर भाषा कक्षा सन्चालन गर्नका लागि मगर संघ युकेका संस्थापक महिला संयोजक तथा हालका ट्रष्टी श्रीमती गोमा राना र श्रीमती सीता राना, अध्यक्ष लेख रानाले हप्ताको एकदिन स्वयमसेवी भूमिका निर्वाह गर्ने निर्णय गर्दै सोहिदिन कक्षा संचालनार्थ उद्घाटन पनि गरिएको थियो ।
अन्तमा आउदो २४ फेब्रवरी २०१८ दिन बेलायतका मगर हरूले सयुक्त रूपमा ३६ सौ मगर दिवस मनाउनका लागि यस साखाको विशेष भुमिकाको निम्ती सबै एकजुट भएर केन्द्रलाई सहयोगका साथै सहभागी हुने निर्णय गर्दै बैठक सम्पन्न गरिएको थियो ।