back

बगानमै कुचो छाड्न बाध्य भए किसान

वि.सं.२०८० चैत १५ बिहीवार

261 

shares
NTC AD
Global IME AD

फिक्कल (इलाम) । कुचो काट्ने खेतालालाई दिने ज्यालासमेत नपुग्ने भएपछि इलामको चुलाचुली गाउँपालिका–६ साकफाराका किसान महेशकुमार राईले यसवर्ष कुचो बगानमै छाडे । अम्रिसोको फूल (कुचो)को भाउ नआएपछि उनले नथुती बगानमै छाडेका हुन् ।

कुचो काट्नका लागि प्रयोग हुने खेतालालाई दिने ज्याला बेच्दासमेत नपुग्ने भएपछि उहाँले कुचो नथुती बगानै छाडेको बताए । “हामी आफैँ सबै काम गर्न सक्दैनौँ, खेतालालाई महँगो ज्यालामा कुचो काट्न लगाउनुपर्ने हुन्छ”, उनले भने, “अहिलेको भाउमा त्यही कुचो बेच्दा खेतालालाई दिने ज्यालासमेत नपुग्ने भएपछि त्यत्तिकै छाडिदिएको हुँ ।”

उनले घर नजिकै रहेको घुमाउने पाखामा फुलेको झण्डै १२ क्विन्टल कुचो नकाटी त्यतिकै छाडिदिएका छन् । उनले गत वर्ष सोही बगानको कुचोबाट रु एक लाख ३२ हजार आम्दानी गरेका थिए । अहिले सो बगानबाट रु एक पनि आम्दानी गर्न नसकेपछि चिन्तित बन्नुपरेको उनले बताए ।

“मैले गत वर्ष घुमाउने पाखाबाट १२ क्विन्टल कुचो उत्पादन गरेर प्रतिकिलोग्राम रु एक सय १० मा बिक्री गरेर रु एक लाख ३२ हजार आम्दानी गरेको थिएँ”, उनले भने, “तर अहिले भाउ घटेकाले खेतालाको पैसा पनि नउठ्ने भएपछि कुचो काटिएन, कुचो नकाटेपछि एक रुपैयाँ आम्दानी पनि गरिएन ।”

उनले करिब ५० रोपनी क्षेत्र पाखाबारीमा अम्रिसोखेती लगाएको सुनाए । विगतमा कुचो बेचेको पैसाले घरव्यवहार चलाउँदै आउनुभएका महेशकुमारको परिवारलाई अहिले घरव्यवहार चलाउन समस्या पर्न थालेको छ ।

अर्का किसान बुद्धि राईको पनि पीडा उस्तै छ । उनले पनि कुचो बगानमै छाडेका छन् । कुचो बगानमै छाडेपछि त्यहाँबाट आउने आम्दानीको स्रोतसमेत बन्द भएको उनी बताउँछन् । विगतका वर्षमा सरदर १० देखि १२ क्विन्टल कुचो बेच्दै आएका बुद्धिले यस वर्ष भाउ नआएकै कारण बगानमै छाड्न बाध्य भएको सुनाए । कुचो काट्ने खेतालालाई दिने ज्याला कुचो बेच्दासमेत नआउने स्थिति आएकाले कुचो नटिपी बगानमै छाडेको उनले बताए ।

महेशकुमार र बुद्धि त्यहाँका प्रतिनिधि किसानमात्र छन् । उनीजस्ता त्यहाँका १५ घर बढी किसानले यस वर्षको कुचो नकाटी बगानमै छाडेका हुन् । त्यहाँका करिब एक सय क्विन्टल कुचो किसानले माया मारेर बगानमा नै छाडेको अर्का किसान धनबहादुर राईले बताए ।

आफ्नो परिवारको गुजारा चलाउने माध्यम नै अम्रिसो खेतीलाई बनाएका त्यहाँका प्रायः सबै किसानलाई अहिले कसरी घरव्यवहार चलाउने भन्ने चिन्ताले पिरोल्न थालेको छ । कुचो बगानमै छाड्नुपेको घटना इलामवासीका लागि सम्भवतः यो पहिलो घटना हो ।

गत वर्ष प्रतिकिलो रु एक सय १० देखि रु एक सय ३० सम्ममा किनबेच भएको कुचो अहिले प्रतिकिलो रु ६५ मा मात्र किनबेच भइरहेको छ । यो मूल्य गत वर्षको तुलनामा ५० प्रतिशतले कम हो । जिल्लामा लगाइएको अलैँचीखेती केही वर्षदेखि मासिने क्रम बढेपछि अधिकांश किसानले अलैँची लगाउने ठाउँमा अम्रिसो लगाएका थिए ।

पाखो र भिरालो जमिन भए पनि सप्रने अम्रिसो अलैँचीको वैकल्पिक खेती बन्दै आएको थियो । रोगले अलैँची मासिएपछि अम्रिसो रोपेका किसान कुचोले पनि राम्रो मूल्य नपाएपछि भने चिन्तित बनेका हुन् । अन्नबाली उब्जाउनका लागि सिँचाइ अभाव हुने गरेका अधिकांश किसानले अम्रिसो लगाउने गरेका छन् ।

अम्रिसोखेती इलामका प्रायः सबै पालिकामा हुने गर्दछ । इलाममा उत्पादित कुचो स्थानीय बजारमार्फत झापाको धुलाबारीमा सङ्कलन गरी काकटभिट्टा हुँदै भारत निकासी हुने गर्दछ । इलाममा वार्षिक तीन हजार पाँच सय मेट्रिक टन कुचो उत्पादन हुने तथ्याङ्क छ । कुचो उत्पादन हुने क्षेत्र थपिँदै गएकाले उत्पादनमा समेत वृद्धि हुने व्यापारीहरूको अनुमान छ । घर र कोठा सफा गर्नका लागि कुचो बनाउनदेखि विदेश निर्यात हुँदै आएको छ ।

 

वि.सं.२०८० चैत १५ बिहीवार १७:०७ मा प्रकाशित

NLIC AD
NABIL bank AD
लगानी सम्मेलनमा एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित

लगानी सम्मेलनमा एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित

काठमाडौँ । आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो लगानी सम्मेलनका...

अध्यक्ष अग्रवाल भन्छन्-लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन

अध्यक्ष अग्रवाल भन्छन्-लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले लगानी...

वेस्ट इन्डिज‘ए’द्वारा नेपाललाई २०५ रनको चुनौती

वेस्ट इन्डिज‘ए’द्वारा नेपाललाई २०५ रनको चुनौती

काठमाडौँ । आजदेखि सुरु भएको टी–ट्वान्टी शृङखलाको पहिलो खेलमा वेस्ट...

दलहरुबीच सजिलोपनकै लागि सत्तासाझेदारी सरकार गठन गर्न नहुने नेता साउदको भनाई

दलहरुबीच सजिलोपनकै लागि सत्तासाझेदारी सरकार गठन गर्न नहुने नेता साउदको भनाई

वीरगञ्ज (पर्सा) । पूर्वपरराष्ट्रमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी...

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’

काठमाडौँ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोसी मरिण डाइभर्सन...