
हामी नेपालीहरु मनकारी छौ अत्यन्तै मनकारी छौ । त्यसैले त सधै आफुले सकी–नसकी दुःख गरेर कमाएको पसिनाको कमाइ क्षणभरमै अरुको सहयोगको लागि दिन तुरुन्तै तत्पर भइहाल्छौ । आजभोली जापानमा मात्रै होइन सम्भबत नेपालीहरु पुगेको अधिकांस देशमा फेसबुक चन्दा आतंक अथवा सामाजिक संजाल मार्फतको चन्दा आतंकले यस्तरी जरो गाडेको छ कि जसले सहयोगको नाममा जातीय रंग, क्षेत्रीय रंग र प्रदेशीय रंग, राजनीतिक रंगले नजानिदो पाराले नेपाली हरुलाई विभाजित गराउदै गैरहेको आभास हुन थालेको छ ।
संचार जगतले चरम प्रगति गर्दै अगाडी बढेको आजको युगमा फेसबुक लगायतका सामाजिक संजाल चलाउनेको संख्या दिन प्रतिदिन बढ्दो छ । संसारब्यापी रुपमा यसले धेरै राम्रो प्रभाब पनि छाडेको छ । तर, माल पाएर चाल नपाउने भन्ने हरुको लागि यसले सामाजिक बिकृतिहरु भित्रयाउदै छ । पछिल्लो समयमा हाम्रो नेपाली समाजमा यस्ता खालका सान्चारिक प्रगतिहरुको सदुपयोग भन्दा दुरुपयोग बढ्दो छ र यसले बिकृति भित्रयाउदै छ ।
रेमिटान्सले धानेको भन्दा फरक नपर्ने खालको हाम्रो मुलुकमा विदेश भनेपछि पैसा बोट बाटै फल्छ जस्तो ग्रसित मानसिकता अझै ब्याप्त छ । त्यसै मानसिकता बाट ग्रसित भएर नेपालमै पनि सानो तिनो केहि भयो की बिदेशमा हुने कुनै व्यक्ति या संस्थाको माध्यमबाट भए पनि चन्दा उठाउन भन्ने मान्यता ब्याप्त हुदै गएको छ र त्यो सम्बन्धित देशमा हुने मानिश पनि आफू जतिसुकै पिडामा होस् या नसक्ने अबस्थामा भएपनि उसले त्यसलाई जिम्मा लिने आट पनि गरिहाल्छ । यद्यपी यो सबैमा लागु हुन नसक्ला पनि । साइबर कानुन यसका प्राबिधिक र कानुनी पाटोहरुलाइ ख्यालै नगरी यत्रतत्र जसले पनि आफूखुसी मनलाग्दी तरिकाले चलाउने चन्दा संकलनका कार्यहरु तिब्र हुदै गएको आजको समाजमा कुन कति आधिकारिक हो अथवा कुन कति सुनियोजित तरिकाले मान्छेको भाबना संग खेलबाड गरि रकम संकलन गर्न मात्रै गरिएको क्रियाकलाप हो बुझ्न गार्हो हुदै गएको जर्जर अबस्था छ ।
आजभोलि चन्दा संकलनको कार्यमा पनि गाउँ गाउँ ब्यापी रुपमा बढ्दै गएका असंख्य संस्थाहरुको कारणले अत्यधिक बर्चस्व भएका व्यक्तिहरुको क्षेत्रको मानिसको लागि अथवा त्यस क्षेत्रको संघसंस्था अन्तर्गतको मानिसको लागि अभियान चलाएमा आबस्यकता भन्दा बढी अन्धाधुन्द रकम संकलन हुने विकृत परम्परा छ भने कुनै समाज अथवा आफू नेपालमा भएको ठाउका मानिसहरुको बर्चस्व कम भएको ठाउको मानिसको लागि सहयोगको आबस्यकता पर्यो भने झन्डै झन्डै बेवारिसे नै जस्तो बन्ने परम्परा छ । यसबाट जोगिनको लागि केहिले भने एन.आर.एनएले केहि गरेन अथवा राजदूताबासले केहि गरेन भनेर तथानाम गालि गरेर आफूहरु आफ्नो जिम्मेवारीबाट पन्छिने खालको परम्परा पनि फस्टाउदो छ ।
