१८ माघ, पाल्पा । तानसेन नगरपालिका–१४ अर्गलीकी पवित्रा गैरे अहिले गाईपालन व्यवसायमा सफल बनेकी छन् ।
गैरेले गाईपालन व्यवसायबाट मासिक रु एक लाख आम्दानी गर्दैआएकी छन् । हाल उनले १५ वटा जर्सी गाई पालेकी छन् । गैरेले दैनिक ८० लिटर दूध बिक्री गर्छिन् ।
गैरे पूर्व माओवादी लडाकू समेत हुन् । उनले स्वेच्छिक अवकाशका क्रममा प्राप्त रु पाँच लाख रकमबाट अर्गलीमा गाईपालन व्यवसाय सुरु गरेकी हुन् । पाँच वर्षको अवधिमा रु १५ लाखभन्दा बढी लगानी गरिसकेको गैरेले बताईन् ।
तानसेन नगरपालिकाको गाईघाटमा अहिले १७ रोपनी जग्गामा गैरेले गाई फार्म सञ्चालन गरेकी छन् । उनले दुई रोपनीमा गाई फार्म तथा अन्य जमिनमा घाँसखेती गर्दै आएकी छन् । गाईपालन व्यवसायमा आकर्षण पछिल्ला वर्षमा बढ्दै गएपनि यो पेशा चुनौतीपूर्ण बन्दै गएको उनको भनाइ छ ।
वि.सं.२०७४ माघ १८ बिहीवार १०:३३ मा प्रकाशित






























