BizPati

  • आज : २०७५ मंसिर २८ गते
    Headlines :

    प्रदेशीको सपना

    बालकुमार राई, हतुवागढी–४ खैराङ्ग, भोजपुर नेपाल हाल: दुबई UAEबैशाख २९, २०७५

    बालकुमार रार्इ
    चैतको महिना, टन्टलापुर घाम छ। आकाशमा एक टुक्रा बादलसम्म देखिएको छैन । तिर्खाएर होला कता कता काकाकुल मात्र आकाशमा फेरि लाउँदैछन्। हुरिको कस्सिलो झोंकाले बाँसको टुप्पो नुहिएर भुइ छोला जस्तो गर्छ । घामको रापले घरका धुरीहरुमा हुरहुरि आगोको लप्का बले अनुभूति भइरहन्छ । म भने घरमाथिको गैरिखेतमा हो हो माले हो हो तारे भन्दै बाँझो जोत्दैछु । धानको बिऊ राख्नलाई बाबा पनि ब्याड बनाउँदै हुनुहुन्छ ।

    “कुमार ! आऊ है बाउ छोरा खाजा खान”, गोरु बिसाएर हेरें । आमा खाजा लिएर आउनु भएको रहेछ । ‘हुन्छ म आएँ आमा !’ गोरुहरुलार्इ अलि शितलतिर बिसाएर निथ्रुक्कै पसिनाले भिजेको कमिज निचोर्दै म आमाको छेऊमा गएर आलिमा टुसुक्क बसें ।

    ….आज त अलिक सबेरै खाजा ल्याउनु भएछ नि आमा ? मैले सोधपुछ गरें । हो नि… आज तिम्रा भाइ बहिनीहरु स्कुलदेखि अलिक चाँडै आउँछन् । आएपछि भोक लाग्यो भन्दै कराउन थाल्छन् ज्यानै खाने गरी । त्यही भएर अलिक चाँडै बनाको । फेरि तिमीले पनि बिहान त्यति राम्रो खाना खाएका थिएनाै । तिमीलार्इ नि भोक लाग्यो होला !

    ‘..हाहाहाहा’ आमा पनि मलार्इ केटाकेटी जस्तै माया गर्नु हुन्छ हगि !’ आमाको हातबाट मोहिको गिलास लिदै हाँसेर मैले भनें ।
    ‘…माया लाग्छ नि ! सधै मेरो आँखा वरिपरि नै बसिराखे हुन्थ्यो जस्तो लाग्छ । खै किन किन तिमी सानै हुँदादेखि नै अलिक धेरै माया लाग्छ । जत्ती हुर्के बढे नि मेरो नजरमा तिमीलार्इ सधै सानै देख्छु छोरा ।’

    … आमा ! ‘मलाई एकछिन नदेख्दा यति तड्पिनुहुन्छ । यतिधेरै आत्तिनुहुन्छ । कतै म घरबाट टाढा विदेश गएँ भने के गर्नुहुन्छ ?’ कोदोको रोटी चपाएर मोहिसँग घुटुक्क निलेपछि, मैले भनें । मसँग ठठ्ठा नगर न । म बाचुन्जेल मेरो सामुन्नेमा हुनुपर्छ तिमी । म मरे पछि जहाँ जानु छ जाउ र जे गर्नु छ गर । आमाले न्याउरो मुख लाउँदै भन्नु भो ।
    … के भो फेरि आमा छोराको निक्कै लामो गन्थन चल्दै छ ? … बाबा पनि चिसो हात कमिजमा पुच्छ्दै खाजा खान आउनु भने ।

    हेर्नु न ! छोरा विदेश जान्छु भन्दै मलाई ठठ्ठा गर्छ नि ! यो घरमा नभए मेरो दिन कसरी बित्छ ? सम्झाउनु न छोरालाई । बाबालाई पनि मोहिको गिलास थमाएर एउटा थालमा रोटि र अचार राखिदिनु भो आमाले ।

    ..के भन्न थालिस् आमालाई ? बुढेसकालमा हामीलार्इ छाडेर विदेश जाने सुरमा छस् कि के हो ? बाबाले पनि रोटिको टुक्रा चपाउँदै ममाथि प्रश्न तेस्र्याउनु भो ।
    ….होइन यसो सोच बनाको नि बाबा !! अब यो एसएलसीको पढाइ पछि न क्याम्पस पढ्न सकियो न कुनै जागिर पाउने सम्भावना नै छ । बरु यसो दुई तीन बर्ष बिदेशतिर जान पाए एक दुई पैसा कमाइ पनि हुने थियो । साहुको ऋण मात्र तिर्न सके पनि भाइ बहिनीहरुको पढाइमा बाधा त हुने थिएन । उच्च शिक्षा दिलाउन सकिन्थ्यो, भाइ बहिनीहरुलाई ।