नेपालको कहिँ कतै केहि हुदा व्यक्तिगत रुपमा अथवा प्राकृतिक बिपतीको रुपमा जुन रुपमा भएपनि जापानबासी नेपालीहरु पनि सरिदय आफूसँग दुःख नै भए पनि सकी नसकी सहयोग गर्न तत्पर हुन्छन र सहयोग र घटनाको प्रकृति अनुसार त्यसले केहि समय जापानको अनलाइन मेडिया र फेसबुकमा भाइरल बन्छ । अनि त्यो समाचार सुन्ने र पढ्नेहरुले जापान बाहिरबाट पनि सहयोग गरौ भन्दै कमेन्टको बर्षा गराउन थाल्छन । तर, कसैले पनि एकत्रित भएर कसरी सहयोग गर्ने भन्ने तिर सोच्दैनन् । अथवा सस्तो लोकप्रियताको यो अवसर गुम्ला भनेर सोच्ने फुर्सद पाउदैनन् । जापानमा चन्दा संस्करणको विकृत घटनाहरु अनबरत रुपमा चलिरहेको छ । यसको नियन्त्रण र निराकरण त्यति सजिलो होला जस्तो पनि छैन यद्यपि सोच्नुपर्ने बेला भने भएको छ ।
च्याउ जस्तै उम्रेका संस्थाहरुले मात्रै नपुगेर व्यक्तिगत रुपमा चन्दा उठाउनेहरु पनि त्यतिकै छन् । जापानको नियम कानुन अनुसार जाने हो भने चन्दा उठाउँदा पनि उठेको रकमबाट कर तिर्नुपर्ने व्यवस्था छ । तर, यो बिषयमा चन्दा उठाउन अस्वस्थ प्रतिस्पर्धा गर्नेहरु कति जानकार हुनुहुन्छ हुनुहुन्न थाहा भएन । कुनै बिषय र प्रसङ्गलाइ लिएर कुनै एउटा समाज अथवा संघ संस्थाले निश्चित कोषको गठन गर्दै सम्पूर्ण जापानबासी नेपाली र संघ संस्थालाइ आफ्नो अभियानमा ऐक्यबद्दता जनाउदै त्यसमा सहयोगको लागि अपिल गर्दै गर्दाको अवस्थामा पनि अन्य संघ संस्थाहरुले त्यसलाई स्वीकार्दै एकताको संदेश दिदै सहयोग गर्ने परिस्थिति सृजना भएमा जापानबासी नेपालीमा एउटा नमुनापूर्ण संदेशमुलक परोपकारी कार्यको नमुना पेश हुने थियो की जस्तो लाग्छ । तर, आजको दिनसम्ममा त्यसो हुन नसकी सबैले आफूखुसी मनलाग्दी तरिकाले उठाएर सम्बन्धित व्यक्ति अथवा ठाउमा सम्पर्क गरि बुझाउने तिर तछाड मछाड गरेको मात्रै देखिन्छ । यो क्रम अझै चलिनै रहेको छ । कसैले जातीय संस्थाबाट सुरु गर्छन्, कसैले राजनीतिक संस्थाबाट पनि सुरु गर्छन् । एनआरएनएले पनि आफु अन्तर्गतका क्षेत्रीय समितिहरुलाइ उर्दी जारि गर्छ त्यसैगरी भएभरका अन्य संघसंस्थाहरु पनि त्यत्तिकै तछाड मछाड गरेर लाग्छन । तर, ठूलो मन भएका हामी नेपालीहरु मध्ये कसैले पनि एक भएर एकत्रित गर्दै एकताको संदेश दिदै अगाडी बढौ भन्ने तिर बिबेक पुर्याउन सक्दैनौ अझ भनौ मन गरेका छैनौ ।
जापानबासी नेपालीहरुको अभिभाबक भएको हिसाबले राजदूताबासले एनआरएनएले यस बिषयमा सदैब रमिते हुनु बाहेक जापानबासी संघ संस्थाहरुलाई एकत्रित गर्दै एक द्वार प्रणालीको ठोस कदम चालेर अगाडी बढ्ने गरि ब्यबस्थापन गर्न सके देखि तितर–बितर भएर जाने सहयोग एकत्रित भै ठोस कार्य सम्पादनमा प्रभाबकारी भूमिका हुने थियो कि जस्तो लाग्छ ।
जब–जब विभिन्न खालका चन्दा संकलन हुन्छ सदैब मारमा सामान्य कामदारहरु परिरहेका हुन्छन् । नेपाल र नेपालीको लागि भनेर सकी नसकी सहयोग गर्यो साहुहरुले त्यहि सहयोगलाइ आफ्नो जातिय संस्थाको नामबाट अगाडी बढाउछन् या सहयोग गर्ने व्यक्तिसँग सम्बन्धित नै नभएको राजनीतिक या क्षेत्रीय संस्थाबाट अगाडी बढाउछन् । जसले गर्दा आफूले सकी नसकी गरेको सहयोग साहुहरुले आफ्नो व्यक्तिगत स्वार्थ अथवा