समाचार सारांश
– आर्थिक वर्ष २०८१/८२ मा नेपालको वित्तीय समावेशीकरण सूचकांक ०.४७ बाट बढेर ०.५३ पुगेको छ।
– जसमा उपयोगको हिस्सा सबैभन्दा बढी ०.५४ पुगेको छ।
– निक्षेप र कर्जाको विस्तार, डिजिटल भुक्तानीमा वृद्धि र वित्तीय साक्षरताका कार्यक्रमले समावेशीकरणमा सकारात्मक प्रभाव पारेको बैंकको निष्कर्ष छ।
काठमाडौँ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदन अनुसार नेपालमा वित्तीय सेवाको पहुँच र प्रयोगमा उत्साहजनक सुधार देखिएको छ । आर्थिक वर्ष २०८१/८२ मा नेपालको समग्र वित्तीय समावेशीकरण सूचकांक ०.५३ कायम भएको हो। अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा यो सूचकांक ०.४७ रहेको थियो।
तीन आयाममा आधारित मापन
राष्ट्र बैंकले वित्तीय समावेशीकरणलाई तीन मुख्य आयामका आधारमा ५५ वटा विभिन्न सूचकहरू प्रयोग गरी मापन गरेको होस्
वित्तीय पहुँच
बैंक तथा वित्तीय संस्थाको भौतिक र डिजिटल उपस्थिति विस्तार भएसँगै पहुँच सूचकांक ०.४७ बाट बढेर ०.५३ पुगेको छ।
वित्तीय प्रयोग
निक्षेप, कर्जा, बीमा र विशेषगरी डिजिटल भुक्तानीको बढ्दो प्रयोगले गर्दा यो सूचकांक ०.४९ बाट बढेर ०.५४ पुगेको छ। यो तीनवटै आयाममध्ये सबैभन्दा उच्च अंक हो।
सेवाको गुणस्तर
वित्तीय साक्षरता, उपभोक्ता संरक्षण र पारदर्शितामा सुधार आएसँगै गुणस्तर सूचकांकमा पनि उल्लेख्य प्रगति भई ०.४१ बाट ०.५० पुगेको प्रतिवेदनमा उल्लेख छ।
राष्ट्र बैंकले जारी गरेको प्रतिवेदन अनुसार, डिजिटल पूर्वाधारमा गरिएको लगानी र वित्तीय साक्षरता अभियानले सर्वसाधारणको बैंकप्रतिको आकर्षण बढाएको छ। यद्यपि, समावेशी आर्थिक वृद्धिलाई थप प्रभावकारी बनाउन अझै पनि डिजिटल पूर्वाधार सुदृढिकरण र ग्राहक केन्द्रित वित्तीय सेवाहरूमा निरन्तर प्रयास आवश्यक रहेको बैंकको ठम्याइ छ।
वि.सं.२०८२ माघ १९ सोमवार १७:१५ मा प्रकाशित




