    …तेरो कुरो नि सहि त हो छोरा । तर, हेर न हामी दिन दिनै डाडाँको जुन हुँदैछौं । तेरा भाइ बहिनीहरु सानै छन् । अनि तँ बिना खाना त के पानीसम्म पिउँदिन छन्छे तेरी आमाले । तँ बिना घर कसरी चल्छ छोरा ? कसरी छाडेर जान सक्छस् र ! …हुन त हो बाबा तर उपाय अरु के छ र हामीसँग ? साहुको ऋण दिन दिनै दोब्बर हुँदैछ, तिर्न कसरी सकिन्छ ? एसएलसिको पढाइले जागिर कहाँ पाउनु । खेतीपाती गर्ने जमिन पनि साहुकोमा बन्धक छ । भविष्य सोच्नु पनि त पर्यो नि ?

    …हेर तिमी जाने नै हो भने जाऊ मेरो भन्नु केही छैन तर पढेलेखेको मान्छेले जागिर नै खानु पर्छ भन्ने चाहिँ मलार्इ लाग्दैन । जे जति भएको जमिनमा खनी खोस्री खाम्ला के भो र ! अब त एउटी राम्री बुहारी भित्राउने हो तिम्रो घरजम भए आनन्दले हामी बुढा बुढीको सास जान्थ्यो । आमा मलिनो अनुहार पार्दै मलार्इ फकाइरहनु भएको थियो ।

    …आफ्नै पेट पाल्न धौ–धौ छ यहाँ बुहारी ल्याउने सपना सजाउनु हुन्छ आमा पनि । अनि यस्तो काम न दामको तपार्इंको छोरोलाई कसले छोरी चाहिँ दिन्छ नि ? न दुई पैसा कमाउने बाटो छ ? कसरी अर्काको छोरी ल्याएर पाल्ने ? आमा ! यसो दुई छाक मिठो मसिनो खाने र एकसरो न्यानो लाउने ब्यवस्था मात्र गर्ने सकें भने राम्रो हुन्थ्यो । हेर्नु त आमा ! तपार्इंको चोली फरिया कहिलेसम्म कति पत्र टालेर लाउने ?

    बाबाले नयाँ कमिज नलाउनु भाको कति साल भयो ? भाइ बहिनीहरुले परार सालको स्कुल ड्रेसले काम चलाउँछन् । कहिलेसम्म गरिबिको मुख हेरेर बस्नु ? दुई चार वर्षको कुरो त हो नि, दुई चार पैसा कमाए भने फर्कौंला आनन्दले हजुरहरुको काखमा बसौंला ।

    ‘..होइन ! तँलाई कसले भन्यो हामीले लाको खाको ठिक भएन भनेर ? जे लाउन खान पाको छ, त्यसैमा खुसी छौं । हामी जे जसरी भए नि साथमा बसेर ढिडो पिठो खान पाइएको छ । यो भन्दा खुसी कहाँ पाउनु ? अनि अर्को कुरा विदेश जाँदैमा सबै कुराको समाधान हुन्छ भन्ने के छ ? कैयौं युवाहरु दलालले फसाएर बिजोग छ । हेर त्यो पल्लो गाउँको तेरो साथी सुबास अस्ति मलेसिया देखि मेसिनले खुट्टा काटिएर अपाङ्ग भएर आको छ। दिन दिनै कति हो कति विदेशबाट मृत्यु भएर बाकसमा लास बनेर आउँछ्न् तँ जस्तै छोराहरु । त्यस्तै केही भैहाल्यो भने तँलाइ, तेरो भाइ बहिनीको साहारा को बन्छ ?

