काठमाडौं । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग्दै सत्ता गठबन्धनका विद्यार्थीहरु प्रदर्शनमा उत्रिएका छन् । आइतबार अधिकारीको राजीनामा माग गर्दै कांग्रेस निकट विद्यार्थी संगठन नेविसंघ र माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका विद्यार्थीहरु बालुवाटारस्थित नेपाल राष्ट्र बैंक अगाडि प्रर्दशन गर्न पुगेका हुन् ।
राष्ट्र बैंक घेराउ गर्न पुगेका विद्यार्थीहरुले निषेधित क्षेत्र तोडेपछि सामान्य झडप भएको थियो । त्यसक्रममा प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसअघि शुक्रबार पनि नेविसंघले माइतीघरमा प्रदर्शन गरेको छ भने शनिबार वाईसीएल नेतृत्वको टोलीले गभर्नरलाई बर्खास्त गरी छानबिन अघि बढाउन प्रधानमन्त्रीलाई भेटेरै ज्ञापन पत्र बुझाएको थियो ।
एमालेको अर्थ विभागमा नियुक्ती भएको सार्वजनिक भएपछि उनी विवादमा तानिएका थिए । प्रधानमन्त्री शेरबहादुर देउवा स्वयम्ले पनि उनलाई भेटेरै राजीनामा मागेका थिए । तर, गभर्नर अधिकारी तत्काल पद छाड्ने सोंचमा देखिएका छैनन् ।
वि.सं.२०७९ साउन १ आइतवार ११:५८ मा प्रकाशित




























