वर्षौ पहिला प्रेम सप्ताहको पहिलो दिन
अर्थात रोज डे को दिनमा
त्यो सानो गल्लीमा हात कपाउँदै
रातो गुलाफले प्रेम प्रस्ताव राखेको
कुरा हिजो जस्तै लाग्छ प्रिय
चकलेट डेमा बाबाको खल्तीबाट
पाँच सय चोरेर तिमिलाई चकलेट
दिएकै दिनबाट थाँहा पाएको थिए
प्रिय, चकलेटको मूल्य पनि
सय भन्दा माथि हुदोँ रहेछ ।
टेड्डी डे को दिनमा डराउँदै डराउँदै
ठूलो झोलामा राखेर
त्यो भुवा आकृति दिँदा
कति खुसी भएकी थियाै है ?
तिमीलाई सधैंभरि खुसी दिने वाचा गर्दै
कसम खाएको त्यो दिन याद छ मलाई
तिम्रो सामु उभिदै, त्यो घमाईलो चौरको
खुला आकाशमुनि सधैभरि साथ दिने
कसम खाएको थिएँ ।
आज मरुभूमिको तातो हावामा
चर्को स्वरमा प्रेम गन्थन गुनगुनाइरहेको छु
ताकि यो बेजोड हावाले
तिमी प्रतिका प्रेमका आवाजहरुलाई
तिम्रो कानसम्म सुसेल्ने छन्
अनि तिमीलाई मेरो प्रेमको
अनुभूति दिने छन् ।
थाह छ प्रिय मलार्इ यो ‘प्रमिस’
भन्ने आवाजसँग निकै डर लाग्छ
कतै तिमीलाई मैले दिएको ‘प्रमिस’
पुरा गर्न नसकेको सजायमा
समयले तिमीलाई म बाट
टाढा बनायो भने !
त्यसैले त हामीले देखेका
रङ्गीन सपनालाई रङ्ग्याउन
खुसीका कुची र मायाका रङका
बट्टाहरु किन्न परदेशिएको छु ।
इति
वि.सं.२०७४ माघ २७ शनिवार ०६:४१ मा प्रकाशित






