    बुढेसकालको लाठी हामीले तँलाइ नै सम्झेका छौं । बाबा पनि अलिक न्यास्रो हुनु भो । त्यस्तै खतरा मात्र हेर्ने हो भने त बाबा जहाँ पनि लडिन्छ नि । दैबको खेल हो, यहीँ बसेर बाँचिन्छ भन्ने के छ र ? धैर्य गर्न सकियो भने एकदिन दुखियाको दिन कसो नफिर्ला र बाबा ?अझ मैले जिद्दी कसेँ ।  भाइ बहिनीहरु पनि स्कुलबाट आइपुगे । हामीलार्इ मेलातिरै देखेर उतै आए । के भो बाबा ममि किन अँध्यारो मुख ? बहिनी हामीलाइ हेर्दै भन्छिन् । बहिनी अलिक सानै उमेरकी भए पनी परिपक्क छे । दुःखमा हुर्किएकोले होला शान्त स्वभाव र मिजासिली पनि छे । भाइ त सानै छ उसको कुरा बुझ्ने बेला नै भएको छैन ।

    ‘केही होइन बुने’ तँलाइ त्यस्तो लागेको मात्र हो । खाजा त बाबासँग हामीले खाइसकिम । जाओ घरमा आमाले राखिदिनुभाको होला । भोक लागेन तिमीहरुलाई ? कुरो टार्दै मैले बहिनीलाई भनें । ‘के को केही नहुनु नि तिम्रो दाइ बिदेश जान्छु भन्छ नि । धेरै पैसा कमाउने रे ! तिमी हामिलार्इ मीठो ख्वाउने रे राम्रो राम्रो लुगा लेइदिने रे ! मैले हुन्न भनेको मान्दै मान्दैन । बहिनीलाई सबै पोल खोल्दिनु भो आमाले ।

    दादा पनि कत्ती पिरलो गर्नु हुन्छ है हाम्रो ! तपार्इंलार्इ हामी दुःखी छौं जस्तो लाग्छ ? जे छ त्यसैमा रमाइएको छ, भै गो नि ! जतिभको खेत बारिमा साग सब्जी उब्जाउँला खोले सिस्नो खाम्ला, किन पिर लिनु हुन्छ ? बहिनी अलिक निक्कै नै दुःखी देखिन्थी । म चुपचाप सुनिरहें । बहिनीलार्इ म अलिक धेरै नै माया गर्छु । उनले भनेको कुराहरु प्रायजसो म नकार्न सक्दिन । उनलार्इ केही भन्न खोजें भने पहिला मेरा आँखाहरु आँसुले भरिन्छन् ।

    दादा ! हाम्रो परिवार जत्तिको खुशी परिवार सायद को होला र यो दुनियाँमा ? ममी बाबा यति माया गर्नु हुन्छ, सुख दुःख गरेर तपार्इंले यतिसम्म पढ्नु भो । जागिर नै नभए पनि केही न केही गरेर खान सकिन्छ । तरकारी खेती गरुम्ला । खसी, बाख्रा ,बंगुर ,पालौंला । गाई भैँसी पालेर दूध बेचौँला । अब त दुई चार काम म पनि सघाउन सक्छु । परिवार सबै सँगै बसेर रमाउँला । विदेश नै जानु पर्छ भन्ने छ र ?

    भयो बुनु ! सल्लाह मात्र पो गरेको त । तिमी त दाइले झोला बोकेर विदेश नै हिँडे जस्तो पिर पो गर्न थालेउ । घर जाउ भरै कुरा गरुम्ला घरमा । दादा तपाईं बिनाको हाम्रो घर आँगन भन्नु पर्दा यो गाउँ नै शून्य शून्य हुन्छ । तपार्इले बजाउनु भएको बाँसुरीको धूनले वरिपरिका मान्छेहरु कतिले आफ्नो पीर नै भुलेका छन् । तपाईं बिनाको साकेला र धान नाँच कसैले नाँच्न मान्दैनन् । दशै तिहार अनि देउसी भैलोमा तपार्इंकै बाटो कुरेका हुन्छन् सबैले । तपाईं बिनाको भाइटिकामा कसको लागि सयपत्री गाँसु म ! अनि कस्को लागि ओखर फोरुम्ला र ? अझ आँखामा आँसु नै टिल्पिल पार्न लागिन् बहिनीले त ।

    बाबा धेरै नै दुःखी बन्नु भो । आमा बोल्नै छाडेर पारि क्षितिजलाई नियाल्न थाल्नु भो । बहिनी टिलपिल आँसु झार्दै घरि मलार्इ त घरि आमा बाबालाई नियाल्छे । जीवनमा पहिलो चोटि बाबालाइ मैले धेरै चिन्तित देखें । नत्र जहिले पनि बाबा हाँसोठट्टा कै मुडमा हुनुहुन्थ्यो । जोसँग पनि सधै जिस्किएर हाँसेर ठट्टा गरेर बोल्ने उहाँको बानी छ  तर आज धेरै टोलाउनु भो ।