सामाजिक लाभको लागि मात्रै प्रयोग गरेको देखेर खिन्न हुन बाध्य छन् । सामान्य कामदारहरु यसरी नितान्त व्यक्तिगत श्रमको चरम दुरुपयोग गर्दै क्षणिक स्वार्थमा रमाउने प्रवृतिहरु पनि सामाजिक बिकृतिको लागि आजको दिनमा भयानक हुदै गएको स्थिति छ । जसलाई मानब अधिकारको चरम दुरुपयोगको रुपमा पनि लिन सकिन्छ जसको निराकरण कसरी होला भन्ने ठूलो प्रश्न चिन्ह्र पनि खडा भएको बर्तमान परिस्थिति छ ।
बढ्दो चन्दा आतंकलाइ नियन्त्रण गर्ने अर्थात् सुब्यबस्थित गर्नको लागि सबै संघ संस्थाहरुले सस्तो लोकप्रियताको लागि सामाजिक असामनजस्य र मतभेद बढाउने खालका कुराहरुलाई रोक्ने अथवा नियन्त्रण तथा ब्यबस्थित् गर्नेतिर लाग्दा भोलिको जापानबासी नेपाली समाजको उदाहरणिय रुप नदेखिएला भन्न सकिन्न । यसलाई आगामी दिनमा ब्यवस्थित गरि अगाडी बढाउनको लागि नेपाली राजदुताबास र एनआरएनए जापानले नेतृत्वदायी भूमिका खेल्दै जापानमा सक्रिय सम्पूर्ण संघ संस्थाबीच छलफल गरि अगाडी बढ्नु आजको आबस्यकता हो कि जस्तो महसुस भएको छ ।
जापान बसाइको झन्डै १२ बर्षको अनुभबमा आफ्नो समय र हैसियत अनुसार सामाजिक कार्यमा समर्पित गर्दै गर्दा सहयोगको लागि एक एन पनि खर्च गर्न नचाहने केहि पात्रहरु जब उसको जातको या समाजको पर्छ अकल्पनिय तरिकाले सक्रियता जनाउछ । सहयोग गर्न तत्पर हुनु अत्यन्त सकरात्मक पाटो हो तर त्यसबखत वहाहरुलाई राजनीतिक डोरीले तान्छ अथवा जातीय डोरीले नै तान्छ या के ले तान्छ, जे ले तानेपानी सहयोगी भावनाको जागृत गराएकोमा खुसि लाग्छ । तर, यस्ता किसिमको सहयोगहरु नेपाली मनले सबै संघ–संस्थाहरु एकत्रित भै अभियानको प्रमुख जिम्मेवारी लिएर अगाडी बढेको अर्थात् सहयोगको प्रकृति अनुसार नजिक रहेको अभियान सुरु गर्ने संस्था प्रति ऐक्यबद्दता जनाउदै सामाजिक एकताको संदेश दिन नसकेकोमा भने दुःख लागेको छ ।
आसा छ भोलिका दिनहरुमा जापानमा सक्रिय संघ संस्थाहरुले सस्तो लोकप्रियता भन्दा आपसी एकतालाइ महत्व दिदै आफ्नो संकुचित मानसिकताबाट केहि माथि उठी जापानमा आइपर्ने र मातृभूमिमा आइपर्ने समस्याहरुमा एकतृत भै एकताको संदेश दिन अगाडी बढ्नेछन् । साथमा सहयोगका कुराहरुको प्रस्ताब लिएर आउने व्यक्ति या संस्थाहरुले सहयोगको स्वरुप को यथेस्ट अध्ययन र जानकारी लिएर मात्र अभियान चलाउने निश्चित मापदण्ड तय गर्न सके मानबिय सहयोग लाइ दुरुपयोग गर्दै आम्दानीको श्रोत बनाउन खोज्नेहरुलाई पनि हतोत्साही गर्ने थियो भन्नेमा अत्युक्ति नहोला ।
बिट मार्दै गर्दै आफ्नो दुखलाई भुलेर अरुलाई सहयोग गर्न पाउदा रमाउने हाम्रो सम्पूर्ण सहयोगी मनहरुलाई म हृदय देखि नै धन्यबाद दिन चाहन्छु । यद्यपि यस्तो खालको सहयोगलाइ जातीय, राजनीतिक रंग नदिएर एउटा नेपाली को परिचय दिदै एकत्रित भै एकताको संदेसको साथमा गर्न पाए अझै सुनमा सुगन्ध हुने थियो कि भन्ने मेरो विचार ।
वि.सं.२०७४ फागुन १८ शुक्रवार ०५:०१ मा प्रकाशित
























