९ फागुन, नुवाकोट । जुवा (तास) खेलिरहेको समयमा विदुर नगरपालिका–९ स्थित कोलनीबाट पक्राउ परेका नौ जनालाई प्रहरीले नुवाकोट जिल्ला अदालतमा मुद्दा दर्ता गरी कारबाही शुरु गरेको छ ।
तास खेलिरहेको समयमा सोमबार राति रु ७५ हजारसहित पक्राउ परेकालाई प्रहरीले मंगलबार अदालतमा जुवा ऐनअनुसार मुद्दा दर्ता गरी कारबाही शुरु गरेको नुवाकोट प्रहरी प्रमुख वसन्त कुँवरले जानकारी दिए ।
पक्राउ पर्नेमा ७४ वर्षीय मानबहादुर श्रेष्ठ, ६३ वर्षीय रामबहादुर तामाङ, ५५ वर्षीय गणेश वाइवा, ५२ वर्षीय सोमबहादुर तामाङ, ५० वर्षीय आइतमान तामाङ, ४४ वर्षीय कान्छा तामाङ, ३६ वर्षीय कोइराम तामाङ, ३३ वर्षीय हिमाल तामाङ र २२ वर्षीय हिरालाल तामाङ रहेका छन् । उनीहरुलाई यसअघि पनि जुवा खेलिरहेको समयमा पक्राउ गरी सचेत गराएर छाडिएको र पुनः खेलिरहेको भेट्टिएकाले मुद्दा दर्ता गरी कारबाही गर्नु परेको प्रहरीले जनएको छ ।
हीरालाल तामाङको घरमा तास खेल्न सहभागी नौ जनासँग तासको खालमा राखिएको नगद रुपैयाँसहित बाजी राखेको चार थान मोबाइलसमेत प्रहरीले नियन्त्रणमा लिएको छ ।
वि.सं.२०७४ फागुन ९ बुधवार ०३:३१ मा प्रकाशित






