    दादा ! धेरै चिन्ता नगर्नुस,

    “हातका मैला सुनका थैला के गर्नु धनले ?
    साग र सिस्नु खाएको बेस आनन्दी मनले ।”

    सायद तपार्इंले त बिर्सिनु भो होला है यी हरफहरु ? मेरो बिहेको चिन्ता नगर्नुस । कोही त होला नि दुःखमा दुःखै मिसाएर बाँच्न सक्ने ? मेरो बिहेको लागि म तपार्इंलार्इ  कुनै दुःखमा पार्ने छैन । जसले मेरो परिवारको दुःख बुझ्छ अनि मेरो सुख दुःखमा साथ दिन्छ उसैसँग बिहे गरुँला ! नत्र हजुरहरुको काखैमा जीवन बिताइदिनेछु । आँसु पुच्छ्दै बहिनी मलार्इ हेर्छे ।

    बहिनी कहिले यत्ती ठूली भइन् ,कसरी यति धेरै बुझ्ने भइन् मलार्इ पत्तै रहेनछ । एकचोटि बहिनिलार्इ अँगालो हालेर रुन मन लाग्यो । छाति भक्कानिएर आयो । भयो बुनु ! तिमीहरुको मायाले मलार्इ जित्यो । म अब यही गाँऊमा बस्छु, हाँस्छु, खेल्छु रमाउँछु । अनि पोल्टोभरिको खुसी त दिन नसकुँला तर ती आँखाहरुलार्इ कहिल्यै रसाउन दिने छैन । बाबा आमाको ओठमा हाँसो छर्न त नसकुँला तर सँगै सुख दुःखमा रोइदिउँला । मलार्इ मेरो परिवारको हाँसो भन्दा टाढा जानु छैन । वश मैले चाहें तिमीहरुको साथ र माया ।

    स्याबास छोरा ! यसरी नै सबै युवाहरुले कुरो बुझेर आफ्नो गाऊँ ठाउँमै केही गर्छु भन्ने सोचको बिकास गरे हाम्रो देशले छिट्टै काँचुली फेर्ने थियो । बाबाको मुहार बल्ल हसिलो देखियो । मोरो ! मेरो मन बिचार्छ खाली के के भनेर । अब फेरि कतै छाडेर जाने कुरो गर्याै भने, म नै हिँडिदिन्छु घर छाडेर । आमा मेरो कान निमोठ्दै खिसिक्क हाँस्नु भो ।

    दादा यसपालीको भाइटिकामा म तपार्इंलार्इ  विशेष उपहार दिनेछु । खुब रमाउने हो खुब देउसी खेल्ने हो अनि रोटे पिङ्ग र लिङ्गे पिङ्गमा सारा दुःखलार्इ भुलाउने हो । थ्यांक्यु मेरो दादा कुरा बुझिदिनु भएकोमा । संसारका सबै मान्छेहरु भन्दा मेरो प्यारो दादा,  बहिनी खुसीले रमाउँदै मेरो हात समाउँछे ।यतिकैमा सिरानिमा राखेको अलार्म बज्न थाल्छ ।

    झसङ्ग ब्युझन्छु । कता–कता मुटु चसक्क दुःख्छ । आँखाबाट आँसु बग्न थाल्छन् ।  उहीँ कम्पनीको थोत्रो कोठा, झ्यालहरु चर्किएर थोत्रे तन्नाहरुले पर्दा बनाएर ढाकेको छ । पुरानो भइसकेको एसी  भित्तामा घ्यार्रर गरिरहेछ । साथीहरु उठेर नुहाएर ड्युटी जान तयार भैसकेछन् । ‘के हो राई सोल्टी ? आज छुट्टि गर्ने सुरमा हो की कसो ? कि आज पनि त्यही साहुको मुखमा पैसाको बिटो फ्याकेको सपनाले सतायो हो ?’ साथीहरु मलार्इ हेर्दै हाँस्छन् । यस्ता सपनाले पनि हामी परदेशी लाई कहिल्यै नछाड्ने भो ।

    यस्तै हो सोल्टी राजा ! न सपनाले पिरोल्न छोड्छ, न त साहुको ऋण दुई पैसा घट्छ । “कस्तो अभागी खप्पर लिएर बिदेश आइएछ”,  म गरूङ्गो ज्यान र मनभरि छटपटि लिएर नुहाउन बाथरुमतिर हिडेँ ।
    इति

    हतुवागढी–४ खैराङ्ग, भोजपुर नेपाल

    हाल: दुबई UAE

    १५४१ पटक
    प्रतिकृया दिनुहोस्