पैलो भेट भयो अबोध म छँदा त्यो एक कक्षा थियो
राम्रा ज्ञान दिई सुटुक्क गुरुले ज्ञानी बनाई दियो ।
बाआमा गुरु आज साथ नभए हाँस्थे म लाग्दैनथ्यो
सम्झाई नपढाउँदा म मनको अज्ञान भाग्दैनथ्यो ।१।
हाम्रो ज्यान जता पुगोस् मन रसी कैले नटुट्ने भयो
पढ्दाको दिन सम्झना म नमरी साँच्चै नछुट्ने भयो ।
हामी साथ छँदा अभिन्न मन थ्यौं त्यस्तै हओस् भोलि है
खोक्रो ज्यान छुटोस् तथापि मन यो ज्यूँदै रहोस् भोलि है ।२।
साथी, आज बिते सबै दिनहरू जाऔं छुटेरै सब
पढ्दाको दश वर्षको मिलन भो सारा कहानी अब ।
कक्षामा गुरुले भनेजति सबै हामी चढौं टाकुरा
राखी यो दिलमा नबिर्सिकन है तीता र मीठा कुरा ।३।
लामो साथ दिई दुबै समयले छुट्ने बनायो अब
झन् छुट्दा यसरी नभुल्न सकिने माया खनायो सब ।
राम्रो फूल बनी सुगन्ध जगमा फुल्दै सधैं छर्छ यो
हाम्रो जीवन हो वसन्त रितु है घुम्ने सधैं गर्छ यो ।४।
बस्दा साथ सयौ भए भुलहरू बिर्सिन्न कैले पनि
हामी खालि रिसाउँथ्यौं त्यस घडी सम्झिन्छु ऐले पनि ।
नेपाली गुरुका कथा र कविता सुन्थ्यौं सबैले बसी
कक्षाभित्र पढाउँदा पद दुबै पढ्थ्यौं मजाले धसी ।५।
हाम्रो जीवन मार्गका गुरु कुरा गर्दा सबै हाँस्दथ्यौं
साथीबीच रमी लुकी चुइगमै अर्का लुगा टाँस्दथ्यौं ।
सानो झैझगडा हुँदा नि महिनौं बोल्दै नबोल्ने थियौं
यी यस्तै सब थोक आज मनमा झन् सम्झनामा लियौं ।६।
यस्तै हो दुनियाँ बुझौं मिलनमा संसार भुल्ने भयो
टुट्दा नै मन आज पागल भई संसार डुल्ने भयो ।
आँसु ती नबगाउँदै नयनमा जाओ छुटेरै सखी
शिक्षा उच्च लिई नयाँ युग लिऊँ हामी जुटेरै सखी ।७।
पीडा लाग्छ बिछोडमा र मन यो झन् रुन्छ भक्कानिदै
जाओ है पथ फूलका सब सखी माया सबैले लिंदै ।
आत्मा स्वच्छ गरेर भन्छ युगले नाँच्दै सिधा जौ सब
छुट्दै छौं सब सुक्कसुक्क नगरी हाँस्दै बिदा हौं अब ।८।
छन्दः शार्दूलविक्रीडित
इति
वि.सं.२०७४ फागुन ९ बुधवार ०५:०३ मा प्रकाशित






























